उनले कालोसूचीमा राखेकै कारण कतै कर्जा लिनेको संख्या बढ्न नसकेको हो की भनेर राष्ट्र बैंकले छलफल थालेको समेत बताए । गभर्नर अधिकारीले चेक बाउन्सलाई धेरै नै अपराधिकरण गर्न नहुने बताए ।
गभर्नर पौडेलले भने,– ‘ब्लाक लिस्टको ठूलो इस्यु भएको छ । अहिले डेढ लाख मान्छेहरु कालोसूचीमा पर्न थाले । चेक बाउन्सलाई नै हामीले अपराधिकरण गर्दियौं । चेक त मेरै कति वटा बाउन्स भएको थियो विद्यार्थीकालमा । कहिले काँही कति रुपैयाँ छ भनेर थाहै हुँदैन । चेक काटिन्छ । चेक बाउन्सलाई क्रिमिनलाइज गर्न कति जरुरत हो ? अरु देशमा के छ ? जरिवाना तिरेर हुने हो की ? हामी कति जनालाई क्रिमिनलाइज गर्ने हो ? यसमा छलफल हुन जरुरी छ । कुन लिमिटमा कसरी हेर्ने यसमा रिभ्यू हुनुपर्छ भनेर हामी छलफलमै छौं । यो देशमा १० लाख अन्टरप्रेनर होला डेढलाख मान्छेलाई कालोसूचीमा राखेपछि कर्जाको डिमान्ड नबढ्ने एउटा कारण हो की जस्तो देखिरहेको छ । यसमा हामीले केही महिना अघिदेखिनै हेरिरहेका छौं ।’
गभर्नर पौडेलले लोन लस प्रोभिजनको समस्यालाई सम्बोधन गर्ने प्रयास भइरहेको बताए । उनले बैंकहरुलाई नै अप्ठ्यारो पार्ने खालको नीति भए त्यसलाई रिभ्यु गरिने प्रतिवद्धता जाहेर गरे ।
गभर्नर पौडेलले भने–‘लोन लस प्रोभिजनको इस्यू अहिले आइरहेको छ । यसमा अहिले हामीले धेरै छलफल गरिरहेका छौं । बैंकहरुलाई धेरै कडा गरिरहेका छौँ की । यता पनि च्यापेर उताबाट पनि च्यापेर हामीले अप्ठ्यारोमा बनाएका छौँ की भनेर एकपटक रिभ्यु गरौँ भन्नेमा छौं हामी । अरु देशहरुमा भन्दा एकदम कडा नीतिहरु ल्याउनपर्यो भने त्यसको पछाडी कारण पनि हेरौँ । यता पनि कडा उता पनि कडा गर्दा नहोला ।’
गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई व्यवसायमा लगानी बढाउन समेत आग्रह गरे । उनले बैंक भनेको व्यवसाय नै रहेकाले बिजनेसमा इन्भेस्ट गर्नुपर्नेमा जोड दिए । उनकाअनुसार नयाँ उद्यमीहरु खोज्न अब चासो दिनुपर्छ । लगानीबिना आर्थिक समृद्धि हासिल नहुने भएकाले राष्ट्रिय अर्थतन्त्रलाई बल पुग्ने गरी लगानी बढाउनुपर्छ ।
देशको ग्रोथ नभई कसैको पनि उन्नति नहुने भन्दै पौडेलले इकोनोमी ग्रोथका लागि सबै लाग्नुपर्नेमा जोड दिए । पछिल्लो समय उदाइरहेको आईटी क्षेत्रमा लगानी गर्न समेत पौडेलले बैंकहरुलाई आग्रह गरे।
गभर्नर पौडेलले अरु देशमा रहेका नीतिहरुलाई समेत हेरर नेपाललाई अनुकुल हुने पोलिसीहरु ल्याउन राष्ट्र बैंक तयार रहेको बताए ।