लाभांश घोषणासँगै बढ्न थाल्याे म्युचुअल फन्डको कारोबार

Aug 06, 2025 06:13 AM Merolagani



म्युचुअल फन्डको लाभांश घोषणासँगै यो समूहको कारोबार विस्तारै बढ्न थालेको छ। पछिल्लो समय सबैभन्दा कम कारोबार हुने र आइपीओ शेयर समेत न्यून मूल्यमा कारोबार भइरहेको समूहमा पर्दछ म्युचुअल फन्ड समूह । साधारणतया १० रुपैयाँ प्रति इकाईमा निकालेको आइपीओ समेत सूचीकरण हुँदा १० रुपैयाँ भन्दा न्यून मूल्यमा कारोबार भइरहेको थियो।

साउन महिना भनेको गत वर्षको नाफाबाट विस्तारै लाभांश घोषणा गर्दै वितरण शुरु गर्ने महिना हो । प्रायः लाभांश घोषणाको शुरुवात म्युचुअल फन्डकै योजनाहरुबाट हुने गरेको छ । म्युचुअल फन्डको लाभांश घोषणाको शुरुवातसँगै म्युचुअल फन्डको कारोबार विस्तारै बढ्न थालेको छ । कुल कारोबारको शून्य दशमलब २ प्रतिशत पनि बल्ल बल्ल हुने कारोबार अहिले बढेर शुन्य दशमलब ७३ प्रतिशतसम्म पुगेको छ। त्यसमा पनि लाभांश धेरै दिएका कम्पनीहरुको कारोबार धेरै कित्तामा हुन थालेको छ ।

मंगलबार धेरै कित्ता शेयर कारोबार हुने दश कम्पनीमध्ये ३ वटा म्युचुअल फन्डका इकाईहरु परेका छन् । सानिमा फोकस्ड इक्वीटी फन्डको इकाई ११ लाख ६२ हजार ४ सय ५० इकाई कारोबार भएको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को ५ लाख ४३ हजार ८ सय ५० इकाई कारोबार भएको छ । त्यस्तै एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड २ को ४ लाख ६९ हजार ६ सय इकाईको कारोबार भएको छ । साधारणतया लाभांश वितरण गर्ने समयमा म्युचुअल फन्डको कारोबार बढी हुने गरेको छ । अहिले प्रायः सबै म्युचुअल फन्डको कारोबार १० रुपैयाँ भन्दा माथि नै भइरहेको छ ।

कुन म्युचुअल फन्डले कति घोषणा गरे लाभांश ?

अहिलेसम्म ओपन इन्डेड र क्लोज इन्डेड गरी १२ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । त्यसमध्ये ६ वटा ओपन इन्डेड र ६ वटा क्लोज इन्डेड म्युचुअल फन्ड रहेका छन् । क्लोज इन्डेड म्युचुअल फन्डको कारोबार नेप्सेमा हुन्छ भने ओपन इन्डेड म्युचुअल फन्डको कारोबार सम्बन्धित क्यापिटलले तोकेको स्थानमा मात्रै हुन्छ । क्लोज इन्डेड म्युचुअल फन्डको निश्चित समय तोकिएको हुन्छ भने ओपन इन्डेड म्युचुअल फन्डको कुनै समय सीमा तोकिएको हुँदैन । ओपन इन्डेड म्युचुअल फन्डलाई अहिले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी)को रुपमा धेरै क्यापिटलले अगाडि बढाएका छन् । ओपन इन्डेड म्युचुअल फन्डमध्ये शुभ लक्ष्मी कोषले १६ प्रतिशत, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ८ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाले ८ दशमलब ८८ प्रतिशत, एनआईबीएल सहभागिता फन्डले ७ प्रतिशत, एनएमबी सरल बचत फन्ड–‘इ’ले ४ दशमलब २७ प्रतिशत तथा एनआईसी एसिया डाइनामिक डेब्ट फन्डले ५ दशमलब ५५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।

ओपन इन्डेड बाहेक अहिलेसम्म लक्ष्मी सनराइज क्यापिटल, एनआईसी एसिया क्यापिटल र गरिमा क्यापिटलले सञ्चालन गरेका क्लोज इन्डेड म्युचुअल फन्डहरुले लाभांश घोषणा गरेका छन् । लक्ष्मी सनराइज क्यापिटलको सनराइज ब्लुचिप फन्डले अहिलेसम्म सबैभन्दा बढी १९ प्रतिशत लाभांश घोषणा गरेकाे छ भने त्यस्तै अर्को लक्ष्मी भ्यालु फन्ड–२ ले १५ प्रतिशत लाभांश घोषणा गरेकाे छ । गरिमा क्यापिटलले सञ्चालन गरेकाे गरिमा समृद्धि योजनाले ५ दशमलब १० प्रतिशत लाभांश दिएकाे छ ।

यता एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया सेलेक्ट –३० ले ८ दशमलब ६५ प्रतिशत, एनआईसी एसिया फलेक्सी क्यापि फन्डले १० दशमलब १० प्रतिशत र एनआईसी एसिया ब्यालेन्स फन्डले ९ दशमलब ९० प्रतिशत लाभांश दिएका छन् ।

बुक क्लोज कहिले ?

प्रायः ओपन इन्डेड म्युचुअल फन्डले लाभांश घोषणा गर्न बोर्ड बैठक बसेकै दिनलाई बुक क्लोजको मिति तोक्ने गरेका छन् । क्लोज इन्डेड म्युचुअल फन्डमध्ये लक्ष्मी सनराइज क्यापिटलको सनराइज ब्लु चिप फन्ड र लक्ष्मी भ्यालु फन्ड–२ को लागि साउन २६ गते बुक क्लोज मिति तोकिएको छ । गरिमा क्यापिटलले सञ्चालन गरेको गरिमा समृद्धि योजनाको लागि साउन २७ गते बुक क्लोज मिति तोकिएको छ भने एनआईसी एसिया क्यापिटलले सञ्चालन गरेको एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड, एनआईसी एसिया ब्यालेन्स फन्ड र एनआईसी एसिया सेलेक्ट फन्ड–३० को लागि साउन २९ गते बुक क्लोज मिति तोकिएको छ । बुक क्लोज भन्दा अगाडि म्युचुअल फन्डका इकाई खरिद गर्ने लगानीकर्ताले मात्रै नगद लाभांश प्राप्त गर्न सक्ने छन् ।

 




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।