ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले उक्त परियोजनामा विदेशी नेपालीलाई शेयरमार्फत लगानी जुटाएर अघि बढाउने बताए ।
‘यस परियोजनलाई हामीले देश विदेशमा रहेका नेपालीहरुको लगानीमा बनाउन खोजिरहेका छौं’ एक अन्तर्वाताकाे क्रममा घिसिङले भने, ‘विदेश बसेर जसले रेमिट्यान्स पठाइरहनुभएको छ, उहाँहरुलाई शेयर दिने गरेर आयोजना निर्माण गर्न खोजिरहेका छौं ।’

उनका अनुसार, परियोजनाको लगानी मोडालिटी निर्माण अन्तिम चरणमा पुगेको छ । परियोजनाको फाइनान्सिङ क्लोजरको काम पनि छिट्टै नै सम्पन्न हुने उनले बताए । आयोजना निर्माणका लागि आवश्यक पूँजी रकम स्वदेशी र केही दातृ निकायबाट सहुलितपूर्ण ऋण लिएर जुटाइनेछ ।
परियोजनाको मुख्य पूँजी रकम भने विदेशमा भएका नेपालीहरुले पठाउने रेमिट्यान्समार्फत शेयर दिएर जुटाइनेछ । हालसम्म उक्त जलविद्युत् आयोजनाको जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकनलगायतका कामहरु सम्पन्न भइसकेका छन् ।
कुल २ खर्ब ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजना सरकारले चालू आर्थिक वर्षभित्रै अघि बढाउने बताए पनि वित्तीय व्यवस्थापन गर्नुपर्ने चुनौती छ ।
संखुवासभामा निर्माण हुने उक्त परियोजना निर्माण सुरु भएको कम्तीमा ६ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।