नारायणगढ–बुटवल सडकः चार पटकसम्म म्याद थप, दशैंमा घर जाने यात्रुलाई नहुने भयाे सहज

Aug 08, 2025 10:45 AM merolagani



हरिप्रसाद शर्मा
सरकारले नारायण बुटवल सडक विस्तार आयोजनाका एक वर्ष म्याद थप गरिदिएको छ । पटक पटक निर्माण कम्पनीले विभिन्न बाहना बनाएर सडक विस्तारमा ढिलासुस्ती गर्दै आए पनि निर्माण कम्पनीलाई सरकारले पटक पटक म्याद थप गरिदिने गरेको छ ।

आगामी २०८२ असार मसान्तसम्मका लागि एक वर्षको म्याद थप पाएको निर्माण कम्पनीले उक्त अवधिभित्र सडक विस्तार कार्य सम्पन्न गर्नुपर्नेछ । तर, अहिलेकै अवस्थामा चिनियाँ ठेकेदार कम्पनीले सडक विस्तार कार्य सम्पन्न गर्छ भनेर पत्याउने आधार चाहिँ छैन् ।

निर्माण कम्पनीलाई एक वर्ष म्याद थप गरिदिएको छ । आगामी २०८२ असार मसान्तसम्म सडक विस्तारकार्य सम्पन्न गर्ने गरी म्याद थप गरिएको हो । यो सँगै सरकारले उक्त कम्पनीलाई विभिन्न बाहनामा चौथो पटकसम्म म्याद थप गरिसकेको छ ।

चीनको चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौताका साथ २०७५ फागुन ९ गतेदेखि निर्माण सुरु भएको उक्त परियोजना हालसम्म पनि पूरा हुन सकेको छैन् ।

साढे तीन वर्षमा सम्पन्न गर्नुपर्ने परियोजना ६ वर्ष पुग्दा पनि अधुरै छ । सम्झौता अवधिमा सडक विस्तार कार्य सम्पन्न नभएपछि सरकारले पटक पटक गरी चार पटकसम्म म्याद थप भइसकेको छ । तर, थपेको म्यादभित्र पनि चिनिँया निर्माण कम्पनीले परियोजना निर्माण सम्पन्न गर्न सकेको छैन ।

परियोजनाको निर्माण कार्य सुरु भएको ६ वर्ष बिते पनि परियोजनाको भौतिक प्रगति निराशापूर्ण छ । दुवै खण्डको सडक विस्तारको काम हालसम्म करिव ७० प्रतिशत सम्पन्न भएको परियोजना प्रमुख सशांक मिश्रले मेरो लगानीलाई बताए ।

निर्माणजन्य सामग्रीको आपूर्ति र उपलव्धतामा स्थानीय सरकारको अवरोध, प्रदेश र संघ सरकारको समन्वयन नहुनु र वन तथा वातावरण मन्त्रालयले दिने स्वीकृतिको ढिलाइका कारण पनि परियोजना निर्माण लम्बिएको मिश्र बताउँछन् ।

पूर्वी खण्डको ६५ किलोमिटर र पश्चिमखण्डको ४७ किलोमिटर गरी कुल ११४ किलोमिटरको उक्त राजमार्गलाई सरकारले ६ लेनमा विस्तार गर्ने योजना लिएको थियो ।

म्याद थप्नमै सरकारको जोडबल

उक्त सडक आयोजनाको सम्झौता अवधिभित्र त सम्पन्न हुन सकेन नै । ४-४ पटकसम्म म्याद थप्दा समेत चिनिँया निर्माण कम्पनीले आयोजना सम्पन्न गर्नतर्फ चासो देखाएको छैन् । सरकारले निर्माण कम्पनीलाइ तोकिएको समयमा सम्पन्न नगरेकोमा दण्डीत गर्नुपर्ने, जरिवाना वा पेनाल्टी लगाउनुपर्नेमा उल्टै पटक पटक म्याद थप गर्नमै तल्लीन देखिएको छ । पटक पटक निर्माण कम्पनीलाई म्याद थप किन गरिएको भन्ने प्रश्नमा सडक विभागका कर्मचारीको टालटुले जवाफ छ ।

विभागका प्रवक्ता प्रभातकुमार झाले चिनिँया निर्माण कम्पनीका विभिन्न ‘कम्पोन्सेसन इभेन्ट’ ले गर्दा पटक पटक म्याद थप गर्नुपरेको बताउँछन् । तर, ४-४ पटक म्याद थप गरेपछि कम्पोन्सेसन इभेन्टको माग पूरा हुन्छ ? आयोजना सम्पन्न हुन्छ ? भनेर सोध्दा उनले जवाफ दिन मानेनन् ।

कोरोना महामारीका बेला चिनिँया निर्माण कम्पनीले उक्त सडक विस्तारकार्यलाई अपेक्षित रुपमा अघि बढाउन सकेन् । निर्माण थालनी गर्ने बेलामा जग्गा अधिग्रहण, बन, रुख कटान, पोल र पाइप हटाउनेजस्ता पूर्व तयारीका काममा नै परियोजना लामो समय अल्मलियो । विद्युत् प्राधिकरणका पोल सार्नु पर्ने,रुख र वन क्षेत्रको प्रयोगको स्वीकृतिमा ढिलासुस्ती, कोरोना महामारीलगायतका कारणले निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गर्न नसकेको चिनियाँ कम्पनीको दाबी छ ।

यसपालीको दशैंमा यात्रुलाई हुने छैन सहज

चिनिँया ठेकदार कम्पनीको ढिलासुस्तीका कारण वर्षौदेखि यात्रुहरुले उक्त सडकखण्डमा सास्ती भोग्दै आएका छन् । यसपालीको बर्खायामका बेला पनि त्यस सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुहरुले भोग्नुसम्मको सास्ती भोगे । सरकारलाई गाली गरे । तर, सडकको अवस्था भने सुध्रिन सकेको छैन् ।

बर्खायाममा हिलो र जामका कारण सडकखण्डको दाउन्ने खण्डमा यात्रुहरुले यसपाली सास्ती भोगे । वर्षा रोकिएसँगै पुनः सहजता भए पनि निर्माणको ढिलासुस्तीले यसपालीको दशैं मान्न घर जाने यात्रुले पनि सास्ती भोग्नुपर्ने देखिएको छ । दाउन्ने खण्डको सडक विस्तारकै चरणमा छ । त्यसखण्डमा कालोपत्रे नगरिँदा यात्रा थप कष्टकर हुँदै गएको छ।

कुल १६ अर्ब ९९ करोड ५२ लाख लागत अनुमान गरिएको सडक आयोजना समयमै सम्पन्न हुन नसक्दा पश्चिम बुटवल हुँदै काठमाडौं र चितवन पूर्वको यात्रामा निस्कने यात्रुहरुलाई दैनिक आवतजावतमा समस्या हुँदै आएको छ ।

 




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।