सिडिएससीका अनुसार कात्तिक महिनामा मात्रै कुल ३८ करोड पाँच लाख ९९ हजार २९०.६४ रुपैयाँ लाभकर उठेको छ। जुन गत असोज महिनाको भन्दा बढी हो। गत असोजमा २४ करोड ३६ लाख ५६ हजार ९२० रुपैयाँ मात्रै पूँजीगत लाभकर उठेको थियो।जुन १४ करोड रुपैयाँ भन्दा बढी हो।
असोजमा शेयर बजार घट्दा लाभकर उठ्ती समेत प्रभावित भएको थियो। असोज महिनामा उठेको लाभकर चालु आर्थिक वर्ष लागे यताकै सबैभन्दा कम थियो। किनकि गत साउनमा दुई अर्ब १५ करोड ७५ लाख ६९ हजार रुपैयाँ लाभकर उठेको थियो भने भदौमा ६० करोड १४ लाख ९९ हजार ४६४ रुपैयाँ लाभकर संकलन भएको थियो। गएको चार महिनामा कुल तीन अर्ब ३८ करोड ३३ लाख २४ हजार ७३६.७० रुपैयाँ लाभकर उठेको छ।
कात्तिक महिनामा सबैभन्दा धेरै अल्पकालीन लगानीकर्ताले लाभकर तिरेका छन्। उनीहरूले कात्तिकमा मात्रै १६ करोड ३५ लाख रुपैयाँ भन्दा बढी लाभकर तिरे। दोस्रोमा सबैभन्दा धेरै लाभकर तिर्नेमा दीर्घकालीन लगानीकर्ता छन्। उनीहरूले १२ करोड ७१ लाख रुपैयाँ तिरे। सबैभन्दा थोरै लाभकर तिर्नेमा संस्थागत लगानीकर्ता छन्। उनीहरूले आठ करोड ९८ लाख मात्रै लाभकर तिरे।
नेपालको दोस्रो बजारमा सबैभन्दा शक्तिशाली समूहमा व्यक्तिगत लगानीकर्ता नै देखिने गरेका छन्। उनीहरूले नै सबैभन्दा बढी कारोबार गर्ने र सबैभन्दा बढी लाभकर तिर्ने गरेका छन्। जबकि दोस्रो बजारमा सबैभन्दा बढी सक्रिय संस्थागत लगानीकर्ता हुनु पर्ने हो। दिगो बजारको लागि पनि संस्थागत लगानीकर्ता बलियो हुनु पर्ने मान्यता छ। तर नेपालमा संस्थागत भन्दा व्यक्तिगत लगानीकर्ता बढी हाबी हुने गरेका छन्। व्यक्तिगत लगानीकर्ता बढी हाबी भएकै कारण दोस्रो बजारमा निक्कै धेरै उतार चढाब देखिने गरेको छ। बलियो संस्थागत लगानीकर्ता हाबी भएको बजारमा उतार चढाब निक्कै कम हुने गर्छ। दोस्रो बजारमा संस्थागत लगानीकर्ता कमजोर भएकै कारण माग पक्ष निक्कै कमजोर हुने गरेको छ। त्यसैले बजारलाई बढी उतार चढाब गराउने गरिएकाे हो।

शेयर कारोबार गर्दा हुने खुद नाफामा लगानीकर्ताले तोकिएको दरमा सरकारलाई कर तिर्नुपर्छ । खरिद गरेको एक वर्षपछि बिक्री गरेको शेयरमा भएको नाफामा पाँच प्रतिशत लाभकर तिरे पुग्छ। जसलाई सरकाले दीर्घकालीन लाभकर मान्ने गरेको छ। खरिद गरेको वर्ष भित्रै बिक्री गरेको शेयरमा हुने नाफामा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ। जसलाई अल्पकालीन लाभकर मान्ने गरिएको छ। संस्थागत लगानीकर्ताले भने १० प्रतिशत कर तिर्नुपर्छ। तर संस्थागत लगानीकर्ताले वर्षको अन्तिममा नाफा घाटा मिलान गर्न पाउने व्यवस्था छ। तर अल्पकालीन र दीर्घकालीन लगानीकर्ताले नाफा घाटा मिलान गर्न पाउँदैनन्। दोस्रो बजारमा कारोबार गर्दा नाफा नभएमा भने कर तिर्नु पर्दैन। तर ब्रोकर कमिसनलगायत कारोबार गर्दा लाग्ने शुल्क भने तिर्नु पर्छ।
दोस्रो बजारमा कारोबार गर्दा लाग्ने कर बढी भएको भन्दै लगानीकर्ताले त्यसलाई घटाउनु पर्ने माग राख्दै आएका छन्। तर लगानीकर्ताले राखेको उक्त मागको सुनवाइ भने सरकारले अझै गरेको छैन।