एमजी विन्डसर इभी गाडीको बिहीबार हायात रीजेन्सी,काठमाडौंमा सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो ।
एमजी विन्डसर इभी गाडीको लन्च कार्यक्रममा एमजी मोटर्स नेपालका प्रवक्ता सुनील बहादुर क्षेत्रीले नेपालको इलेक्ट्रिक मोबिलिटीमा नयाँ आयाम स्थापित गर्ने बताए । उनले भने,“एमजी विन्डसर इभीले स्पेस,कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको छ। हामी विश्वस्त छौं कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्नेछ।”

एमजी विन्डसर इभीको लन्चले एमजीको नेपाल र विश्वव्यापी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ । भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको कम्पनीले जनाएको छ।
विन्डसर इभीले थप स्पेस,थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराउँछ, जसले यो परिवार र व्यवसायिक व्यक्तिहरूका लागि उत्तम विकल्प बनाउँछ। यसमा १३५ रेक्लाइन हुने एरो–लाउन्ज सिटहरू, ६०४ लिटरको ठुलो बुट स्पेस, र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ, जसले गाडीभित्रको अनुभवलाई अझ उचाइमा पुर्याउने कम्पनीको विश्वास छ ।
विन्डसर इभीमा शक्तिशाली मोटर पावर रहेको छ जसले शहर र हाइवेको ड्राइभलाई सहज बनाउँछ। यसको ३८ किलोवाट ब्याट्रीले ३३२ किमीको भरपर्दो रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । वायरलेस चार्जिङ सुविधाले पनि विन्डसर इभीको उपयोगमा थप सहजता दिनेछ ।
सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग राखिएको छ । साथै यो आइपी६७ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्टहरू पार गरेको छ। ६ स्पिकर सिस्टमले गाडीभित्रको मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउँछ भने १८६ मिमि ग्राउन्ड क्लियरेन्सले सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्नेछ ।
ग्राहकहरूको मनोबल र भरोसा बढाउन, विन्डसर इभीमा ८ वर्षको ब्याट्री वारेन्टी रहेको कम्पनीले जनाएको छ । त्यस्तै, नेपालभर फैलिएको एमजीको डिलर नेटवर्कले बिक्री र सर्भिसमा उत्कृष्ट सेवा पाउने कम्पनीले अपेक्षा लिएको छ ।
कम्पनीले एमजी विन्डसर इभी गाडीको मूल्य समेत सार्वजनिक गरेको छ । जसमा लन्च भएको एमजी विन्डसर इभीको मूल्य ३७ लाख ९९ हजार देखि ३९ लाख ९९ हजार रुपैयाँसम्म विभिन्न मोडेलमा पाउन सकिने छ ।