सुन व्यवसायीका अनुसार, विलासिता कर थोपर्दा सुनको मूल्य बढेको र कारोबार सुस्ताएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चालू आवको साउन १ गते सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लागू भइसकेको छ । विलासिता कर लागू भएसँगै सुनको मूल्य ८ देखि १० प्रतिशतले बढ्न पुगेको महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले मेरो लगानीलाई बताए ।
‘विलासिता करले सुनको मूल्य ८ देखि १० प्रतिशत बढेको छ । कारोबारमा पनि मन्दी लाग्यो । २० प्रतिशतको कारोबार देखिन्छ,’ उनले बताए । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ । सुनको मूल्य बढिरहेका बेला सरकारले पुनः २ प्रतिशत विलासिता कर लगाउँदा त्यसको प्रत्यक्ष असर आम ग्राहक तथा उपभोक्तामा परेको हो ।
विवाह र चाडपर्व नजिकिँदै गए पनि मूल्य बढेका कारण आम उपभोक्ताले समेत सुनको कारोबारमा कटौती गरेको व्यवसायीको भनाइ छ ।
महासंघका अनुसार, २०८२ साउन २२ गते सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । सुन दररेट मूल्यमा ८ देखि १० प्रतिशत रुपैयाँ बढेको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार, आजको सुनको मूल्य अनुसार एक तोला सुनको गहना बनाएर उपभोक्ताले खरिद गर्दा २ लाख १७ हजार रुपैयाँसम्म पुग्ने गरेको छ ।