तर, विश्वभरका सरकार र विश्लेषकहरुको ध्यान भने ‘होर्मुज स्ट्रेट’ माथि छ । किनकी ‘होर्मुज स्ट्रेट’ बन्द भयो भने त्यसले विश्वभर हाहाकार मच्चाउनेछ । युरोपदेखि, अमेरिकासम्म र एशियादेखि अफ्रिकासम्म ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहितका विकसित देशका नेताहरु, सरकार यो युद्धबाट चिन्तित हुनुको मुख्य कारण ‘होर्मुज स्ट्रेट’ हो । लडाईका कारण भएको धनजनको क्षतिप्रति उनीहरुलाई चिन्ता हुँदो हो त गाजाको नर संहार रोक्न, रुस र युक्रेनको युद्ध रोक्न वा अफ्रिकी महादेशका धेरै मुलुकहरुमा भइरहेका नरसंहार र गृहयुद्ध रोक्नको लागि दवाव दिने थिए, प्रयास गर्ने थिए । ती युद्धहरु र त्यसक्रममा भएका नरसंहारहरुलाई रोक्नको लागि प्रयास गरे जस्तो गरे पनि उनीहरु खासै चिन्तित देखिदैनन् । बरु, विभिन्न बाहानामा युद्धलाई चर्काउनको लागि सहयोग गरिरहेका छन् । तर, इजरायल-इरान युद्धको प्रसंग फरक छ । किनकी त्यहाँ ‘होर्मुज स्ट्रेट’ छ । ‘होर्मुज स्ट्रेट’ बन्द भयो भने त्यसको असर निकै भयावह हुन सक्छ ।
‘होर्मुज स्ट्रेट’ के हो ? र, यो किन यति महत्वपूर्ण छ ?
फारसको खाडी र ओमानको खाडीको बीचमा रहेको जलमार्ग नै ‘होर्मुज स्ट्रेट’ हो । जम्मा जम्मी ९९० किलो मिटर लामो र करिब ३३ किलो मिटर चौडाई भएको ‘होर्मुज स्ट्रेट’ को सम्पूर्ण क्षेत्र इरान, ओमान र युनाईटेड अरब इमिरेट्समा पर्छ ।
यो त्यस्तो जलमार्ग हो, जस्को प्रयोग विना एक महादेशका जहाजहरु अर्काे महादेशमा आवत जावत गर्न असम्भव प्रायः छ वा सम्भव भए पनि त्यो अहिलेको तुलनामा कैयौं गुणा महंगो पर्छ ।
त्यसको असर केवल पेट्रोलियम पदार्थको ओसार पसारमा मात्र पर्ने छैन, सामुद्रिक जहाजहरु भएर आवत जावत गर्ने सबै समानहरुको ढुवानीमा पर्नेछ । अर्थात् अहिलेको तुलनामा विश्वव्यापीरुपमा हरेक समानको मूल्यवृद्धि अत्यधिक मात्रामा हुनेछ, जस्ले विश्व अर्थतन्त्रलाई डामाडोल बनाउन सक्छ । नुनदेखि सुनसम्म, पेट्रोलियम पदार्थदेखि कृषि उपजहरुको मूल्य समेत आकासिनेछ ।
‘होर्मुज स्ट्रेट’ विश्व अर्थतन्त्रको लागि कति महत्वपूर्ण छ भन्ने कुरा विगतमा भएका ‘टयाँकर युद्ध’ले पनि स्पष्ट पार्छ । ‘टयाँकर युद्ध’ त्यस्तो युद्ध हो, जस्ले इरानका छिमेकीहरुलाई मात्र होइन, अमेरिकालाई समेत आतंकित बनाउने गरेको छ । इरानले आवश्यक पर्दा कसरी ‘होर्मुज स्ट्रेट’ लाई नियन्त्रणमा लिएर अमेरिका जस्ता देशहरुलाई पनि अत्याउन सक्छ भन्ने दृष्टान्त पनि हो । अमेरिकाले चर्काे नाकावन्दी गर्दा पनि इरान पछि नहट्नु वा अमेरिकाले इरानमाथि सिधै आक्रमण गर्न नसक्नुको कारण पनि त्यही हो ।
सन् १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्ध उत्कर्षमा पुगेकै बेला अमेरिकाले इरानी जहाजमाथि आक्रमण गरेको थियो र त्यसक्रममा २९० जना यात्रु मृत्यु भएको थियो । त्यसको जवाफमा इरानले ‘होर्मुज स्ट्रेट’ कब्जा गर्ने र अमेरिकाका कुनै पनि पानी जहाजहरुलाई त्यहाँबाट ओहोर दोहोर गर्न नदिने घोषणा गर्यो । त्यस लगत्तै अमेरिकाले ‘सैन्य गल्ती’का कारण त्यो घटना भएको भन्दै माफी मागेपछि त्यतिबेलाको विवाद सुल्टिएको थियो ।
‘होर्मुज स्ट्रेट’को रणनैतिक महत्वको कारण विगतमा आतँककारी संगठन अलकायदाले पनि त्यसलाई कब्जामा लिने प्रयास गरेको थियो । त्यसक्रममा उस्ले सन् २०१० मा जापानी तेल ट्यांकरमाथि हमला गरेको थियो, जस्लाई इरानले निस्तेज बनाइदिएको थियो । अमेरिका इरानलाई आतँककारीलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको छ । तर इरानले नै आतँककारीहरुबाट ‘होर्मुज स्ट्रेट’लाई जोगाएर विश्व व्यापारमा सहजीकरण गरिरहेको छ ।
अहिले इजरायलसँगको युद्ध चर्किदैं गएपछि इरानले ‘अन्तिम विकल्प’को रुपमा ‘होर्मुज स्ट्रेट’ माथि नियन्त्रण गरेको घोषणा गर्दै आवात जावत ठप्प गरिदिन सक्छ । उस्को त्यो निर्णय बांकी विश्वको लागि कुनै आणविक हतियार प्रयोग गरे भन्दा धेरै खतरनाक हुन सक्छ, जस्ले विश्वकै अर्थतन्त्रलाई गम्भिर संकटमा पार्न सक्छ । त्यहीकारण पनि अमेरिका लगायत विश्वका शक्तिशाली देशहरु इरानसंग डराइरहेका छन् र अहिलेको युद्ध जतिसक्दो छिटो अन्त्य गराउनको लागि प्रयास गरिरहेका छन् । त्यो भन्दा बाहेक उनीहरुसँग अर्काे विकल्प छैन ।