दुई कारोबार दिनको अन्तरालमा नै बजार ९० अंकले बढेको हो । यी दिनहरुमा तुलनात्मक रुपमा कारोबार रकम समेत बढेको छ । सूचकसँगै बढेको कारोबार रकमले बजार दरिलो बनाउने लगानीकर्ताहरुको बुझाई छ ।

शेयर बजारसँग सरोकार राख्ने नीतिहरु सहज हुँदैछन। बजार सुधारमा सरकार गम्भिर भएर लागेको पाइन्छ । बजारसँग सम्बन्धित नीतिगत व्यवस्थाहरु सहज बन्दैछन् । भएका केहि बाँकी कठिनाईहरु पनि खुकुलो हुनेमा क्रममा छन् । शेयर बजार बढ्नु पर्ने विन्दुमा नै थियो । राजनीतिक गतिविधिको दबाब बजारमा परेकाले बजार बढ्न नसकेको लगानीकर्ता तारा फुल्लेलले बताए ।
पछिल्ला दिनमा राजनीतिक तरंग समेत सकारात्मक बन्दै छ । चुनावबाट मात्र निकास मिल्छ भन्ने मनन राजनीति दललाई भएको फुल्लेलको भनाइ छ । सरकार चुनावको तयारीमा छ । निर्वाचनको विरोधमा रहेका राजनीतिक दलहरु पनि आन्तरिक रुपमा तयारीमा जुटेका छन् । नेपाली काग्रेसले चुनावको लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । नेकपा एमालेले पनि महाधिवेशनबाट नयाँ नेतृत्व सहित दर्ता हुनुको विकल्प छैन । विस्तारै राजनीतिक निकास पाउने अपेक्षा सहित शेयर बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको फुल्लेलको बुझाई छ ।
त्यसैगरी, चालु आर्थिक वर्षकाे पहिलो मौद्रिक नीतिकाे समीक्षा हुँदैछ । नेपाल राष्ट्र बैंकले लचिलो नीति लिने आशा लगानीकर्ताले गरेका छन् । राष्ट्र बैंकका गभर्नरले सार्वजनिक रुपमा सहज नीतिको पक्षमा अभिब्यक्ति दिएको पाइन्छ । साथै भएका नीतिगत सुधारलाई हेर्दा गभर्नर शेयर बजार बढ्नु पर्ने पक्षमा रहेको उनको धारणा छ ।
बैंकिङ प्रणालीमा तरलता बढी छ । भएको तरलता परिचालन गर्न बैंकहरुलाई हम्मे परेको छ । यो असहजतालाई सहजिकरण गर्ने व्यवस्था मौद्रिक नीति समीक्षाले गर्नु पर्छ । साथै बैंकहरुलाई अझ सहज रुपमा दोस्रो बजारमा कारोबार सक्ने वातावरण गर्ने अपेक्षा लगानीकर्ताले गरेका छन् । साथै केन्द्रिय बैंकले गैरआवासीय लगानीकर्तालाई नेपाली बजारमा सहज रुपमा कारोबार गर्न पाउने व्यवस्था गर्नु पर्नेमा फुल्लेलले जोड दिए ।
यस्तै, शेयर बजार निरन्तर घटेर न्यून विन्दुमा झरेको थियो । निरन्तर घटेको बजार बढ्नु पर्ने तर्क लगानीकर्ताबाट आएपनि सूचकले गति लिन सकेको थिएन । आधारभूत र नीतिगत सुधारको आधारमा बजार बढ्नु पर्ने तर्क गरिएको हो । तर मुलुकमा भएको राजनीतिक अस्थिरताले बजार दबाबमा परेको हो । पछिल्ला दिनमा राजनीतिमा केही सुधारको संकेत देखिए पछि लगानीकर्ताको विश्वास जागेको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बताए ।
बजारसँग सम्बन्धिमा अधिकांश पक्ष सकारात्मक छन् । सूचीकृत भएका कम्पनीहरुले लाभांश वितरण गर्ने समय छ । बैंकको ब्याजदर न्यून छ । सस्तोमा शेयर धितो कर्जा प्राप्त भएको छ । तरलता प्रयाप्त छ । अन्य क्षेत्रबाट कर्जा माग छैन । यस्तो बेला शेयर बजारले लय समाउने अपेक्षा गरिएको पाण्डेको बुझाई छ ।
साथै लगानीकर्ताले वर्षाैदेखि माग गर्दै आएको तर हुन नसकेको नेप्से पुनर्संरचनाको काम पनि अगाडि बढेको छ । यसले पनि बजारको विकासमा काम हुने अनुमान लगानीकर्ताले गरेका छन् ।
त्यसैगरी, शेयर बजारमा सबै भन्दा धेरै राजनीति प्रभाव रहेको थियो । दुर्गा प्रसाईंको आन्दोलन र नेकपा एमालेको राजनीतिक गतिविधिसँग लगानीकर्ता डराएका थिए । तर प्रसाईंले घोषणा गरेको आन्दोलन नहुने भएपछि लगानीकर्ता ढुक्क भएका हुन् । सम्हालिदै गरेको राजनीतिक वातावरण र नीतिगत सुधारले आत्मविश्वास बढाउने अपेक्षा गरिएकाे छ ।