समग्र शेयर बजार मापक नेप्से परिसूचक साइडवेजमा रहे पनि यसपटक हाइड्रोपावर समूहमा लगानी गर्ने लगानीकर्ताले राम्रो मुनाफा गरेका छन् । पछिल्लो पटक नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये हाइड्रोपावर बाहेक कुनै पनि उपसमूहको शेयर १ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार हुन सकेको छैन । अझ हाइड्रोपावर समूहमा कुल कारोबारको झन्डै ७० प्रतिशतसम्म रकमको कारोबार हुन थालेको छ ।
धेरै रकमको कारोबार भएको हाइड्रोपावर समूहमै लगानी गर्ने लगानीकर्ताले नै पछिल्लो १० कारोबार दिनमा धेरै कमाएको तथ्यांकले देखाएको छ । हाइड्रोपावरमा लगानी गर्ने लगानीकर्ताले पछिल्लो हाइड्रोपावरको स्विङमा झन्डै ४५ प्रतिशतसम्म कमाएका छन् भने घट्दो क्रममा रहेको हाइड्रोपावरले भने अधिकतम ७ प्रतिशतसम्म गुमाएका छन् ।
कुन हाइड्रोपावरका लगानीकर्ता भए मालामाल ?
पछिल्लो १० कारोबार दिनमा बुटवल पावर कम्पनीमा लगानी गर्ने लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । जेठ २१ गते ५ सय ७४ रुपैयाँ ७२ पैसा रहेको बुटवल पावरको शेयर असार ३ गतेसम्म जम्मा १० कारोबार दिनमा ४४ दशमलव २४ प्रतिशतले बढेर ८ सय २८ रुपैयाँ ९८ पैसामा बन्द भयो । बुटवल पावरका लगानीकर्ताले छोटो समयमै ४४ दशमलव २४ प्रतिशत पुँजीगत लाभ दिन सफल भए ।
त्यसैगरी युनियन हाइड्रोपावरका लगानीकर्ता विगत १० कारोबार दिनमा झन्डै ३० प्रतिशत नाफामा रहे । ३ सय १७ रुपैयाँ ७१ पैसा रहेको युनियन हाइड्रोपावरको शेयर १० कारोबार दिनमा ४ सय १३ रुपैयाँ ४० पैसा पुग्यो ।
त्यसैगरी बरुण हाइड्रोपावरले लगानीकताले २६ दशमलव २९ प्रतिशत कमाएका छन् । जेठ २१ गते २ सय ९० रुपैयाँ ३६ पैसा रहेको बरुणको शेयर मंगलबार बजार बन्द हुँदा ३ सय ६६ रुपैयाँ ७० पैसामा बन्द भयो ।
त्यस्तै रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले २६ दशमलब २७ प्रतिशत नाफा गरे । गत जेठ २१ गते ४ सय ७६ रुपैयाँ ९१ पैसा रहेको रिभर फल्सको शेयर असार ३ गतेसम्म आइपुग्दा ६ सय २ रुपैयाँ १८ पैसा पुग्यो ।
पछिल्लो १० कारोबार दिनमा सिनर्जी पावरका लगानीकताले २० दशमलब ६५ प्रतिशत, चिलिमे हाइड्रोपावरका लगानीकर्ताले १८ दशमलब ८१ प्रतिशत, सानिमा माई हाइड्रोपावरका लगानीकर्ताले १८ दशमलब ४८ प्रतिशत, हिमालयन पावर पार्टनरका लगानीकर्ताले १७ दशमलब ७२ प्रतिशत, विन्द्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लगानीकर्ताले १४ दशमलब ७४ प्रतिशत र पिपल्स पावर लिमिटेडका लगानीकर्ताले १२ दशमलब ११ प्रतिशतले नाफा कमाएको तथ्यांकले देखाएको छ।
हाइड्रोपावर समूह बढे पनि कुन कम्पनीका लगानीकर्ता गए घाटामा
हाइड्रोपावर समूह ट्रेन्डिङमा रहेर समूह सूचक नै बढे पनि समूह अन्तर्गत सूचीकृत ९१ कम्पनीमध्ये केही हाइड्रोपावर समूहका लगानीकर्ता भने घाटामा रहे । सुपरमाइ हाइड्रोपावरको शेयर विगत १० कारोबार दिनमा सर्वाधिक ६ दशमलब ९८ प्रतिशतले घटेर ८ सय ४० रुपैयाँमा मंगलबार अन्तिम
कारोबार भयो । कम्पनीको शेयर गत जेठ २१ गते ९ सय ३ रुपैयाँमा कारोबार भएको थियो ।
पिपल्स हाइड्रोपावरको शेयर गत जेठ २१ गते ५ सय ५४ रुपैयाँमा कारोबार भएकोमा असार ३ गते ५ सय २० रुपैयाँ ३२ पैसामा अन्तिम कारोबार भयो । यो कम्पनीका लगानीकर्ताले ६ दशमलब १८ प्रतिशत गुमाए ।
त्यसैगरी रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ता ३ दशमलब ६९ प्रतिशत, दोर्दी खोला हाइड्रोपावरमा २ दशमलब ७५ प्रतिशत, थ्रिस्टार हाइड्रोपावर २ दशमलब ७० प्रतिशत, अप्पर हेवाखोला हाइड्रोपावर २ दशमलब ५२ प्रतिशत, इङ्वा हाइड्रोपावर २ दशमलब ३१ प्रतिशत, मन्दाकिनी हाइड्रोपावर २ दशमलब २१ प्रतिशत, माथिल्ला मैलुङ खोला जलविद्युत २ दशमलब ०७ प्रतिशत र बाराही हाइड्रोपावर १ दशलब ६१ प्रतिशतको झिनो नोक्सानीमा रहे ।