चुनावी वातावरण बनाउनको लागि प्रमुख राजनीतिक पार्टीका उच्च पदस्त नेताहरुसँग छलफल गर्ने तयारी शुरु गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नकपा अध्यक्ष प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याललगायत विभिन्न पार्टीका नेताहरुसँग छलफलको वातावरण बनाउन सचिवालयलाई निर्देशन दिएकी छन् । त्यहीअनुसार अहिले सचिवालयले छलफलको लागि आन्तरिक तयारी शुरु गरेको र छिटै छलफल कार्यक्रम आयोजना गरिने बताइएको छ ।
खासगरि नेकपा एमाले नेतृत्व पछिल्लो समय प्रधानमन्त्री कार्की र सरकारप्रति आक्रामक हुँदै भिडन्तको लागि समेत तयारी गरेको घटनाले देश थप मुडभेडमा गएको भन्दै सर्वत्र चिन्ता हुँदै आएको छ । केही दिन अघि बारामा एमाले र जेनजी समुहका बीच भएको भिडन्त, बिराटनगरमा एमाले नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास र एमालेले पिपुल्स भोलेण्टिएर बनाउँदै आफू भिडनको लागि तयार रहेको सार्वजनिक रुपमै घोषणा गरेको छ । त्यस्तै जेनजीका नेता मानिएका सुदन गुरुङलगायतका व्यक्तिहरुले एमाले नेताहरुमाथि आक्रमणको धम्की दिइरहेका छन् ।
दुवै पक्षले एक अर्कामाथि भौतिकरुपमै आक्रमणको धम्की दिन थालेपछि अवस्था थप चुनौतिपूर्ण हुने महसुस गरि प्रधानमन्त्री कार्की लचिलो हुँदै उच्च नेताहरुसँग छलफल गर्न तयार भएको बताइएको छ । त्यसको लागि उनले अनौपचारिक रुपमा दोस्रो तहका नेताहरुसँग छलफल गरिरहेको बताइएको छ । ‘प्रधानमन्त्रीले चाहेर मात्रै भएन, राजनीतिक पार्टीका प्रमुख नेताहरु पनि वार्ताको लागि तयार हुनु पर्यो । त्यसैले अनौपचारिक रुपमा अहिले वातावरण तयार गर्ने काम भइरहेको छ’ स्रोतले मेरो लगानीसँग भन्यो ।
अहिले जेनजी आन्दोलनबाट पदत्याग गर्न वाध्य भएका तत्कालिन प्रधानमन्त्री ओली र तत्कालिन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकसँग जाँचबुझ आयोगले बयान लिने तयारी गरिरहेको छ । आफूसँग बयान लिन लागिएको आशंकामा ओली प्रधानमन्त्री कार्कीसहित बर्तमान सरकारप्रति थप आक्रामक भइरहेका छन् र चुनावलाई पनि अर्थहीन भन्दै विरोध गरिरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री कार्कीले उनीसहितका उच्च नेताहरुसँग छलफलको तयारी गर्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।