यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेर बन्द भएको थियो।
यस साता फ्लोट इण्डेक्स ०.३९ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि सामान्य बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ७ करोड ९० लाख रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ८ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ०.०८ प्रतिशत मात्र बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३.९८ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ७.६१ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण सामान्य बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ७३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २५ अर्ब रुपैयाँ बढेर ४२ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।

यस साता ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। एक उपसमूहको परिसूचक भने यस साता स्थिर रहेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.८९ प्रतिशत बढेको छ। गत साता ६३२१.६९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३०९.४३ अंक बढेर ६६३१.१२ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो।
कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता ०.८२ प्रतिशत घटेको छ। गत साता २२६३.१९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १८.६६ अंक घटेर २२४४.५३ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६७.०३ अंक घटेको छ।

यस साता बन्दीपुर केबलकार एण्ड टुरिजम र सागर डिष्टिलरीको शेयरमूल्य सर्वाधिक ६१ प्रतिशत बढेको छ। गत साता ३७९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको बन्दीपुर केबलकारको शेयर यस साता ६१० रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, गत साता ५१४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको सागर डिष्टिलरीको शेयर यस साता ८२८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस साता बुङ्गल हाइड्रोको शेयरमूल्य ३३ प्रतिशतभन्दा बढी बढेको छ भने हिमस्टार उर्जाको शेयरमूल्य करिब साढे ३१ प्रतिशत बढेको छ। यस साता भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक २०.८० प्रतिशत घटेको छ। त्यस्तै, यस साता पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब ११ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता बन्दीपुर केबलकार एण्ड टुरिजम, सागर डिष्टिलरी, जीवन विकास लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, ओरियन्टल होटल, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

