'कमाउने' वा 'गुमाउने' भन्दा पनि 'टिक्ने' र 'सिक्ने' लगानीकर्ता बन्नु आवश्यक छ

Nov 25, 2025 02:33 PM Merolagani



रबिन कँडेल

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को चार्ट अङ्कको खेल मात्रै होइन नेपालीहरूको भावनाको ‘रोलर कोस्टर’ हो। ३२०० को विन्दुमा पुग्दा देखिएको बजारको उन्माद र १८०० देखि २१०० को आसपासमा रुमल्लिदा देखिएको निराशाले एउटा गम्भीर प्रश्न खडा भएको थियोः के दोस्रो बजारका लगानीकर्ता जुवाडे हो?

 

नोबल पुरस्कार विजेता रिचर्ड थेलर र उनका सहलेखक एलेक्स इमासले आफ्नो २०२५ को नयाँ पुस्तक “द विनर्स कर्स” मा भनेजस्तै, परम्परागत अर्थशास्त्रले मानिसहरू तार्किक हुन्छन् (र्यास्नल इकोन्स) भन्ने कुरा मानेको हुन्छ। तर वास्तविकतामा हामी लगानीकर्ता मानव हौँ—जो भावनामा बग्छौं, गल्ती दोहोर्याउँछौं र आफ्नो सम्पत्तिभन्दा आफ्नो ‘जिद्दी’ पनालाई बढी प्राथामिकता दिने गर्दछौं।

 

दोस्रो बजारमा लगानीकर्ताहरुको व्यवहारिक गल्तीलाई चिरफार गरौं है त !

इन्डोमेन्ट इफेक्टः “यो शेयर मेरो हो, त्यसैले यो सुन हो”

के तपाईंको पोर्टफोलियोमा यस्ता कम्पनीहरू छन् जसको भाउ धेरै नै घटिसक्यो तर तपाईं “यो राम्रो कम्पनी हो, बढ्छ” भनेर बेच्न मान्नुहुन्न? त्यसो हो भने थेलरको याे सिद्धान्तलाई हेरौंः “हामी आफूसँग भएको वस्तुलाई बजार मूल्यभन्दा धेरै बहुमूल्य ठान्छौं।” यसलाई ‘इन्डोमेन्ट इफेक्ट’ भनिन्छ। तपाईंसँग भएको ‘हाइड्रो’ वा ‘फाइनान्स’ को शेयर, बजारको लागि केवल एउटा ‘टिकर सिम्बोल’ हो, तर तपाईंको लागि त्यो ‘इमोसन’ हो।

नेप्सेको वास्तविकताः बजार ३२०० हुँदा किनेको कतिपय शेयर न्यूनतम विन्दुमा झर्दा पनि नबेच्नु धैर्यता होइन, यो ‘स्वामित्वको मोह’ हो।

थेलरको “ओभरनाइट टेस्ट” प्रयोगले के भन्छ एक पटक सोच्नुहोस् त !

यदि आज राती तपाईंको सबै शेयर पैसामा परिणत भयो भने, के भोलि बिहान उठेर तपाईं त्यही कम्पनीको शेयर त्यही मूल्यमा किन्नुहुन्छ? यदि किन्नुहुन्न भने, त्यसलाई होल्ड गर्नु तार्किक होइन।

डिस्पोजिसन इफेक्टः थोरै नाफामा रमाउने, ठूलो घाटा सहेर पर्खेर बसिरहने !

यो नेपाली लगानीकर्ताको सबभन्दा ठूलो रोग हो। १० प्रतिशत नाफा भयो भने हतार गरेर बेच्ने, २० प्रतिशत घाटा भयो भने अझै बढ्छ भनेर वर्षौंसम्म पालेर राख्ने गरेको पाइन्छ।

थेलरको विश्लेषणः यसलाई ’लस अभर्सन’ भनिन्छ। १०० रुपैयाँ गुमाउँदा हुने पीडा, १०० रुपैयाँ कमाउँदा हुने खुशीभन्दा दुई गुणा बढी हुन्छ। त्यसैले लगानीकर्ताहरू घाटा ’बुक’ गर्न डराउँछन्।

नतिजाः तपाईंको पोर्टफोलियोमा केवल ’कचरा’ स्टकहरू बाँकी रहन्छन्। राम्रा स्टकहरू पहिल्यै बेचिसक्नु भएको हुनेछ।

द विनर्स कर्सः “टोपी” लगाउने र लगाइदिने खेल

नेपालमा प्राथमिक शेयर (आईपीओ) पर्दा वा बजार ’बुल’ हुँदा धेरैले आफूलाई ’शेयरको बादशाह’ ठान्छन्। जब कुनै नयाँ कम्पनी वा ’हाइप’ गरिएको सेक्टरमा लगानीकर्ताहरू आकषर्ण बढ्दा सबैभन्दा महँगो अर्थात माथिल्लो मूल्यमा किन्छन् र मक्ख परेर मैले जिते भन्ने सोच्छन्। तर के उसले साँच्चै जित्यो त?

थेलरको २०२५ को अपडेटः बुल मार्केटमा जसले सबैभन्दा उच्च मूल्यमा शेयर किन्छ, ऊ नै अन्ततः सबैभन्दा धेरै हार्ने व्यक्ति हुन्छ। किनकी उसले कम्पनीको वास्तविक मूल्यभन्दा धेरै गुणा बढी ‘सेन्टिमेन्ट’ को मूल्य तिरेको हुन्छ। नेप्सेमा यसलाई चलनचल्तीको भाषामा “टोपी लाउनु“ भनिन्छ।

मानसिक लेखांकनः “आईपीओको पैसा त हो नि!

धेरै नेपाली लगानीकर्ताले आईपीओबाट आएको नाफा र आफ्नो तलबबाट आएको पैसालाई फरक–फरक ’खाता’ मा राख्छन्।

सोचः “यो आईपीओबाट आएको १० हजार त सित्तैको पैसा हो, यसलाई जोखिमपूर्ण स्टकमा हाल्दिउँ“ भन्ने मान्यता बनेको हुन्छ।

थेलरको नियमः पैसाको रङ हुँदैन । आईपीओबाट आएको १० हजार र तपाईंले दुःख गरेर कमाएको १० हजारको मूल्य बराबर हो। सित्तैको ठानेर जोखिमपूर्ण लगानी गर्दा तपाईंले आफ्नो कुल सम्पत्ति गुमाइ रहनु भएको हुन्छ ।

स्लजः नेप्से प्रणालीबाट नै “अवरोध”

थेलरले पछिल्लो समयमा ’स्लज’ को अवधारणा अघि सारेका छन्। बजारमा लगानी गर्न सजिलो हुनुपर्नेमा, प्रक्रियालाई झन्झटिलो बनाइनु नै स्लज हो।

नेपालमा स्लजका उदाहरणहरूः

  • ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) को समस्याः बजार बढेको बेला लगइन नहुने, अर्डर पेन्डिङ बस्ने
  • ईडीआईएस र मेरो शेयरः समयमा शेयर ट्रान्सफर नहुँदा लाग्ने जरिवाना
  • ब्यूरोक्रेसीः हकप्रद वा बोनस शेयर खातामा आउन लाग्ने महिनौं समय पर्खनु पर्ने बाध्यता

यी प्राविधिक बाधाहरूले लगानीकर्ताको मनोबल गिराउँछन् र सही समयमा निर्णय लिनबाट वञ्चित गराउँछन्।

समाधानः कसरी ’प्रोफिसियन्ट’ लगानीकर्ता बन्ने?

रिचर्ड थेलरको ‘प्लानर–डुअर मोडल’ अनुसार, हाम्रो दिमागमा दुई सोच एक्टिभ हुन्छ अर्थात् दुई जना हुन्छन्ः एउटा योजना बनाउने (Planner एउटाले भविष्य सोच्छ) अर्को काम गर्ने (Doer– जसले वर्तमानको आवेगमा निर्णय गर्छ)।

अहिले बजार घटेको वा बढेको बेला तपाईंको ’डुअर’ आत्तिएको छ। अब ’प्लानर’लाई जगाउनुहोस् र निम्न नियमहरू लागू गर्नुहाेस्ः 

स्टप लसः शेयर किन्नु अघि नै कति घाटा सहन सक्छ भन्ने कुरा तय गर्नुपर्छ। यदि कुनै स्टक १० प्रतिशत घट्यो भने कुनै प्रश्न नगरि बेच्नु उचित हुन्छ। शेयर बजारको घाटालाई ’माया’ गरेर राख्नु हुँदैन।

नज आफैलाईः आफ्नो टीएमएस निरन्तर हेर्नु हुँदैन। थेलरका अनुसार, जति धेरै तपाईं पोर्टफोलियो हेर्नुहुन्छ, त्यति नै धेरै तपाईंलाई ’नोक्सानीको पीडा’ महसुस हुन्छ। तपाईंले गलत निर्णय गर्ने सम्भावना बढ्छ। लामो अवधिको लगानीकर्ताले केहि समयको अन्तरालमा पोर्टफोलियो हेर्नु फाइदाजनक हुन्छ।

भीडबाट बच्नुहोस्ः जब चिया पसलदेखि फेसबुक ग्रुपसम्म सबैले “अब बजार बढ्छ, फलानो हाइड्रो किन्नु“ भन्न थाल्छन्, तब बुझ्नुहोस् कि ’विनर्स कर्स’ सुरु भयो। थेलर भन्छन्, “जब अरू लोभी हुन्छन्, तब डराउनुहोस्।“ स्मार्ट मनीले हल्लाको भरमा होइन, तथ्यांकको भरमा लगानी गर्छ।

रि–ब्यालेन्सिङः तपाईंको पोर्टफोलियोको ’फोहोर’ सफा गर्ने समय यही हो। घटेको बजारमा फन्डामेन्टल्ली बलिया कम्पनीहरू (राम्रो डिभिडेन्ड दिने, राम्रो ईपीएस भएका) सस्तोमा पाइन्छन्। खराब कम्पनीको घाटा बुक गरेर, त्यो पैसाले राम्रो कम्पनीको शेयर किन्नुहोस्। यसले तपाईंको ’मेन्टल एकाउन्ट’ लाई रिसेट गर्छ।

अतः नेपाली शेयर बजारमा “कमाउने" वा “गुमाउने“ भन्दा पनि “टिक्ने“ र “सिक्ने“ लगानीकर्ता बन्नु आवश्यक छ। रिचर्ड थेलरको दर्शनले हामीलाई यही सिकाउँछः हामी मानिस हौँ, गल्ती गर्छौं। तर त्यही गल्तीको ढाँचा बुझ्यौं भने, हामी बजारबाट कमाउन सक्छौं। अबको बुल वा बियर साइकलमा भावनालाई होइन, नियमलाई ड्राइभिङ सिटमा राख्नुपर्छ। “तपाईंको लगानीको शत्रु बजार होइन, ऐनामा देखिने मान्छे (तपाईं आफै) हो।’