नेपालका खेलाडीहरु बाहेक पनि १५ देशका साढे ३ दर्जन खेलाडीहरु सहभागि रहेको यो प्रतियोगितालाई विश्वभरका क्रिकेटप्रेमीहरुले उच्च महत्व दिएका छन् ।

तर, अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एनपीएललाई अझै बेवास्ता गरेको पाइएको छ । स्रोतका अनुसार यसपटक एनपीएलको उदघाटन समारोहको लागि आईसीसीका अध्यक्ष जय साहसहितका पदाधिकारीहरुलाई अनुरोध गरिएको थियो ।
उद्घाटनमा आउन नभ्याए समापन समारोहमा भए पनि आउनको लागि निमन्त्रणा गरिएकोमा आईसीसीले कुनै ‘रेस्पोन्स’ नै गरेको छैन । त्यहीकारण नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरु नै एनपीएलको उद्घाटन समारोहमा नआएका उनीहरु समापनको समयमा आउनेमा आशावादी छैनन् । ‘हामीले यसपटक आईसीसी अध्यक्ष वा कोही जिम्मेवार पदाधिकारीलाई जसरी पनि उपस्थित गराउने प्रयास गरेका थियौं, उहाँहरु आएको भए एनपीएलको महत्व अझै बढ्ने थियो, तर उहाँहरुले वास्तै गर्नु भएन’ क्यानसँग सम्वद्ध एक अधिकारीले मेरो लगानीसँग भने ।
स्मरणीय छ, दुई वर्ष अगाडि आईसीसीका तत्कालिन अध्यक्ष ग्रेग बार्क नेपाल भ्रमण गरेका थिए । चार दिने नेपाल भ्रमाणको क्रममा उनले सरकार तथा क्यानका उच्च अधिकारीहरुसँग भेटघाट गरेका थिए ।
त्यसयताको अवधिमा नेपालको क्रिकेटले अन्तराष्ट्रिय क्षेत्रमा थप लोकप्रियता कमाएको छ । गत वर्ष आयोजित एनपीएलको पहिलो संस्करणले नै विश्व क्रिकेटमा निकै ठूलो चर्चा पाएको थियो । तर पनि एनपीएलप्रति आईसीसीका पदाधिकारीहरुले वेवास्ता गर्नु निकै ठूलो कुरा भएको सरोकारवालाहरु बताउँछन् । उनीहरुका अनुसार ‘म्याच फिक्सिङ’ र ‘बेटिङ’जस्तो विषयमा आईसीसी निकै गम्भिर रहने गर्छ । कुनै पनि प्रतियोगिताहरुमा त्यस्तो विषयले चर्चा पाएपछि त्यसलाई आईसीसीले गम्भिरतापूर्वक लिँदै आयोजकहरुको नियतमाथि प्रश्न उठाउने गर्छ ।
गत वर्षको एनपियल प्रतियोगिताको क्रममा खासगरि ‘बेटिङ’को विषयले चर्चा पाएको र त्यसलाई प्रभावकारीरुपमा रोक्न नसकेको कुरा उठेपछि आईसीसी गम्भिर देखिएको थियो । ‘म्याच फिक्सिङ’को कुरा अहिलेसम्म नेपालमा विवादको विषय बनेको छैन । तर ‘बेटिङ’को विषय गत वर्ष नै निकै चर्चामा आएको थियो । त्यहीकारण यसकारण क्यानले पनि क्लव र खेलाडीहरुलाई धेरै पहिलेदेखि खबरदारी गरिरहेको थियो । शायद त्यसैको कारण यसपटक ‘म्याच फिक्सिङ’मा संलग्न हुन खोजेको आरोपमा एकजना नेपाली युवती र भारतीय युवकलाई प्रतियोगिता शुरु भएको दुई दिन पछि नै पक्राउ गरेको छ । अहिले क्यान र प्रही प्रशासन निकै देखिएको छ ।
स्रोतका अनुसार क्यानमा हुने गरेको भ्रष्टाचारको विषयलाई आईसीसीले चासोका साथ लिइरहेको छ । गत वर्षको एनपीएल आयोजनाको दौरानमा करोडौं रकम भ्रष्टाचार गरिएको भन्दै संचार माध्यममा पटक पटक समाचार आइरहेको र त्यसमा क्यानका सचिव पारस खड्का स्वंय मुछिएको घटनाबाट पनि आईसीसी पदाधिकारीहरु झस्केको आशंका गरिएको छ । त्यहीकारण उनीहरु एनपीएलका कुनै पनि प्रतियोगिता र अन्य कार्यक्रमहरुमा सहभागिता देखाउन डराइरहेको हुन सक्ने बताइन्छ ।
स्मरणीय के छ भने एनपीएल वा कुनै पनि देशको आन्तरिक क्रिकेट प्रतियोगिताहरुको लागि आईसीसीले मान्यता दिनु पर्दैन । आईसीसीले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा ती देशको अवस्थालाई मात्रै मान्यता दिने गर्छ । तर, एनपीएलजस्ता कुनै पनि देशका आन्तरिक ‘फ्रेन्चाइज’ क्रिकेट प्रतियोगिताहरुमा आईसीसी पदाधिकारीहरुको उपस्थिति र उनीहरुको साथ सहयोगले देशको क्रिकेटलाई उनीहरुले हेर्ने दृष्टिकोण र गर्ने सहयोगमा असर पार्न सक्छ । त्यहीकारण यसपटकको एनपीएल प्रतियोगितामा आईसीसीका पदाधिकारीलाई उपस्थित गराउने प्रयास क्यानले गरेको थियो । तर, क्यानकै पदाधिकारीको पारदर्शिता, भूमिका र भ्रष्टाचारलगायतका विवादहरुका कारण त्यो अवसर गुमेको क्यानकै कतिपय पदाधिकारीहरु बताइरहेका छन् ।