'गत वर्षको यसै समयमा बजारमा र्याली आएको थियो'

Jul 03, 2025 10:52 AM Merolagani



दोस्रो बजारको विभिन्न धारहरुबाट विश्लेषण गर्ने गरिन्छ । जोखिमपूर्ण लगानी क्षेत्र शेयर बजारको विश्लेषणमा धेरै लगानीकर्ताले ध्यान पुर्याउन नसक्दा नोक्सानी बेर्होनु परेकाे पनि छ ।

दोस्रो बजारमा लगानीकर्ता स्वंयमले सुझबुझका साथै अध्ययन अनुसन्धान गरेर लगानी गर्नको लागि पनि सुझाएको पाइन्छ । यद्यपि बजारमा गरिने विश्लेषण प्रभावकारी नहुने र हल्लामा नै लगानी गर्ने प्रवृति मौलाएको छ । साथ साथै प्राविधिक विश्लेषण गरेर लगानीकर्ताले रणनीति बनाउनेको संख्या पनि बढ्दो छ । प्राविधिक विश्लेषणमा नेप्से चार्ट प्याटनले कसरी काम गरेको छ भन्नेबारेमा प्राविधिक विश्लेषक योगेश दारुकासँग सुधा देवकोटाले गरेको कुराकानीः

अहिलेको साईडवयज बजारको चार्ट प्यार्टनलाई प्राविधिक विश्लेषणको दृष्टिकोणबाट हेर्दा कस्तो छ ?

अहिलेको बजारमा साईडवयजमा नै खेल्नु पर्ने हो । गत वर्षको यसै समयमा बजारमा र्याली आएको थियो । सो समयमा बजार १८ सयको विन्दुबाट बढेर तीन हजारको विन्दुमा पुग्यो । उक्त समयमा बजार द्रुत गतिमा बढेको थियो । त्यो बेलामा मूल्य बढेर बिक्री भएका शेयरहरुको रि एक्युमुलेसन हुन्छ । रि एक्युमुलेसन हुनको लागि पनि बजार सुस्ताएको हो । अहिले एक्युमुलेसनको लागि नै समय लागेको छ । यस्तो हुन सुरु भएको एक वर्ष भइसकेको छ ।

यो साईडवयजको लागि बजारले खासै ठूलो रेन्ज दिएको छैन । करिब २६ सयको विन्दुलाई सर्पोट बनाएर २८ सयको विन्दुको रेसिस्टेन्सको रुपमा लिदै बजार साईडवयजमा चलेको छ । जब बजारले २८ सयको विन्दुलाई पार गर्छ । तब बजारमा नयाँ र्याली आउन सुरु गर्नेछ । अहिलेलाई बजार एक्युमुलेसन वा ‘रेस्टिङ्ग’ समय भनेर पनि बुझ्न सकिन्छ ।

बजारले ‘रेस्टिङ्ग पीरियड’को लागि अल्लि बढी समय खर्चेको जस्तो लाग्दैन ?

वास्तवमा बजारको चार्ट प्यार्टनबाट हेर्दा केही देखाउँदैन । यसलाई प्राविधिक विश्लेषणमा फ्ल्याट प्यार्टन भनेर बुझिन्छ । यसको लागि समय लाग्छ । जति समय पनि खर्चन सक्छ । एक-डेढ वर्ष पनि हुन सक्छ । जब बजारले ब्रेक आउट गरेर माथिल्लो विन्दुमा जान्छ । तब बजारले आफै नयाँ बाटोहरु निर्माण गर्न सुरु गर्नेछ । त्यो अवधिसम्म अल्पकालीन सोच बनाएर कारोबार गर्न सकिन्छ । जस्तो २६ सयको विन्दुमा किन्ने र २८ सयको वरपरबाट बिक्री गर्ने गरी कारोबार गर्न सकिन्छ । जुन दिन २८ सयको विन्दु पार गरेको हुन्छ । तब नयाँ योजनाको लागि आफू तयार हुनु पर्ने छ।

प्राविधिक विश्लेषणमा ब्रेक आउट ब्रेक डाउनको अवस्थामा लगानीकर्ता दुविधामा पर्ने गरेको पाइन्छ । ब्रेक आउट ब्रेक डाउन भयो भनेर ट्रेड बढायो फेक हुन्छ । यस्तो जोखिमबाट लगानीकर्ताहरु कसरी जोगिने ?

हो, हामीले ब्रेक आउट हुनासाथै किन्न जाने होइन । पहिले फेक ब्रेक आउट हो वा होइन भन्ने कुराको पहिचान गर्नुपर्ने हुन्छ । बजारको माथिल्लो विन्दुमा ब्रेक आउट दिँदै छ भने महँगो मूल्यमा शेयर किन्नु पर्ने हुन सक्छ । धेरै लगानीकर्ताहरु फस्ने सम्भावना त्यस्तैमा हो । यस्तो अवस्थामा अल्ली समय धैर्य गरेर जब सो विन्दुलाई बजारले पुनः परिक्षण गर्छ त्यसपछि मात्रै इन्ट्री गर्नुपर्ने हुन्छ ।

बजारले पहिलेको रेसिस्टेन्सलाई सर्पोट बनाएर रोकिएकाे छ वा छैन । यस्तै स्टकहरु त्यस्तो अवस्थाबाट फर्कन थाल्छ तब नयाँ इन्ट्री गर्ने हो । ब्रेक आउट हुनासाथै इन्ट्री गर्नेहरु जोखिममा हुन सक्छन । सर्पोट र रेसिस्टेन्स धर्का मात्रै देखाउँदै सामाजिक सञ्जालमा हल्ला फैलाउँदै बजार प्रभावित पार्नेलाई प्राविधिक विश्लेषक भन्न मिल्दैन । प्राविधिक विश्लेषकले धेरै दृष्टिकोणबाट बजारलाई हेरेको हुन्छ ।

बजारमा फण्डामेन्टल हेरेर लगानी गर्ने वा प्राविधिक विश्लेषण गरेर लगानी गर्ने हो भन्ने कुरामा धेरै विरोधाभाष भएको पाइन्छ । नेपालको बजारमा प्राविधिक विश्लेषणले खासै काम गर्दैन । तपाई काम गर्छ भन्नु हुन्छ । यदि काम गर्छ भने कसरी गर्छ ?

प्राविधिक विश्लेषणको विषयमा बजारमा अनेक कुराहरु आउने गरेको पाइन्छ । तपाईले भनेको जस्तो कोही प्राविधिक विश्लेषणले नेपाली बजारमा काम गर्दैन भन्नेहरु पनि छन् । कोही ८० प्रतिशत काम गर्ने भन्नु हुन्छ । कोहीले ६० को रेसियोमा मिल्ने कुरा गर्नु भएको हुन्छ । प्राविधिक विश्लेषणले बजारका बारेमा जे जस्ता व्याख्या भएको भएतापनि उहाँहरुको बजारको बुझाई र अनुभवले नै भन्नु भएको छ ।

मेरो लागि पनि भन्नु पर्दा पूर्ण रुपमा प्राविधिक विश्लेषण मात्रै पनि पुग्दैन । यसमा आधारभूत विश्लेषणसँगै सेन्टिमेन्स नै जोडिनु पर्ने हुन्छ । अझ बजारका खेलाडीहरुले कसरी खरिद बिक्री गरेका छन् । त्यसलाई पनि ध्यानमा राखेर विश्लेषण गरियो भने अझ प्रभावकारी हुन्छ । यो रेसियो प्रतिशतको आधारमा भन्दा नेपालको बजारमा प्राविधिक विश्लेषणले ७० प्रतिशतसम्म प्रभावकारी रहने आंकलन गर्न सकिन्छ ।

प्राविधिक विश्लेषण गर्दा आरएसआई इन्डिकेटर प्रयोग गरेको हुन्छ । इन्डिकेटरले गरेको संकेतसँग सँगै सेन्टिमेन्ससँग पनि जोडेर हेरिन्छ । आरएसआई भन्नासाथै सही गलत भन्दैन । त्यसलाई लगानीकर्ताको मनोभावनासँग जोड्दा बजारमा लगानीकर्ताले धेरै लोभमा छन वा त्रासमा छन् भन्ने कुराको बुझाएको हुन्छ । अहिले लामो समय साईडवयजमा छ । यो अवस्थामा लगानीकर्ताहरु छोटो अवधिको लागि होइन रहेछ भन्ने लाग्न थालेको छ । अब दीर्घकालिन लगानीको सोच बढ्न थाल्छ । हो त्यस्तै आरएसआईले संकेत गर्छ बजारले त्यस्तै वातावरणहरु निमार्ण गर्दैछ र बजारले नयाँ सम्भावना पनि दिन लागेको छ भनेर बुझ्न सकिन्छ ।

बजारमा धेरै चर्चा हुने भनेको फलानो कम्पनीको लकिङ्ग खुल्दैछ सप्लाई धेरै आउने आंकलन गरिन्छ । तर त्यसाे नभएर बजारमा झनै खरिद चाप परेको हुन्छ । यस्तो अवस्था प्राविधिक विश्लेषणले संकेत गर्छ वा गर्दैन ?

प्राविधिक विश्लेषणले संकेत गरेको हुन्छ । कुनै कम्पनी लकिङ्ग खुल्ला भयो र त्यसमा पनि सप्लाई आएको छैन् भने त्यो कम्पनीमा ठूला खेलाडीहरु छन् भन्ने कुरा बुझ्न सकिन्छ । त्यसमा भाेलुम खासै हुँदैन । आम लगानीकर्ताको सकृयता हुँदैन । त्यसमा सानो सानो कित्ता गर्दै एक्युमुलेसन भइरहेको हुन्छ । आम लगानीकर्ताको शेयर पनि आउँछ उनीहरुले नै शेयर किनेका हुन्छन् । त्यसपछि कम्पनीको मूल्य आकासिने हो ।

यसरी मूल्य बढेका शेयर बिक्री गर्न सकिदैन भनिन्छ नि ?

नेपालमा अनेक फण्डाहरुले काम गरेको हुन्छ । जस्तो हकप्रद शेयर जारी गर्ने वा बोनससँगै वा अन्य कुनै कुराहरु रहेका हुन्छन् । आम लगानीकर्ता आकषर्ण हुन्छन् । विस्तारै शेयर बिक्री गरेर आफूहरु बाहिर निस्कन्छन ।

नेपालमा कुन समय अवधिको चार्ट प्याटन प्रभावकारी हुन्छ ?

प्राविधिक दृष्टिकोणबाट हेर्दा मिनेटदेखि अध्ययन गर्न सकिन्छ । तर नेपालमा इन्ट्रा डे कारोबार नहुने भएको हुँदा मिनेट,घण्टा वा दैनिक खासै प्रभावकारी हुँदैन । तर साप्ताहिक र मासिक चार्ट प्याटनलाई हेरेर विश्लेषण गरियो भने प्रभावकारी हुन्छ । त्यसलाई समूहगत कम्पनीको सबै फेर्ममा अध्ययन गर्न सकियो भने आफै कन्फम हुन सकिन्छ ।

तपाईले साप्ताहिक र मासिक चार्ट प्याटन प्रभावकारी हुने बताउँदै गर्दा अहिले मौलाएको ७२ घण्टे कारोबारीले कसरी विश्लेषण गरेका हुन्छन ?

छोटो टार्गेट राखेर कारोबार गर्नेले पनि प्राविधिक विश्लेषण गरेर पनि कारोबार गर्नु भएको हुन्छ । उहाँहरु अनुशासनमा रहेर कारोबार गर्दा सफल पनि हुनुभएको छ । उहाँहरुले प्राविधिक विश्लेषण कसरी प्रयोग गरेका छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । उनीहरुले कस्तो ठाउँमा डिमाण्ड बढाउने र कुन ठाँउमा सप्लाई दिन सकिन्छ भन्ने कुराको लागि मात्रै प्रयोग गरेको पाइन्छ । छोटो अवधिलाई लिएर कारोबार गर्नेले खरिद गर्दा भन्दा बिक्री गर्न प्राविधिक विश्लेषणका टुल्सहरु प्रयोग गरेको पाइन्छ । उनीहरुले टेक्निकल विश्लेषण गर्दैनन,तर टेक्निल्ली कहाँ सप्लाई दिन सकिन्छ भनेर अध्ययन भने गरेका हुन्छन् ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।