१ हजार ८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात

Nov 24, 2025 02:23 PM merolagani



नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ हजार ८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात गरेको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उर्जासचिव चिरञ्जीवि चटौतले उक्त जानकारी दिएका हुन् ।

उनकाअनुसार विद्युत व्यापारतर्फ नेपालले पहिलो त्रैमासिकमा १,८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात गरेको छ । मनसुन अवधिमा देशभित्र पर्याप्त उत्पादन हुने भएकाले आयात अत्यन्त न्युन रहेको उनले जानकारी दिए । उनकाअनुसार हालसम्म नेपालले जम्मा २.८ गिगावाट–आवर मात्र विद्युत आयात गरिएको छ । पहिलो त्रैमासिकमा ८६ मेगावाट विद्युत उत्पादन थपिएको सचिव चटौतले जानकारी दिए । उनकाअनुसार ६६ केभी तथा माथिल्लो भोल्टेजका ३६ किलोमिटर ट्रान्समिशन लाइन तथा ३३ केभीका १३१ किलोमिटर ट्रान्समिशन लाइन निर्माण सम्पन्न भएको छ ।

मन्त्रालयले उर्जातर्फ विनियोजित ६ अर्ब ३० करोड ८० लाख रुपैयाँ बजेटमध्ये १५ दशमलब १६ प्रतिशत खर्च गरेको छ । उर्जा क्षेत्रमा भएको ४२ अर्ब २ करोड ४३ लाख रुपैयाँ वित्तीय लगानीमध्ये हालसम्म ६ दशमलव ५४ प्रतिशत प्रगति देखिएको उर्जासचिव चटौतले जानकारी दिए ।

उनले भने, ‘उर्जातर्फ बजेट ६ अर्व ३० करोड ८० लाख थियो । हालसम्मको प्रगति १५ दशमलब १६ प्रतिशत रहेको छ । त्यस्तै गरेर उर्जातिरको वित्तीय लगानी ४२ अर्व दुई करोड ४३ लाख रुपैयाँ छ । यो मुख्य गरी नेपाल विद्युत प्राधिकरणको लागी हो । यसको हालसम्मको प्रगति ६ दशमलब ५४ प्रतिशत छ । यस्तै गरेर केही हामीले मुख्य सुचकहरु राखेका थियौँ । यसमा विद्युत उत्पादन तर्फ ८६ मेगावाट पहिलो त्रैमासिकमा उत्पादन गरेका थियौँ । ६६ केभी र त्यो भन्दा माथीको ३६ किलोमिटरजति ट्रान्समिसन लाईन निर्माणको काम भएको छ । ३३ केभी ट्रान्समिसन लाईनमा १३१ किलोमिटर ट्रान्समिसन लाईन निर्माणको कार्य भएको छ । विद्युत निर्याततर्फ हामीले १ हजार ८०५ गिगावाट आवर निर्यात गरेको अवस्था छ । आयात चाँही वर्षतको समयमा हामीलाई पुग्ने उत्पादन हुने र निर्यात नै गर्ने भएको हुनाले कुनै बेला कुनै ठाउँमा त्यस्तो अवस्थामा जम्मा २ दशमलब ८ गिगावाट आवर जति हामीले विद्युत आयात गरेको अवस्था छ ।’

उनले उर्जातर्फ बजेट रोकावटको कुनै समस्या नरहेको जानकारी दिए । बजेट रोकिएर उर्जा क्षेत्रका परियोजना प्रभावित नभएको उनको भनाई छ ।