नेप्सेले १३ समूहमा कम्पनीहरूलाई विभाजन मात्रै गरेको छैन,उसले ती समूहमा रहेका कम्पनीहरूको मूल्य उतार चढावलाई उपसूचक मार्फत समूहगत रुपमा देखाउने गरेको छ।
तर पछिल्लो समय सूचीकृत दुई कम्पनीलाई भने नेप्सेले अन्य समूहमा राखेको छ। जसले अन्य समूहको सूचकमा नै फरक पर्न थालेको विश्लेषण विज्ञहरूले गरिरहेका छन्। खासगरि पछिल्लो समय दोस्रो बजारमा सूचीकृत पियोर ‘इनर्जी’ र झापा ‘इनर्जी’लाई अन्य समूहमा राखेका कारण उक्त समूहको ‘वेटेज’ नै फरक पर्न थालेको बताइएको छ। ती दुई कम्पनी ‘इनर्जी’(ऊर्जा) सँग सम्बन्धित रहेकाले उनीहरूलाई जलविद्युत क्षेत्रमा समायोजन गर्नु पर्ने वा ‘इनर्जी’ सेक्टर भनेर छुट्टै ‘इन्डेक्स’ बनाउनु पर्ने विज्ञहरूको भनाइ छ। किनकि ऊर्जा क्षेत्रसँग सम्बन्धित अरू पनि कम्पनी पाइपलाईनमा रहेकाले आउने दिनमा थप कम्पनीहरू बढ्ने भएकोले त्यसको लागि ऊर्जाको छुट्टै ‘इन्डेक्स’ बनाउन सकिने वा जलविद्युत कम्पनीहरूले पनि ऊर्जा नै उत्पादन गर्ने भएकोले ऊर्जा सँग सम्बन्धित सबै कम्पनीहरूलाई एकै डालोमा राखेर जलविद्युतको सट्टा ऊर्जा नै नामकरण गर्नु पर्ने विज्ञको राय हो।
“अहिले आएका ‘इनर्जी’ कम्पनीहरूलाई ‘अदर्श’मा राखिएको छ। जसले ‘अदर्श’ ‘इन्डेक्स’लाई नै फरक पार्न थालेका छन्। त्यसले गर्दा कि त तिनीहरूको लागि ‘इनर्जी इन्डेक्स’ भनेर छुट्टै बनाउँदा राम्रो हुन्छ। अन्यथा ऊर्जासँग सम्बन्धित भएकाले ‘हाइड्रो’को नाम परिवर्तन गरेर ‘इनर्जी’ गर्नु पर्छ ” शेयर बजारका विज्ञ तथा सन सेक्युरिटीजका सञ्चालक कृष्ण गिरीले मेरो लगानीसँग भने।

गिरीका अनुसार अहिले नेपालमा नवीकरणीय ऊर्जा अन्तर्गत रहेर जलविद्युत र सौर्य ऊर्जा कम्पनीहरू नेप्सेमा सूचीकृत हुन आएका छन्। जलविद्युत कम्पनीहरू यस अघि नै नेप्सेमा थिए भने अहिले सौर्य ऊर्जा सँग सम्बन्धित दुई कम्पनी सूचीकृत हुन आएका छन्। जुन पियोर र झापा ‘इनर्जी’ हुन्। आउने दिनमा आउने दिनमा हावाबाट ऊर्जा उत्पादन गर्ने, जियो थर्मल, बायो ‘इनर्जी’, कोल ‘इनर्जी’ जस्ता कम्पनीहरू पनि थपिन सक्छन्। यिनीहरू सबैले उत्पादन गर्ने भनेको ‘इनर्जी’ नै हो। त्यसकारण ऊर्जा उत्पादन गर्ने सबैलाई एउटै डालोमा राख्ने वा छुट्टा छट्टै बनाउने निर्णय नेप्सेले गर्नु पर्छ। त्यसले लगानीकर्तालाई समूहगत रुपमा अध्ययन गर्न सजिलो पार्ने छ।
यस अघि तत्कालीन नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बिमा कम्पनीहरूको एउटै ‘इन्डेक्स’ भएको भन्दै त्यसलाई छुट्टाएर जीवन र निर्जीवन बिमा कम्पनीहरूको छुट्टा छुट्टै उपसूचक बनाउने निर्णय गरेका थिए। जुन अहिले पनि कार्यान्वयनमा छ।
त्यसैगरि दोस्रो बजारमा अहिले बिमा समूहमा माइक्रो इन्स्योरेन्स आएका छन्। माइक्रो इन्स्योरेन्सको समेत छुट्टै सूचक आवश्यक भइसकेको लगानीकर्ताहरूको भनाइ छ। किनकि पछिल्लो समय माइक्रो इन्स्योरेन्स सूचीकृत हुने क्रम बढ्दो छ। जसले गर्दा उनीहरूलाई बिमाकै डालोमा राख्दा लगानीकर्ताले माइक्रो इन्स्योरेन्सको मात्रै मिहिन अध्ययन गर्न सक्दैनन्। त्यसले गर्दा पनि माइक्रो इन्स्योरेन्सको पनि छुट्टै इन्डेक्सको आवश्यकता महसुस गरिएको हो।
लगानी गर्दा केवल नेप्सेको कुल सूचक हेर्नुको सट्टा उपसूचकहरूलाई हेरेर निर्णय गर्नु राम्रो हुन्छ। किनकि नेप्सेले समग्र सूचीकृत कम्पनीहरूको मूल्य गतिविधि बृहत् रुपमा देखाउछ। तर उपसूचकले भने ती समूहका कम्पनीहरूको गतिविधि मात्रै देखाउने भएकोले मजबुत लगानी रणनीति बनाउन उपसूचकले मद्दत गर्छ।
समग्रमा, उपसूचकहरू बजारको संरचनागत स्वास्थ्य र विविधतालाई मापन गर्ने अत्यन्त उपयोगी उपकरण हुन्। तिनीहरूले केवल समग्र बजारको “ताल” देखाउने होइनन्, तर विभिन्न उद्योगहरूको अलग अलग धड्कन पनि देखाउँछन्, जसले लगानीकर्तालाई उचित निर्णय लिन र जोखिम व्यवस्थापन गर्न मद्दत गर्दछ।