कुन बैंकले कतिमा शेयर धितो कर्जा उपलब्ध गराएका छन् ?

Nov 24, 2025 11:05 AM Merolagani



बैंकिङ प्रणालीमा अधिक तरलता हुन थालेपछि बैंकहरुले शेयर धितो कर्जाको ब्याज दर घटाउन थालेका छन् । पछिल्लो समय बैंकहरुले आधार दरमा नै शेयर धितो कर्जा उपलब्ध गराउन थालेका हुन् ।

गत हप्ता मात्रै एनआईसी एसिया बैंकले शून्य प्रिमियम अर्थात आधार दरमा नै शेयर धितो कर्जा उपलब्ध गराउने योजना नै सार्वजनिक गरेको छ । यसैगरी अन्य बैंकहरुले सार्वजनिक सूचना जारी नगरी आधारदर अर्थात न्यून प्रिमियम लिएर कर्जा उपलब्ध गराउँदै आएका छन् ।

निरन्तर रुपमा ब्याजदर घट्दा बैंकको आधार दर पनि न्यून विन्दुमा झरेको छ । ब्याजदर घट्दो अवस्थामा भएपनि कर्जाको माग नभएको बैंकहरुले बताएका छन् । हाल सबै बैंकहरुले एकोहोरो अंककाे ब्याज दरमा ऋण प्रवाह गरेका छन् ।

सबै वाणिज्य बैंकहरुको आधारदर ४ देखि ६ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ । आधार दरको आधारमा हेर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर सबै भन्दा थोरै अर्थात ४.२७ प्रतिशत रहेको छ । तर यस बैंकले शेयर धितोकर्जा उपलब्ध गराउँदैन । राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकको आधार दर ४ प्रतिशतको हाराहारीमा रहेको छ । दुवै बैंकले आधार दरमा १ प्रतिशत देखि ३ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराएका छन् । त्यसैगरी एनआईसी एसिया बैंकको आधार दर सबै भन्दा धेरै अर्थात ६.६८ प्रतिशत छ । यद्यपि यस बैंकले आधारदरमा नै कर्जा उपलब्ध गराउने योजना ल्याएकाले लगानीकर्ताले सस्तो दरमा नै कर्जा प्राप्त गर्न सक्ने भएका हुन् ।

हाल नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहका सम्बन्धमा लचिलो नीति अवलम्बन गर्न थालेको छ । जस अनुसार केन्द्रिय बैंकले शेयर कर्जामा लगाएको सबै सीमा खारेज गर्दै खुला गरेको छ । बैंकको निर्णय प्रति लगानीकर्ताहरु पनि उत्साहित भएको देखिन्छ । अहिले शेयर धितो कर्जाको दर निरन्तर रुपमा बढ्दो छ । हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले डेढ खर्ब बढी मार्जिन कर्जा प्रवाह गरेका छन् ।

तर बैंकहरुले क्षमता अनुसारको शेयर धितो कर्जा परिचालन गरिसकेका छन् । त्यसैले लगानीकर्ताहरुको ऋणको माग भएपनि प्रवाह गर्न नसक्ने बताएका हुन् । बैंकहरुले प्राथमिक पूँजीको ४० प्रतिशत मात्रै शेयर बजार उपलब्ध गराउन सक्ने व्यवस्था छ । उक्त प्राथमिक पूँजीको ४० प्रतिशतको सीमालाई बढाउनु पर्ने माग लगानीकर्ताहरुले गरेका छन् ।

ब्याजदर र शेयर बजारको सम्बन्ध निक्षेप र लगानीसँगै ऋणमा रहन्छ । अन्य क्षेत्रमा कर्जाको माग भएको छैन । बैंकहरुमा तरलता यसै छ । बढ्दो तरलता व्यवस्थापना गर्न मुस्किल भएको छ । उल्टै बैंकको खर्च बढेको छ । सस्तो ब्याजदरमा राष्ट्र बैंकमा थुपार्ने पैसा बजारमा परिचालन गर्नु पर्ने लगानीकर्ताहरुको तर्क छ । यस्तो बेलामा माग भएको क्षेत्रमा कर्जा परिचालनमा बैंकले चलकता अपनाउनु पर्ने लगानीकर्ता प्रकाश रजाैरेले बताए । बैंकको ब्याजदर र शेयर बजारको अन्तर सम्बन्ध हुन्छ भनिन्छ । ब्याजदर घट्दा बजार बढ्ने मान्यता छ । तर घट्दो ब्याजदरलाई शेयर बजारले खासै प्रतिकृया दिएको छैन । यस्तो बेला राष्ट्र बैंकले शेयर पर्चेज कर्जा उपलब्ध गराउनु पर्छ । अनि मात्रै बजारमा घट्दो ब्याजदरको प्रभाव बढ्ने रजाैरेको बुझाई छ ।

बजारको कारोबार एक हदसम्म बैंक तथा वित्तीय संस्थाको ऋणमा निर्भर रहन्छ । सोही कारण विगतमा राष्ट्र बैंकले शेयर धितो कर्जामा गरेको कढाईले नै बजार बिगारेको लगानीकर्ताहरुको आरोप छ । अन्य क्षेत्रबाट ऋणको माग कम भएपछि बैंकहरुको ब्याजदर घटेको हो । पछिल्लो तथ्यांकलाई हेर्दा बजारमा शेयर धितोकर्जा बढेको छ । तर बजारमा माग बढाउन सो दरको कर्जा प्रवाह प्रर्याप्त नभएको देखिएको हो । सोही कारण बैंकहरुले कर्जा वितरणको क्षमता बढाउनु पर्नेमा लगानीकर्ताहरुले जोड दिएका हुन् ।