राष्ट्र बैंकले कर्णाली डेभलपमेन्टका ३५ शेयरधनीको शेयर १% मा झार्दै, अब चुक्ता पूँजी कति घट्छ ?

Nov 21, 2025 06:01 PM merolagani



नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्टका ३५ शेयरधनीको शेयर १ प्रतिशतमा झार्ने भएको छ। केन्द्रीय बैंकले २५ संस्थापक र १० सर्वसाधारण शेयरधनीको शेयर १ प्रतिशतमा झार्न लागेको हो। नेपाल राष्ट्र बैंकद्धारा  गठित व्यवस्थापन समूह कर्णाली डेभलपमेन्ट बैंक नेपालगन्जले जारी गरेको सूचनामा उल्लेख छ।

“नेपाल राष्ट्र बैंकको मिति २०८१/०९/१० को निर्णयअनुसार यस संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरी यस संस्थाको व्यवस्थापन तथा सञ्चालन नेपाल राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन समूहबाट भइरहेकोमा सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (Due Diligence Audit) गर्दा संस्थाको चुक्ता पुँजीमा क्षय भएको, दायित्व सम्पत्तिले नखाम्ने देखिएको एवम् देहायका शेयरधनीहरूबाट चुक्ता हुनुपर्ने शेयरपुँजी बापतको रकम अवैधानिक रुपमा चुक्ता भएको देखिएको हुँदा संस्थाको पुनर्संरचना गर्ने क्रममा तपसिलका शेयरधनीहरुको शेयर पूँजी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ङ) को उपदफा (१) को खण्ड (च) तथा खण्ड (ज) र दफा ८६ (ज) बमोजिम घटाई १ (एक) प्रतिशत कायम गरिने ब्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” प्रकाशित सूचनामा भनिएको छ।

प्रकाशित सूचना अनुसार हाल बैंकमा २५ शेयरधनीको २१ लाख ६०.६४ कित्ता शेयर कायम छ। जुन शेयरलाई एक प्रतिशतमा झारिने छ। एक प्रतिशतमा झार्दा आउने दिनमा उनीहरूको शेयर सङ्ख्या २१ हजार तीन यस ६०.६१ कित्ता मात्रै कायम हुने छ।

तल फोटोमा हेर्नुहोस् कुन संस्थापक शेयरधनीको कति कित्ता शेयर घट्दै छ।

 

यसैगरी सूचना अनुसार हाल १० सर्वसाधारण शेयरधनीको बैंकमा अहिले कुल १२ हजार ६ सय ८४.९८ कित्ता शेयर छ। जसलाई एक प्रतिशतमा झारिने भएको छ। एक प्रतिशतमा झारेपछि बैंकमा उनीहरूको १२६.८५ कित्ता शेयर मात्रै बाँकी रहने छ।

तल फोटोमा हेर्नुहोस् कुन सर्वसाधारण शेयरधनीको कति कित्ता शेयर घट्दै छ।

कर्णाली डेभलपमेन्ट बैंक नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत विकास बैंक हो। नेप्सेका अनुसार बैंकको ५० लाख २८ हजार तीन सय कित्ता सूचीकृत छन्। जसमा संस्थापकतर्फ २५ लाख ६४ हजार ४३३ कित्ता छन् भने सर्वसाधारण तर्फ २४ लाख ६३ हजार ८६७ कित्ता सूचीकृत छन्। जसबाट कुल ४२ प्रतिशत शेयर घट्ने देखिएको छ। जसमा सबैभन्दा धेरै संस्थापक शेयर घट्ने छ। एक प्रतिशतमा झार्दा हाल कायम संस्थापक शेयरबाट ८२.४६ प्रतिशत शेयर घट्ने छ। आउने दिनमा संस्थापक र सर्वसाधारणको कुल २९ लाख एक हजार ४१ कित्ता मात्रै कायम हुने देखिन्छ।

खासगरि कर्णाली डेभलपमेन्ट बैंकका २५ संस्थापक र १० सर्वसाधारणले चुक्ता गर्नु पर्ने रकम नै चुक्ता नगरेको नेपाल राष्ट्र बैंकद्धारा  गठित व्यवस्थापन समूहले पाएको थियो। उनीहरूले पब्लिक कै रकम अपचलन गर्दै चुक्ता गरेको विवरण राखेको भेटिएको थियो। सोही कारण उनीहरूको शेयर जफत गरिएको हो।