'शेयर बजारको सिद्धान्त नै सबै निरास भएको समयमा बजारमा प्रवेश गर्ने हो'

Nov 22, 2025 11:17 AM Merolagani



पछिल्लो समय शेयर बजार बढ्न सकेको छैन। बजार बढ्न पर्याप्त कारणहरू हुँदाहुँदै पनि बढ्न नसकेको लगानीकर्ताहरूको तर्क छ, जसको प्रमुख कारण राजनीतिक प्रभाव रहेको बताइन्छ।

बजार बढ्नका लागि धेरै पक्षहरूको अनुकूलता आवश्यक हुन्छ। वर्तमान अवस्थामा आधारभूत रूपमा सबै कुरा ठीकै देखिन्छ। बैंकको ब्याजदर सस्तो छ र बैंकहरूले आधार दरमै शेयर कर्जा वितरण गरिरहेका छन्। सरकारले सुधारलाई प्राथमिकतामा राखेको छ। तर पनि बजार बढ्न सकेको छैन।

पछिल्लो राजनीतिक गतिबिधिका कारण लगानीकर्ताको मनोविज्ञान कमजोर भएको छ। लगानीकर्ताहरू केही समयका लागि ‘पर्ख र हेर’को अवस्थामा रहेको शेयर बजारका जानकार देब गुरागाँईले बताएका छन्। तीनै गुरागाँईसँग सुधा देवकोटाले गरेको कुराकानीः

केही महिना पहिले शेयर बजारले सकारात्मक गति लिन थालेको थियो। छिट्टै नयाँ उचाइ बनाउने सबैलाई लागेको थियो। तर त्यो सकारात्मक माहोल कसरी बिग्रियो?

हो तपाईले भन्नु भएको ठिक हो । शेयर बजारमा राम्रो माहोल सुरु हुदै थियो । बजारले छिट्टै नयाँ उचाई बनाउन लगेको थियो । नेप्से बढ्ने मलाई पनि लागेको थियो । समय फरक रह्यो । बीचमा राजनीतिक घटनाक्रम परिवर्तन भयो । जेनजीको आन्दोलनपछि आम लगानीकर्ताले असुरक्षा महशुस गरेका छन । जसले गर्दा बजार घटेको छ । बजारको स्वरुप हेर्दा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । नेप्से परिसूचक र दैनिक भएको कारोबार रकमलाई हेर्दा पनि तत्काल लगानी बढाउन नचाहेका जस्तो देखिएको छ ।

बजारको एउटा चक्र हुन्छ । विगतमा आर्थिक वर्ष २०८२/८३ शेयर बजारका लागि सकारात्मक बर्षको रुपमा लिइएको थियो । बीचको घटनाक्रमले बजारको नियमित बढाइमा ब्रेक लागेको हो । पछिल्लो राजनीतिक परिस्थितिले कति बेलासम्म हिट गर्नेछ भन्ने कुरा तत्काल आँकलन गर्न सकिएको छैन । यहाँ सबै कुरा द्विविधापूर्ण अवस्थामा नै छ । राजनीतिक रूपले समाधान भएपछि लगानीको मनोबल बढ्ने छ ।

अहिले मुलुकमा नागरिक सरकार छ र चुनावकाे तयारी भइरहेको छ। सरकारले बजारलाई सकारात्मक देखाएको अवस्थामा लगानीकर्ताले किन डराउनु पर्ने?

राजनीतिक घटनाक्रम कस्तो हुने हो थाहा नभएकोले अन्योलता र डर स्वाभाविक हो। अहिले लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा छन्। डराएर भाग्नु पर्ने अवस्था छैन। सरकारले सुधारका कदम चालिरहेको छ र बजारलाई सहज बनाउन प्रयासरत छ। तर पनि मनोविज्ञान कमजोर छ।

यद्यपि विगतका कसिला नीतिहरु खुकुलो भएका छन् । त्यसलाई लगानीकर्ताहरुले पनि स्वागत गरेका छौं । तर पनि लगानीकर्ताको मनोविज्ञान बढ्न सकेको छैन । शेयर बजारमा लगानीका लागि लगानीकर्ताको मनोविज्ञान नै सबै भन्दा महत्वपूर्ण हो । मनोविज्ञानले नै बजारको दिशा निर्धारण गरेको हुन्छ । मुलुकमा भएका घटनाक्रम समाधान भएपछि लगानीकर्ता  लगानी गर्न पर्खेका छन् ।

सरकार नेप्से पुनर्संरचनाका लागि एक कदम अगाडि बढेको छ । बैंकहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउन थालेका छन् । बजारका आधारभूत सबै पक्ष बलिया र अनुकुल छन् । तरपनि बजारसँग सरोकार नराख्ने कुराले मनोविज्ञान किन कमजोर बनाउँछ ?

शेयर बजारका लागि वित्तीय अवस्था सकारात्मक छ । बजारका लागि अप्ठ्यारा नीतिहरु सहज बनाउन सरकार प्रतिवद्ध छ । अहिले सरकारले नेप्से पुनर्संरचनाको समिति बनाएर काम अगाडि बढाएको छ । नेप्से पुनर्संरचना भए बजारको विकास हुने छ । हाम्राे बजार एकतर्फी छ । हामीले अन्य औजारहरु कारोबारमा ल्याउन कठिनाई व्यर्होनु परेको छ । नेप्से पुनर्संरचनापछि ती कुराहरु हुनेछन् । 

बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून विन्दुमा झरेको छ । यो अहिलेसम्मकै तल्लो विन्दु हो । तरलता पर्याप्त छ । तर यहाँ समस्या लगानीकर्ताले राज्य र अहिलेको सिस्टमलाई विश्वास नगरेको देखिन्छ । अहिले लगानीकर्ता प्रतिफल आउने हो वा होइन । बजारमा गरिएको लगानी नै नोक्सानीमा जाने हाे कि भनेर असुरक्षा महशुस गरेका हुन् । कमाउने लोभ भन्दा भएको पनि गुमाउने डरले लगानीकर्ताको मनोभावना विगारेको जस्तो देखिन्छ ।

 कम्पनीहरूले लाभांश घोषणा गरेकै दिन शेयर मूल्य घट्ने गरेको छ। यसको कारण के हो? 

यस्तो प्रवृत्ति कसैलाई हितदायी छैन । शेयर बजारमा नकारात्मकता हुनु कसैको लागि राम्रो होइन । यसले समग्र अर्थतन्त्रलाई नै असर पारेको हुन्छ । बजार घट्दा राज्यले प्राप्त गर्ने राजश्व घट्छ । लगानीको वातावरण झनै बिग्रन्छ । तर बजारमा प्रवेश गर्न अवसर पर्खेर बस्नेहरुका लागि यो समय राम्रो अवसर पनि हुन सक्छ ।

शेयर बजारमा शेयरको सप्लाई धेरै भएको कारण प्रभावित भयो भन्ने गरेको पनि सुनिन्छ । के यो सत्य हो ?

मेरो बिचारमा दोस्रो बजारमा धेरै र राम्रा कम्पनी आउनु पर्छ । धेरै कम्पनीहरु बजार भन्दा बाहिर छन । रियल सेक्टरका धेरै कम्पनीहरु बजारमा प्रवेश भएका छैनन् । अहिले बजारमा आएका कम्पनीहरुलाई कमजोर भनेर मूल्यांकन गरिएको हुन्छ । त्यसको रेटिङ पनि हेरेका हुन्छौं । त्यस्ता कम्पनीलाई नियामकले नियन्त्रण गर्नैपर्छ । साथै राम्रा कम्पनीलाई बजारमा ल्याउने जिम्मेवारी पनि नियामक निकायको नै हो । अहिलेको बजारमा कम्पनीको संख्या र शेयर धेरै भयो भनेर गुनासो गर्नु पर्ने अवस्था छैन ।

बजारमा आउने सप्लाई अनुसारको माग कसरी बढाउन सकिन्छ ?

बजारमा आउने सप्लाई धान्न सक्ने भनेको संस्थागत लगानीकर्ताहरु नै हुन । हामी कहाँ संस्थागत लगानीकर्ताको उपस्थिति कम छ । अब बजारमा आउन चाहाने संस्थागत लगानीकर्ताले सर्वसाधारणबाट आएको सप्लाईलाई खान सक्नुपर्छ ।

संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ । कारोबार गर्ने सम्बन्धमा भएका सर्तहरु खुकुलो बनाउनु पर्छ । नेपालका ठूलो पैसा लगानी गर्ने संस्थागत लगानीकर्ता भनेको बैंक तथा वित्तीय संस्थाहरु नै हुन् । उनीहरुलाई नेपाल राष्ट्र बैंक र संस्थागत नीतिहरुले रोकेको हुन्छ । त्यसलाई अझै खुकुलो बनाउनुपर्छ । बजारमा लगानीको वातावरण बनाउनु पर्छ ।

संस्थागत लगानीकर्ताले ब्यक्तिगत लगानीकर्ताले जस्तो मनोभावना भन्दा तथ्यंकमा आधारित भएर कारोबारको रणनीति बनाएका हुन्छन् । तर अहिलेको यो अवस्थामा संस्थागत लगानीकर्ताले लगानी बढाउन किन सकेका छैनन ?

हो, तथ्यगत रुपमा विश्लेषण गर्दा संस्थागत लगानीकर्ताको लागि सबै भन्दा राम्रो अवसर हो । शेयर बजारको सिद्धान्त नै सबै निरास भएको समयमा बजारमा प्रवेश गर्ने हो । अहिलेको बजारमा सबै डराएका छन् । तर आधारभूत तथ्याङ्कले साथ दिएको छ ।

 

संस्थगत लगानीकर्ताहरु पनि सर्वसाधारण जस्तै डराएको अवस्था हो । केही संस्थागत लगानीकर्ताले अल्पकालीन लगानीलाई जोड दिएका छन् । संस्थागत लगानीकर्तासँग ठूलो पूँजी हुन्छ । उनीहरुसँग बजार विश्लेषण गर्न सक्ने जनशक्ति हुन्छ । वास्तवमा संस्थागत लगानीकर्ताको कारोबारबाट नै सर्वसाधारण लगानीकर्ताको धारणा बनेको हुन्छ । अहिलेको अवस्थालाई पहिचान गर्ने हो भने संस्थागत लगानीकर्ताको लागि राम्रो अवसर हो ।

हाम्रो बजारमा संस्थागत लगानीकर्ताको संख्या थोरै छ । यो संख्या बढाउनु पर्छ । संस्थागत लगानीकर्ता बढ्न नसक्नुमा नियामक निकाय नै दोषी छन् । उदाहरणको रुपमा बुक बिल्डिङ मार्फत शेयर ल्याउन योग्य संस्थागत लगानीकर्ताको संख्या उत्साहजनक रुपमा बढेको थियो । तर नियामकको अष्पस्ट नीतिकै कारण तिनीहरु हराएका छन् । यस्तो किचलोबाट बजामा थप संस्थागत लगानीकर्ता बढ्न सक्दैनन । भएका पनि हराउने डर छ ।  नियामकले सहज नीतिको व्यवस्था गरिनु पर्छ । अनि मात्रै बजारमा संस्थागत लगानीकर्ता वृद्धि हुन्छन् । बजारको लागि राम्रो हुन सुरु हुन्छ ।