वर्षभरिको शेयर कारोबारमा बढ्ने दिन धेरै हुन्छ कि घट्ने ? गएको चार वर्षको तथ्याङ्कमा यस्तो देखियो

Sep 03, 2025 06:19 AM merolagani



सुवास निरौला

मङ्गलवार शेयर बजार मापक नेप्से सूचक १९.८९ अंकले घटेर २७४१.९७ अंकमा ओर्लियो। नेप्से सूचक मङ्गलवार मात्रै घटेको होइन, गत बिहीवार देखि नै सूचक लगातार घटिरहेको छ। भदौ लागे यता मात्रै सूचक सात दिन घट्यो भने ६ कारोबार दिन बढ्यो।  

दोस्रो बजारमा दैनिक शेयर कारोबार हुन्छ। दोस्रो बजारमा हुने शेयर कारोबारमा कुनै कम्पनीकाे शेयर मूल्य बढ्छ भने केहीको शेयर मूल्य घट्छ। केही कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन हुँदैन।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर मूल्य घट्ने, बढ्ने र स्थिर रहेका सबै कम्पनीको कारोबार अवस्था कस्तो रह्यो भनेर नेप्से सूचक मार्फत गणना गर्ने गर्छ। दैनिक कारोबारमा कम्पनीको शेयर मूल्य धेरै बढे सूचक बढ्ने र धेरै नै कम्पनीको मूल्य घटे सूचक घट्ने गर्छ। सोही सूचकलाई आधार मानेर नै आम सर्वसाधारणले शेयर बजार घटे, बढेको निर्क्योल गर्ने गर्छन्।

शेयर बजारको आफ्नै गति हुन्छ। शेयर बजार निरन्तर घटी मात्रै रहँदैन भने बढी पनि रहँदैन। यही बीचमा नेपालको शेयर बजार वर्ष दिनमा धेरै बढ्ने गर्छ ? वा घट्ने गर्छ ? भनेर मेरोलगानीले चार वर्षको नेप्से सूचकको अवस्थाकाे अध्ययन गरेकाे छ। सन् २०२२ देखि सन् २०२५ सम्मको अवधिमा प्रत्येक वर्षलाई छुट्टाएर घटे/ बढेको अध्ययन गरिएको छ।  

यसरी चार वर्षको अध्ययन गर्दा सूचक बढ्ने भन्दा घट्ने प्रतिशत धेरै देखिएको छ। यही भदौ महिनाकै उदाहरण लिँदा गएको १३ कारोबार दिनमा मङ्गलवारसम्म सात कारोबार दिन नेप्से सूचक घट्यो भने ६ कारोबार दिन बढ्यो। यसरी वर्ष दिनकै अवस्था हेर्दा सन् २०२५ लागे यता गत बिहीवारसम्म एक सय ५८ दिन शेयर कारोबार भयो। उक्त दिनको अवस्था हेर्दा ७८ दिन शेयर बजार घट्यो भने ८० दिन बढ्यो। प्रतिशतमा हेर्दा ४९.३७ प्रतिशत घट्दा ५०.६३ प्रतिशत बढ्यो। यसरी हेर्दा २०२५ लागे यता नेप्से सूचक केही प्रतिशत बढेको देखिन्छ। तर लगानीकर्ता भने शेयर बजार घटेकोमा चिन्तित देखिन्छन्।

दोस्रो बजारमा शेयर कारोबार गर्ने सर्ट टर्म कारोबारीको लागि नेपालको शेयर बजार खासै नराम्रो देखिँदैन। तर ७२ घण्टे कारोबारीको लागि भने नेपालको शेयर बजार अनुकुल नहुन सक्छ। तर किनेर केही दिन होल्ड गर्नेहरूलाई भने बजारले बारम्बार मौका दिने गरेको देखिन्छ। किनकि शेयर किनेर केही समय होल्ड गर्ने बित्तिकै सूचक पुनः बढ्ने गरेको देखिन्छ। त्यसले गर्दा शेयर होल्ड गर्ने लगानीकर्ताले भने गएको तीन वर्ष यता ठूलै नोक्सानी ब्योहोर्नु परेको तथ्याङ्कमा देखिँदैन। किनकि घट्ने र बढ्ने दिनको अन्तर खासै ठूलो छैन। यद्यपि दोस्रो बजारमा शेयर खरिद गर्ने समय धेरै आउने गरेको भएपनि बिक्री गर्ने समय भने अलि थोरै हुने गरेको देखिन्छ। किनकि वर्ष दिनमा शेयर बजार बढ्ने भन्दा घट्ने दिन धेरै हुने गरेको तथ्याङ्कमा देखिन्छ।

सन् २०२२ मा २४२ दिन शेयर कारोबार भयो। जसमा १०२ कारोबार दिन मात्रै शेयर बजार बढ्यो भने १४० दिन शेयर बजार घट्यो। २०२३ मा २२७ दिन शेयर कारोबार भयो। जसमा १०५ कारोबार दिन मात्रै शेयर मापक सूचक बढ्यो भने १२२ कारोबार दिन घट्यो। २०२४ मा २३२ दिन शेयर कारोबार हुँदा ११२ दिन बढ्यो भने १२० दिन सूचक घट्यो।

यसरी चारै वर्षको हेर्दा शेयर बजार घट्ने दिन धेरै देखिए पनि बढ्ने र घट्ने दिनमा निक्कै ठूलो अन्तर भने देखिँदैन। तर शेयर बजार छोटो समयमा नै धेरै अंकले बढ्ने र घट्दा भने निक्कै धिमा गतिमा घट्ने गरेको देखिन्छ। जसले गर्दा पनि बढ्ने दिन भन्दा घट्ने दिन बढी देखिएको हो।

नोटः लगानीकर्ताले घट्ने र बढ्ने दिनसँग मात्रै तुलना गरेर शेयर किन्नु भने उचित हुँदैन। सूचीकृत कम्पनीको वास्तविक अवस्था अध्ययन गरेर मात्रै शेयर किन्नु उचित हुन्छ। 




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।