बिहीबारको बजार १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको छ । यस दिन ८ अर्ब ५३ करोड ७५ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । बजारले एक चरणको करेक्सन पार गरेको लगानीकर्ताको बुझाई छ ।
करिब २५८० वरपरको विन्दुबाट बढ्न सुरु गरेको बजारले ३ हजारको उचाईमा पुगेर घट्न सुरु गरेको थियो । सो समयमा शेयर बजारमा प्रवेश गर्न छुटेकाहरु यो करेक्सनमा प्रवेश गर्नको लागि राम्रो मौका पाएको लगानीकर्ताको बुझाई छ । बजारमा घट्ने क्रम र बढ्ने क्रम सन्तुलित भयो भने दीगो हुने भनाइ छ ।
अहिलेको बजारमा कारोबारी अर्थात अल्पकालिन लगानीकर्ताहरु हावी हुँदा सूचक दबाबमा पर्ने गरेको आरोप छ । बजारमा ७२ घण्टाको कारोबारले बिक्री चाप बढाएको छ । तर अहिलेको एआई जेनेरेट मार्केटमा ७२ घण्टा पर्खेर हुने कारोबार धेरै भएको लगानीकर्ता रामकृष्ण खायमलीको भनाई छ । अहिलेका लगानीकर्ता स्मार्ट भइसकेका छन् । मिनेट मिनेटको विश्लेषण हुन्छ । त्यस्तै छिटो कारोबार गर्ने अर्थात इन्ट्रा डे कारोबारको सुविधा छिटै लागु गर्नुपर्ने उनको जोड रहेको छ ।