बैंकहरुले बेस रेटमै कर्जा दिन थालेपछि बढ्याे लघुवित्तको नाफा, कुन लघुवित्तको अवस्था कस्तो ?

Nov 20, 2025 05:43 PM Merolagani



चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीहरुको नाफामा आकर्षक वृद्धि भएको छ। एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुको खुद नाफा २८५ दशमलव ४० प्रतिशतले बढेको छ । एक वर्षको अवधिमा एक्कासी नाफामा उछाल आउनुको कारण बैंकहरुको घट्दो ब्याजदर रहेको नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष बसन्त लम्सालले बताए ।

विशेषत बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) हरेक महिना घटिरहेको छ । सोही घट्दो दरमै लघुवित्तले समेत ऋण पाइरहेको हुँदा सस्तो दरमा ऋण पाएपछि सोही ऋण लघुवित्तका ऋणीलाई थोरै मार्जिनमा दिँदा पनि नाफा बढेको उनले बताए । लघुवित्तको नाफाका बढेको देखिएपछि ऋण पुनतालिकीकरण तथा पुनर्संरचनाका कारण लघुवित्तको खराब कर्जामा समेत वृद्धि देखिएको छ । ‘लघुवित्तका ऋणीहरुमध्ये केहीले कर्जाको ऋणको साँवा नै घटाउने त केहीले ब्याज मात्रै घटाउने गरेका छन् तर पनि एकदमै सहज अवस्था भने अझै छैन ।’–उनले भने।

पछिल्लो समय बैंकहरुको औसत आधारदर ५.७२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाहरुको औसत आधार दर ९–१० प्रतिशत थियो । साधारणतया बैंकहरुले बेस रेटमा २ प्रतिशत प्रिमियम थपेर लघुवित्तलाई विपन्न कर्जा उपलब्ध गराउँछन तर अहिले रेमिट्यान्सको लगातारको वृद्धिसँगै निक्षेप बढ्दै जानु र निक्षेप बढे अनुसार ऋण नबढेपछि बैंकहरु तनाबमा छन् । बैंकहरुले लघुवित्तलाई आफ्नो बेस रेटमै विपन्न वर्ग कर्जा दिन थालेको नेपाल लघुवित्त बैकर्स संघका उपाध्यक्ष एवम् मेरो माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले बताए। ‘कतिपय बैंकहरुले अहिले लघुवित्तलाई बेस रेटमै ऋण दिन थालेका छन् । कुनै बैंकले भने शून्य दशमलब २५ देखि शुन्य दशमलब ५ प्रतिशतसम्म प्रिमियम दिएर ऋण दिन थालेको छ । पछिल्लो समय लघुवित्त ऋणीले केही मात्रामा ब्याजकाे रकम समेत भुक्तानी गर्न थालेका छन् । त्यसले पनि लघुवित्तको नाफामा केही वृद्धि भएको हो ।’–उनले भने।

चुक्ता पूँजीमा कुन लघुवित्त अघि ?

साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त मर्जर भएर बनेको साना किसान विकास लघुवित्त नै अहिले सबैभन्दा धेरै चुक्ता पुँजी भएको लघुवित्त कम्पनी हो । यो होलसेल लघुवित्तको चुक्ता पुँजी ४ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । त्यस्तै दोस्रोमा छिमेक लघुवित्त ३ अर्ब २१ करोड, निर्धन उत्थान लघुवित्त २ अर्ब ६१ करोड, डिप्रोक्स लघुवित्त १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ।

त्यस्तै एनआईसी एसिया लघुवित्तको चुक्तापूँजी १ अर्ब ७३ करोड, स्वावलम्बन लघुवित्तको १ अर्ब ६५ करोड, जीवन विकास लघुवित्तको १ अर्ब ५३ करोड, मेरो माइक्रोफाइनानसको १ अर्ब ४१ करोड, नेरुडे मिर्मिरे लघुवित्तको १ अर्ब ३९ करोड, फष्ट माइक्रोफाइनान्स लघुवित्तको १ अर्ब ३४ करोड, नेसनल लघुवित्तको १ अर्ब ३३ करोड, फर्वार्ड माइक्रोफाइनानसको १ अर्ब १९ करोड, सुर्योदय वोमी लघुवित्तका १ अर्ब १० करोड र आरएसडीसी लघुवित्तको १ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।

लघुवित्तहरु मध्ये १ अर्ब चुक्ता भन्दा बढी चुक्ता पूँजी पुर्याउनको लघुवित्तको संख्या १४ वटा रहेको छ । हालै नेप्सेमा सूचीकृत स्वस्तिक लघुवित्तको चुक्ता पूँजी ५ करोड ७७ लाख रुपैयाँ छ भने आत्मनिर्भर लघुवित्तको ७ करोड ८३ लाख रुपैयाँ र विन नेपाल लघुवित्तको ८ करोड ४३ लाख रुपैयाँ छ । शेयर बजारका लगानीकर्ताले न्यून चुक्ता पूँजी भएका लघुवित्तलाई उच्च मूल्य तिर्न समेत राजी भएको देख्न सकिन्छ।

रिजर्भमा पनि साना किसान नै अगाडि

हरेक वर्ष लगानीकर्ता १० देखि २५ प्रतिशतसम्म लाभांश दिँदै आएको साना किसान विकास लघुवित्त नै सबैभन्दा धेरै रिजर्भ धेरै भएको लघुवित्तको रुपमा देखा परेको छ । कम्पनीको रिजर्भ चुक्ता पूँजी भन्दा बढी छ । ४ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ६ अर्ब २२ करोड रुपैयाँ रिजर्भ रहेको छ ।

साना किसानसँगै छिमेक, निर्धन उत्थान, जीवन विकास, डिप्रोक्स, स्वावलम्बन, नेसनल, फर्वार्ड माइक्रोफाइनान्स, ग्रामीण विकास लघुवित्त र नेरुडे मिर्मिरे गरी कुल १० वटा लघुवित्तको रिजर्भ चुक्ता पुँजी भन्दा बढी रहेको छ । चालु आवको पहिलो त्रैमासमा हालै नेप्सेमा सूचीकृत स्वस्तिक लघुवित्त बाहेक सबैको रिजर्भ सकारात्मक रहेको छ । वित्तीय विवरण सार्वजनिक गरेका ५० वटा लघुवित्तमध्ये ४२ वटा कम्पनीको रिजर्भ गत वर्षको असोज महिनाको तुलनामा बढेको छ भने ८ वटा कम्पनीको रिजर्भ भने गत वर्षको पहिलो त्रैमासको तुलनामा घटेको छ । सबैभन्दा धेरै प्रतिशतले रिजर्भ बढाउनेमा वीन नेपाल लघुवित्त रहेको छ भने सबैभन्दा धेरै रिजर्भ घटाउने लघुवित्तमा नेस्डो समृद्धि लघुवित्त रहेको छ ।

खुद मुनाफा, ब्याज आम्दानी र वितरणयोग्य नाफामा छिमेक अगाडि

चालु आवको पहिलो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेका ५० वटा लघुवित्तमध्ये खुद म्नाफा, ख्द ब्याज आम्दानी र वितरणयोग्य आम्दानी तीन वटै शीर्षकमा छिमेक लघुवित्त अगाडि रहेको छ । छिमेकले चालु आवको पहिलो त्रैमासमा २६ करोड ९० लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । खुद ब्याज आम्दानी मात्रै ८५ करोड ५१ लाख रहेकोमा वितरयोग्य मुनाफा गत आवको सोही अवधिको तुलनामा २०.२८ प्रतिशलते बढेर २ अर्ब २८ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै खुद मुनाफा कमाउने लघुवित्त दोस्रो स्थानमा साना किसान विकास लघुवित्त परेको छ । कम्पनीले २२ करोड ८४ लाख खुद मुनाफा कमाउँदा ३४ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी र झन्डै २ अर्ब रुपैयाँ वितरणयोग्य मुनाफा गरेको छ ।

जीवन विकास, नेसनल लघुवित्त, निर्धन उत्थान, ग्रामीण विकास, सुर्योदय वोमी, ग्लोबल आईएमई र स्वावलम्बन लघुवित्त धेरै खुद मुनाफा कमाउने लघुवित्तमा अगाडि देखिएका छन् । चालु आवको पहिलो त्रैमासमा उच्च खुद मुनाफा गर्ने यी १० कम्पनी मध्ये निर्धन उत्थान र सुर्योदय वोमी गत वर्षको सोही त्रैमासमा घाटामा थिए । शीर्ष १० उच्च नाफा कमाउने लघुवित्तमध्ये साना किसान विकास र निर्धन उत्थानको खुद व्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा घटेको छ भने ग्रामीण विकास लघुवित्तको वितरण योग्य नाफा अझै ऋणात्मक रहेको छ ।

खुद मुनाफासँगै बढ्यो लघुवित्तको खराब कर्जा

चालु आवको पहिलो त्रैमासमा लघुवित्तको खुद मुनाफासँगै खराब कर्जा पनि बढेको छ । खुद मुनाफा बढ्नुमा बेस रेटमै बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउनुलाई प्रमुख कारण मानेका छन् लघु्वित्तकर्मीहरुले । नेपाल लघुवित्त बैकर्स संघका पूर्वअध्यक्ष बसन्त लम्साल नाफा बढे पनि लघुवित्तमा समस्या अझै नै विद्यमान रहेको र अझै पनि ऋणीले सहजै ऋण तिर्न सक्ने अवस्था नरहेको बताए । ‘ऋण पुनर्तालिकीकरणले गर्दा खराब कर्जा अझै बढेको छ ।’–लम्सालले भने । केही लघुवित्तले ऋणीलाई ब्याज तिराइरहेका छन् भने कुनै लघुवित्तले ब्याज होल्ड गराएर ऋणको साँवा नै घटाइरहेको समेत उनले बताए ।

तथ्यांक अनुसार चालु आवको पहिलो त्रैमासमा लघुवित्तको खराब कर्जा अघिल्लो आवको सोही अवधिको तुलनामा झन्डै २० प्रतिशतले बढेको छ । तथ्यांक अनुसार २१ लघुवित्तले खराब कर्जा गत आवको सोही अवधिको तुलनामा घटाएका छन् भने बाँकी २९ वटाले भने गत आवको प्रथम त्रैमासको तुलनामा खराब कर्जा बढाएका छन् । सबैभन्दा धेरै खराब कर्जा घटाउनेमा एनएमबी माइक्रोफाइनानस परेको छ । कम्पनीले गत वर्ष ६.३७ प्रतिशत रहेको खराब कर्जालाई घटाएर ४.६३ प्रतिशतमा ल्याएका छन् भने सबैभन्दा धेरै खराब कर्जा बढाउनेमा भने उपकार लघुवित्त परेको छ ।

कम्पनीले गत वर्ष १.२५ प्रतिशत रहेको खराब कर्जा बढाएर ५.४५ प्रतिशत पुर्याउका छन् । चालु आवको प्रथम त्रैमासमा ५० वटा लघुवित्त कम्पनीहरुको औसत खराब कर्जा ८.३५ प्रतिशत पुगेकाे छ जबकि गत आवको पहिलो त्रैमासमा ६.९६ प्रतिशत थियो ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै खराब कर्जा नेस्डो समृद्धि लघुवित्तको २०.९४ प्रतिशत सार्वजनिक भएको छ भने सबैभन्दा कम खराब कर्जा भने सपोर्ट माइक्रोफाइनानसको १.६३ प्रतिशत मात्रै रहेको छ ।

नेटवर्थ बलियो आत्मनिर्भर लघुवित्त

सार्वजनिक वित्तीय विवरणका आधारमा नेटवर्थमा सबैभन्दा बलियो लघुवित आत्मनिर्भर लघुवित्त देखिएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म नेटवर्थ ४ सय ५ रुपैयाँ ३१ पैसा पुर्याएकाे छ । सबैभन्दा न्यून नेटवर्थ भने सामुदायिक लघुवित्तको १ सय २२ रुपैयाँ ६ पैसा मात्रै रहेको छ ।

आत्नर्भिरपछि जीवन विकास, ग्रामीण विकास, नेष्डो समृद्धि, युनिक नेपाल, फर्वार्ड माइक्रोफाइनानस, छिमेक लघुवित्त, सीवाइसी नेपाल, नेसनल , महिला, साना किसान विकास, सिर्जनशील, उपकार, स्वालम्बन, महुली, निर्धन उत्थान, डिप्रोक्स, ग्लोबल आईएमई, नेरुडे मिर्मिरे र मिथिला लघुवित्तको नेटवर्थ भने २ सय माथि रहेका छन । बाँकी लघुवित्तको नेटवर्थ १ सयदेखि २ सय बीचमा रहेको छ ।

प्रति शेयर आम्दानी र वितरणयोग्य प्रति शेयर आम्दानीमा कुन अगाडि ?

चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानीमा सबैभन्दा माथि मिथिला लघुवित्त देखा परेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ६०.०९ रुपैयाँ प्रति शेयर आम्दानी गरेका छन् भने त्यसपछि क्रमशः आत्मनिर्भरले ५८.५३ रुपैयाँ, सर्पोटले ५२.९२ रुपैयाँ, युनिक नेपालले ५०.०७ रुपैयाँ आम्दानी गरेका छन् । मेरो, मातृभुमि, सीवाइसी नेपाल र सिर्जनशीलको प्रति शेयर आम्दानी भने ऋणात्मक देखिएको छ ।

वितरणयोग्य प्रति शेयर आम्दानी धेरै भएको लघुवित्तमा भने छिमेक लघुवित्त देखा परेको छ । कम्पनीको प्रति शेयर वितरयोग्य आम्दानी ७१ रुपैयाँ १२ पैसा छ । त्यसलाई पछ्याउँदै दोस्रो नम्बरमा जीवन विकास लघुवित्त, सानाकिसान र युनिक नेपाल लघुवित्त अगाडि आएको छ । वितरणयोग्य प्रति शेयर आम्दानी ऋणात्मक हुने कम्पनी भने १० वटा देखा परेको छ । अभियान, सीवाइसी नेपाल, ग्रामीण विकास, मातृभुमि, सिर्जन, नाडेप मानुषी, विन नेपाल, एनआईसी एसिया र सामुदायिक लघुवित्तको वितरणयोग्य प्रति शेयर आम्दानी ऋणात्मक देखिएको छ ।