कर्मचारीले ठुलो कुरा गर्न पर्दैन, राम्रोसँग बोलिदिने हो भने पनि असर गर्छः वाणिज्य सचिव घिमिरे

Nov 25, 2025 03:28 PM merolagani



उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले उद्योगी व्यवसायीहरुलाई कर्मचारीहरुले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी रहेको बताएका छन्। उद्योग दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीतन्त्र अब पनि पुरानै तवरले चलेर नहुने बताए । सचिव घिमिरेले कर्मचारीहरुले व्यवसायीहरुलाई अधिकतम सहजिकरण गर्नुपर्नेमा अझै त्यसो हुन नसकेको बताए ।

सचिव घिमिरेले भने–‘हामीलाई के लाग्नसक्छ भने हामीले जे गरिरहेका छौं, ठिक गरिरहेका छौं । एउटै काम रिपिट हुने भएकाले हामी कर्मचारीहरु यथास्थीतिवादी हुन्छौं । व्यवसायीहरुलाई सहजिकरण गर्ने सन्दर्भमा हाम्रो माइण्ड एउटा बक्स भन्दा बाहिर आउन सकिरहेको हुँदैन । त्यो बक्सभन्दा बाहिर जाने प्रयास गर्नुपर्छ । सानो कुराले पनि असर गर्छ । सेवाग्राहीलाई एउटा कुर्सी राखिदिएर उहाँहरु बस्न पाउनुभयो भने पनि त्यसले पोजेटिभ काम गर्छ । ठुलो कुरा गर्न पर्दैन । राम्रो सँग बोलिदिने हो भने पनि असर गर्छ । कन्फुजन भएर बसेकाहरुलाई गिज्जाउने होइन, उहाँलाई सुविधा दिनुपर्छ ।’

निजी क्षेत्रले पनि उद्यमशीलताको हिसावले सोच्न जरुरी रहेको उनको भनाइ छ । उद्योग सचिव कृष्णबहादुर राउतले औद्योगिक नीतिलाई अब बदल्ने बेला आएको बताए । उनकाअनुसार विश्व परिवेश दिनदिनै परिवर्तन भएकाले त्यसलाई सम्बोधन गरेर नयाँ नीति ल्याउनुपर्ने आवश्यकता छ र सोहीअनुसार मन्त्रालयले काम गरिरहेको छ ।

सचिव राउतले भने–‘अलि पुरानो २०६७ सालको औद्योगिक नीतिलाई परिमार्जनको हिसाबले हामीले काम गरिरहेका छौं । गत वर्ष सातै प्रदेशमा काम गरेका थियौँ । यो वर्ष अन्तिम रुप दिइनेछ ।’

उद्योग विकास रणनीति ल्याएर उद्योग क्षेत्रको विस्तारका लागि काम अघि बढाइने उनको भनाइ छ ।