विद्युत् प्राधिकरणले शेयर निष्कासन प्रस्ताव फेरि ऊर्जा मन्त्रालय पठायो, योजना कुलमान घिसिङकै, सदर गर्लान् ?

Nov 15, 2025 05:58 PM merolagani



सुवास निरौला

नेपाल विद्युत् प्राधिकरणको शेयर निष्कासन प्रक्रिया पुनः ब्युँतिएको छ। ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ आए सँगै प्राधिकरणको शेयर निष्कासन प्रक्रिया ब्युँताइएको हो।

पछिल्लो समय प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल आएका छन्। सिलवाल कार्यकारी निर्देशकमा आए पछि पुनः शेयर निष्कासन गर्ने प्रस्ताव ऊर्जा मन्त्रालय पठाइएको बताइएको छ। “हामीले फेरि प्राधिकरणको शेयर निष्कास गर्ने प्रस्ताव गरेका छौ,” सिलवालले मेरो लगानीसँग भने। शेयर निष्कासको प्रस्ताव ऊर्जा मन्त्रालय पठाइएको हो।

प्राधिकरणले कुल अधिकृत पूँजीको १० प्रतिशत शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ। अर्थ मन्त्रालयले प्रकाशित गरेको पहेँलो किताबमा भएको तथ्याङ्क अनुसार अहिले नेपाल विद्युत् प्राधिकरणको अधिकृत पूँजी तीन खर्ब रुपैयाँ छ।

त्यसको १० प्रतिशत भनेको ३० अर्ब रुपैयाँ हुन्छ। ३० अर्ब रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने योजना प्राधिकरणको हो। तर प्राधिकरणले उक्त शेयर प्रिमियम मूल्यमा बिक्री गर्ने प्रस्ताव गरेको छ। नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको प्रिमियम मूल्यको आधारमा निष्कासनको आकार तयार हुने छ। प्राधिकरणले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो।

यस अघि पनि प्राधिकरणमा कुलमान घिसिङ हुँदै उक्त प्रस्ताव गरिएको थियो। २०८० मङ्सिरमा नै अर्थको सहमति लिएर ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषद्‍मा पेस गर्ने तयारी गरेको थियो। तर विविध कारणले उक्त प्रस्ताव पारित हुन सकेको थिएन।

घिसिङले अघि सरेको योजनामा सरकार सहमत हुन सकेको थिए। अझै सरकारले घिसिङलाई नै प्राधिकरणबाट हटाउने योजनामा काम गर्न थालेपछि शेयर निष्कासन गर्ने विषय पनि थाती रहन गएको थियो। अझै प्राधिकरणबाट घिसिङलाई नै आउट गरेपछि शेयर निष्कासन गर्ने विषय नै तत्कालको लागि तुहिएको थियो। तर अहिले पुनः घिसिङ आफै स्वीकृति दिने ठाउँमा पुगेका छन्। जसले गर्दा प्राधिकरणले गरेको प्रस्ताव टुङ्गोमा पुर्‍याउने काममा घिसिङको सहयोग हुने अपेक्षा प्राधिकरणको छ।

सर्वसाधारणलाई शेयर निष्कासनका लागि महत्त्वपूर्ण मापदण्डका रूपमा रहेको प्राधिकरणको रेटिङ सम्पन्न भइसकेको छ। इक्रा नेपालले प्राधिकरणको रेटिङ गर्दै आइरहेको छ। उसले प्राधिकरणलाई ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गर्ने गरेको छ। प्राधिकरणले लगातार ‘डबल ए प्लस’ रेटिङ पाउँदै आएको छ। ‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्ने संस्थाको वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहेको बुझाउँछ। प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङ्कन समेत यस अघि नै भइसकेको छ।

तत्कालीन समयमा सरकारबाट स्वीकृति पाउनासाथ शेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने घिसिङको योजना थियो।  शेयर निष्कासनबाट सङ्कलन गरिएको रकमलाई ठूला जलविद्युत् आयोजनाको निर्माणमा लगानी गर्ने योजना घिसिङले बनाएका थिए।

घिसिङले विद्युत् उत्पादनतर्फका आयोजनाहरू निर्माण र बिजुली आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि आवश्यक ठूलो पूँजी संस्थाले कमाएको नाफा र शेयर निष्कासनबाट प्राप्त हुने रकमबाट पूरा गर्ने योजना रहेको बताउने गरेका थिए।

प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत् प्रसारण, वितरण र देशभित्र तथा बाहिरी देशसँग विद्युत् खरिद र बिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था हो।




एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।