इप्पानले एक प्रेस विज्ञप्ती जारी गर्दै बाढीले जलविद्युत् आयोजनामा पारेको क्षति र आयोजनाहरुको विवरणसहित सुचना जारी गरेको छ । इप्पानले नेपाल र चीनलाई जोड्ने मितेरी पुल बगाउँदै टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमासमेत ठूलो क्षति पुर्याई ७ जनाको ज्यान जानुका साथै १९ जना नागरिक बेपत्ता भएको घटनाप्रति दुख व्यक्त गरेको छ ।
उक्त बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाट भन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिँदा ती आयोजनामा निकै ठूलो भौतिक र आर्थिक क्षति भएको इप्पानको ठहर छ ।
कुन कुन आयोजनामा भयो क्षति ?
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत,६० मेगावाटको त्रिशूली ३ ए जलवद्यिुत, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र,२२ मेगावाटको चिलिमे जलविद्युत, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युतको उत्पादन बन्द भएको छ । यी मध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने त्रिशूली ३बी हब सवस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो ।
देवीघाट,त्रिशूली र त्रिशूली ३ ए बाहेक अन्य सबै जलविद्युत आयोजना निजी क्षेत्रसमेतको सहभागीतामा निर्माण भएका आयोजना हुन् भने निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत आयोजना हुन् ।
त्यस्तै निर्माणाधीन आयोजनाहरुमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ३बी जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ । त्रिशूली नदी करिडोरको विद्युत प्रसारण गर्ने त्रिशूली ३बी हब सवस्टेशन र प्रसारणलाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत आगामी केही दिनसमम उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने देखिन्छ ।
टिमुरे सुख्खा बन्दरगाहबाट दर्जनौं मालबाहक कन्टेनर र भन्सार बिन्दुमा राखिएका सयौं गाडीहरुसमेत बाढीले बगाएको छ । निर्माणाधीन सुख्खा बन्दरगाह पूर्णरुपमा खण्डहर बनेको र नेपाल–चिन मुख्य व्यापारिक नाकाको पुल नै बगाउँदा यसले नेपाली व्यवसायीहरुमा ठूलो असर गरेको इप्पानले जनाएको छ ।
त्यस्तै इप्पानले नेपाल र चीनबीच वार्षिक १ खर्ब रुपैयाँ भन्दा बढीको व्यापार हुने मुख्य नाका बन्द हुँदा यसले नेपाल सरकारको राजस्व संकलनमा समेत गम्भीर असर पार्ने हुँदा जतिसक्दो छिटो नाका सुचारु हुने वातावरण बनाउन पनि सरकारसँग माग गरेको छ ।
‘बाढी पहिरोले विध्वंश मच्चाइरहेको बेलामा समेत रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ३६ जना सहित करिब १५० जना नागरिकको उद्धारमा नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले देखाएको तदारुक्ताकोलागि सम्वद्ध सबै निकायलाई धन्यवाद व्यक्त गर्दै क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन तथा थप जनधनको क्षति हुन नदिन आवश्यक कार्यहरु अघि बढाउन पनि नेपाल सरकारसँग आग्रह गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।
इप्पानले बाढीमा परी ज्यान गुमाउनेहरुप्रति श्राद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । भने बेपत्ता हुनेको संख्या बढीरहेको र बाढीको जोखिम पनि कायमै रहेकोले नेपालका सबै नदी बेसिनमा बस्ने स्थानीयहरुलाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।