असोजमा एक्कासी १९९ % ले बढ्यो सुन आयात, कति किलो भित्रियो ? के अहिले सुन किन्ने सही समय हो ?

Oct 27, 2025 06:09 AM merolagani



सुवास निरौला

बढ्दै गएको सुनको मूल्यले गएको असोज ३१ गते अहिलेसम्मकै सर्वाधिक मूल्यको रेकर्ड कायम गर्‍यो। उक्त दिन प्रति तोला सुनको मूल्य दुई लाख ५८ हजार रुपैयाँ कायम भयो। जुन अहिलेसम्मकै सर्वाधिक बढी मूल्यको रेकर्ड हो।

भदौको अन्तिमसम्म सुनको मूल्यले बिस्तारै उचाइ लिँदै गएको भएपनि असोजको महिनामा भने सुनको मूल्यमा तीव्र वृद्धि देखिएको थियो। भदौको अन्तिम दिन प्रति तोला सुनको मूल्य दुई लाख १५ हजार दुई सय रुपैयाँ तय भएको थियो। तर त्यही सुनको मूल्य असोज सकिनै लाग्दा दुई लाख ५८ हजार रुपैयाँमा उक्लियो। एक महिनामा नै सुनको मूल्य ४२ हजार आठ सय रुपैयाँले बढ्यो।

जति जति सुनको मूल्य बढ्दै गइरहेको थियो। त्यति त्यति नै बजारमा सुनको माग समेत बढ्दै गइरहेको थियो। यस अघि मूल्य बढेकै कारण सुनको खपत खासै थिएन। जसले गर्दा वाणिज्य बैंकहरुले पनि खासै सुन आयात गरेका थिएनन्। सुन खपत कम भएकै कारण वाणिज्य बैकहरुले साउन र भदौमा जम्मा दुई सय किलो सुन मात्रै आयात गरेका थिए। सुनको माग नभएकै कारण सुन आयात कम गरेका बैंकले असोजमा माग अनुसार सुन नै पुर्‍याउन सकेनन्। जसले गर्दा असोजमा केही समय सुन अभाव भएको समाचार समेत आए। यस अघि प्रति महिना एक सय किलो सुन आयात गरिरहेका वाणिज्य बैंकहरुले असोजमा भने १९९ प्रतिशतले सुनको आयात बढाए। भन्सार विभागले सार्वजनिक गरेको असोज महिनाको विवरण अनुसार उक्त महिना चार सय किलो सुन आयत भएको छ। जुन साउन र भदौको तुलनामा १९९ प्रतिशत बढी हो। गएको तीन महिनामा ६०१ किलो सुन नेपाल भित्रिएको छ। चालु आर्थिक वर्षमा सबैभन्दा धेरै सुन असोज महिनामा नै भित्रिएको हो।

असोजमा जसरी सुनमा तेजी देखिएको थियो। त्यो तेजी बिस्तारै सेलाउँदै गएको छ। दुई लाख ५८ हजारको नयाँ रेकर्ड बनाएको सुन मूल्य आइतबार घटेर दुई लाख ४१ हजार ९ सय रुपैयाँमा झरेको छ। कार्तिक लागेदेखि सुनको मूल्य घट्न सुरु गरेको हो। त्यस यता सुनको मूल्य १६ हजार एक सय रुपैयाँले घटिसकेको छ। जुन ६.२४ प्रतिशतको गिरावट हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र गिरावटले नेपालमा पनि सुनको मूल्य घटेको हो। सुनको मूल्यले लगातार रेकर्ड बनाउँदै लगेपछि लगानीकर्ताहरूले नाफा बुक गर्न थालेपछि सुनको मूल्य घटेको अनुमान आइरहेका छन्। सुन बिक्री गरेर लगानीकर्ताहरू शेयर बजार तर्फ मोडिएका कारण सुनको मूल्य घटेको विश्लेषण भइरहेको छ।

सुनमा अचानक आएको गिरावटले भूराजनीतिक तनाव कम गर्ने,डलरलाई बलियो बनाउने र अमेरिकाले अनिश्चितता कम गर्ने सङ्केत विश्लेषकहरूले गरिरहेका छन्।  

जसरी सुनको मूल्य घट्यो त्यसले सुनको बढ्दो र्‍यालीको भने अन्त्य नगरेको विज्ञहरूले विश्लेषण गरिरहेका छन्। उनीहरूले बरु तीव्र वृद्धि पछिको छोटो अवधिको विराम भनिरहेका छन्। युद्धको डर, आर्थिक मन्दी र केन्द्रीय बैंकको बलियो खरिदका कारण यस वर्ष पहेँलो धातुको मूल्य ६५ प्रतिशत भन्दा बढीले बढेको थियो। अहिले तनाव कम हुँदै जाँदा र लगानीकर्ताहरू इक्विटीमा फर्किएपछि सुनको माग कम हुँदै गएको छ। तर मागमा पूर्ण रुपमा कमी आउन यदि अमेरिकी फेडरल रिजर्भले यस महिनाको अन्त्यमा अपेक्षा गरेअनुसार ब्याजदर घटाउनु पर्ने छ।त्यसो भएन भने पुन: लगानीकर्ता सुन तर्फ मोडिन सक्छन्। त्यस कारण सुनको मूल्यमा तत्कालै ठुलो वृद्धि देखिने सम्भावना छैन। तर उच्च रुपमा घट्छ पनि भन्न सकिँदैन। त्यसैले सुनमा दीर्घकालीन लगानी गर्नेहरूले छोटो समय कुर्नु उचित हुने विज्ञ हरूकाे सुझाव छ।  

 

 




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।