उदाहरणका लागि गणपति लघुवित्तले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तको खुद नाफा २ करोड ९९ लाख रुपैयाँ र प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७६ पैसा थियो। तर, हालै प्रकाशित भएको वित्तीय विवरणमा सोही अवधिको तथ्यांक अर्थात आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मको खुद नाफा १ करोड ५२ लाख रुपैयाँ र प्रतिशेयर आम्दानी १० रुपैयाँ ३ पैसा छ।

त्यसैगरी, गत वर्ष प्रकाशित उन्नती सहकार्य लघुवित्तको वित्तीय विवरण अनुसार २०८१ असार मसान्तसम्ममा लघुवित्तले १ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८९ पैसा थियो। तर, यस वर्ष प्रकाशित चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २०८१ असार मसान्तसम्ममा सोही लघुवित्त ९४ लाख रुपैयाँ नोक्सानीमा र प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८३ पैसा ऋणात्मक देखाइएको छ।
महुली लघुवित्तले पनि गत वर्ष प्रकाशित विवरणमा असार मसान्तसम्मको नाफा ६ करोड ९१ लाख रुपैयाँ र प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा देखाएको थियो। तर यस वर्ष प्रकाशित विवरणमा लघुवित्तले सोही अवधिको नाफा ३ करोड २१ लाख रुपैयाँ र प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा देखाएको छ।
यी केही उदाहरणहरु मात्र हुन्। सबै त होइन अन्य केही लघुवित्तहरुले पनि यस्तै गरेका छन् जसका कारण लघुवित्तहरुको खुद नाफा उल्लेख्य बढेको देखिएको छ।
आशा लघुवित्त, सिवाईसी नेपाल लघुवित्त लगायतका केही लघुवित्तहरुको तथ्यांकमा फरक छैन। आरएसडिसी लघुवित्तको तथ्यांकलाई पनि अपरिष्कृत र परिष्कृतको फरक मान्न सकिन्छ। तर अरु लघुवित्तहरुमा यो मान्न गाह्रो छ।
यस कारण फरक हुन पुगेकाे लघुवित्तका सिइओहरुकाे भनाइ
परिष्कृत र अपरिष्कृत वित्तीय विवरणमा सामान्य भिन्नता हुनु स्वभाविका हो। धेरै ठूलो अंकको भिन्नता देखिनु प्रोभिजन गराउने नीतिकै कारण भएको हुन सक्ने विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्सालले बताए। लघुवित्तले अपरिष्कृत विवरणमा सबै व्यवस्था गरेर सार्वजनिक गर्नुपर्ने हो। तर लघुवित्तले अव्यवहारिक रुपमा विवरण सार्वजनिक गर्ने र परिष्कृत विवरणमा धेरै भिन्नताले लघुवित्त संस्थाहरुप्रति नै जनविश्वास कम हुने लम्सालले चिन्ता व्यक्त गरे।
नेपाल राष्ट्र बैंकले गरेको पुनर्संरचनाको व्यवस्थामा गर्नुपर्ने प्रोभिजनको कारण गत वर्षको परिष्कृत र अपरिष्कृत वित्तीय विवरण धेरै फरक भएको महुली लघुत्तिका प्रमुख कार्यकारी अधिकृत सरोव कुमार सिंहले बताए। लघुवित्तका ऋणीको ऋण भुक्तानी गर्ने अवस्था कमजोर रहेको आवश्यकता महसुस गर्दै कर्जा पुनरतालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गरिएको थियो। लघुवित्त कम्पनीले अपरिष्कृत वित्तीय विवरणमा भुक्तानी नभएको कर्जाको प्रोभिजन नछुट्याई वित्तीय विवरण सार्वजनिक गर्ने र पछि नियामक निकायले परिष्कृत विवरणमा प्रोभिजन गराउदा लघुवित्तको परिष्कृत र अपरिष्कृत ठूलो प्रतिशतले फरक देखिएको हो।
परिष्कृत र अपरिष्कृतमा यति धेरै फरक राम्रो होइन। यसले कि त लघुवित्तहरुले पहिला प्रकाशित गरेको वित्तीय विवरण गलत थियो भन्ने बुझिन्छ कि नभए अहिले नाफा बढेको देखाउनका लागि लघुवित्तहरुले तथ्यांक संशोधन गरे भन्ने बुझिन्छ। कम्पनीहरुले धेरै नाफा देखाउनकै लागि प्रोभिजन नगरी विवरण सार्वजनिक गरेको देखिन्छ। त्यसैले कम्पनीको नाफा कसरी भएको छ, व्यवसाय वृद्धिको अवस्था, प्रतिफल वितरण गर्न सक्ने क्षमता र प्रोभिजनको अवस्थालाई समेत मध्यनजर गरेर लगानी रणनीति बनाउनु पर्नेमा जानकारहरुले जोड दिएका छन्।