जबकि धितोपत्र सूचीकरण विनियमावली,२०७५ को विनियम ७ को दफा (३) मा “यस विनियमावली बमोजिम सूचीकरणका लागि निवेदन प्राप्त भई सम्पूर्ण प्रक्रिया पूरा भएको देखिएमा नेप्सेले सातदिन भित्र सम्बन्धित धितोपत्रको सूचीकरण गरी दिनुपर्नेछ,” भनिएको छ। यसै गरी बोनस शेयर वा हकप्रद शेयरको सूचीकरण सम्बन्धमा सोही विनियमावलीको दफा (४) मा “उपविनियम (३) मा जुनसुकै कुरा लेखिएतापनि बोनस शेयर वा हकप्रद शेयरको सूचीकरण नेप्सेले बढीमा १५ दिनभित्र गर्नु पर्नेछ,” भनी प्रस्ट्याइएको छ।
तर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गएको साउन महिनादेखि निष्कासन भएका कुनै पनि कम्पनीको धितोपत्र सूचीकरण गरेको थिएन। नेप्सेका कर्मचारीले गएको एक महिना भन्दा बढी अवधिदेखि आन्दोलन गरिरहेका थिए। जसका कारण नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईं दशै यता कार्यालय गएका थिएनन्। जसले गर्दा कुनै पनि कम्पनीको शेयर दोस्रो बजारमा सूचीकरण हुन पाएका थिएनन्।
प्राथमिक निष्कासन गरेर दोस्रो बजारमा सूचीकरण हुनको लागि नेप्सेमा निवेदन दिने कम्पनीको संख्या सात छ। संख्याका हिसाबले भने आठ कम्पनी दोस्रो बजारमा सूचीकृत हुन बाँकी छन्। आठ मध्ये श्रीनगर एग्रीकेटले बुधवार मात्रै शेयर बाँडफाँट गरेको हो। उसले सूचीकरणको लागि निवेदन दिइसकेको छैन। अरू सात कम्पनीको भने एकै पटक सूचीकरण हुने छ।
नेप्सेको सूचीकरण विभागले दिएको जानकारी अनुसार अहिले सात कम्पनी सूचीकरणको लाइनमा छन्। उनीहरूले धेरै अघि देखि नै निवेदन दिएका हुन्। तर सूचीकरणको लागि नेप्से प्रमुखको हस्ताक्षर आवश्यक पर्छ। प्रमुख नहुँदा सूचीकरण हुन सक्दैन। एक महिना यता नेप्से प्रमुख कार्यालय आएका थिएनन्। जसले गर्दा सूचीकरण हुन सकिरहेको थिएन।
तर बुधवार बिहान आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच छलफल भएको थियो। उक्त छलफल पछि आन्दोलनरत कर्मचारीहरूले आन्दोलनका कार्यक्रम स्थगित गर्नेमा सहमति जनाएका छन्। कर्मचारीहरूले आन्दोलन स्थगित गर्ने निर्णय गरेसँगै एक महिनादेखि अनुपस्थित रहेका नेप्से प्रमुख बुधवारदेखि नै काममा फर्किएका छन्। प्रमुख काममा फर्किएसँगै रोकिएका काम भटाभट गरिरहेका छन्। रोकिएका काममा सूचीकरण पनि छन्।
आउने दिनमा भदौ ८ गते आइपिओ बाँडफाँट भएको माबिलुङ इनर्जी, भदौ १२ गते आइपिओ बाँडफाँट गरेको स्वस्तिक लघुवित्त, भदौ ३० गते बाँडफाँट भएको बन्दीपुर केबलकार, असोज २ गते बाँडफाँट भएको बुंगल हाइड्रो, असोज ८ गते बाँडफाँट भएको झापा इनर्जी र असोज १२ गते बाँडफाँट भएको सागर डिस्टिलरीको शेयर एकै पटक सूचीकृत हुने छन्।

प्राथमिक निष्कासनसँगै हकप्रद र बोनस शेयर सूचीकरण पनि अवरुद्ध थियो। हकप्रद र बोनस शेयर सूचीकरणमा भने अझै समस्या हुन सक्ने देखिएको छ। किनकि हकप्रद र बोनस शेयर सूचीकरण गर्न नेपाल धितोपत्र बोर्डमा दर्ता हुनु पर्ने नियम छ। अहिले धितोपत्र बोर्डका कर्मचारी पनि आन्दोलनमा छन्। बोर्डका कर्मचारीले काम ठप्प पार्दै आइरहेका छन्। उनीहरूको आन्दोलन सकिएर काममा फर्किएपछि मात्रै दर्ताको काम हुन सक्ने देखिन्छ। जसले गर्दा बोनस र हकप्रद सूचीकरण समस्या हुन सक्ने देखिएको हो।
तर बुधवार नै धितोपत्र बोर्डका अध्यक्ष पनि प्रहरीको सहयोगमा कार्यालयमा हाजिर भएका छन्। जसले गर्दा धितोपत्र बोर्ड कर्मचारीको आन्दोलन पनि स्थगित हुन सक्ने सम्भावना देखिएको छ।