'नीति नियम नबन्दा सामाजिक सुरक्षा कोषमा रहेको डेढ खर्ब रुपैयाँ 'फ्रिज' भयाे'

Nov 25, 2025 03:25 PM Merolagani



नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजिक सुरक्षा कोषमा जम्मा भएको रकम युवाहरुको रोजगारिको लागि खर्च हुन नसकेको बताएका छन् । अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले कोषमा रहेको एक खर्ब ५० अर्ब रुपैयाँ फ्रिज भएर बसेको बताए ।

उनले पछिल्लो पटक आफू प्रधानमन्त्री हुँदा विदेशमा रहेका मजदुर र श्रमिकहरुको मागअनुसार नै सामाजिक सुरक्षा कोषमा आवद्धता गर्ने घोषणा गरेको स्मरण समेत गराए । कोषमा आवद्ध हुने मजदुरहरु र रकम झन्डै ढेड खर्ब पुगेको सुन्दा खुशी लागेपनि त्यत्रो रकम जम्मा भएर पनि मजदुरहरुलाई रोजगारी सृष्टि गर्न खर्च गर्न नसक्दा चिन्तित तुल्याएको बताए।

सरकारले आवश्यक निति नियम नबनाएका कारण रकम फ्रिज भएर बसेको उनको भनाई छ । उनले उक्त रकमको सही सदुपयोग गर्न र नेपाली युवालाई देशभित्रै रोजगारी सिर्जना गर्नको लागि प्रयोग गर्न आग्रह गरे ।

उनले भने, ‘मैले पछिल्लो पटक प्रधानमन्त्रीको हैसियतमा विदेशमा रहेका मजदुर, श्रमिकहरुको मागअनुसार नै सामाजिक सुरक्षा कोषमा आवद्धता घोषणा सरकारको तर्फवाट गरेको थिए । मलाई केही दिन अगाडी मात्रै त्यो समाजिक सुरक्षा कोषमा आवद्ध हुने मजदुरहरु र रकम कति भयो भन्दा झण्डै ढेड खर्ब जम्मा भईसकेको सुन्दा मलाई खुशी र गर्व लागेको छ । त्यसैगरि देशभित्रै पनि अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको लागि पनि सामाजिक सुरक्षा कोषमा आवद्धताको घोषणा पनि मैले नै प्रधानमन्त्रीको हैसियतमा गरेको थिए । र त्यो क्रम पनि अगाडी बढ्दैछ । तर मैले दुःखका साथ भन्नुपर्छ, त्यत्रो रकम जम्मा भएर पनि त्यो रकम मजदुरहरुलाई या नेपाली नागरिकलाई रोजगारी सृष्टि गर्न खर्च गर्न सरकारले आवश्यक निति नियम नबनाएका कारण त्यो रकम फ्रिज भएर बसेको छ । हामी सबैको निम्ति यो गम्भिर चिन्ताको विषय भएको छ । हामी सबैले त्यो रकमको सहि सदुपयोग होस्, नेपाली युवाहरुको निम्ति देशभित्रै रोजगारी सृष्टि गर्ने कामका निम्ति त्यसको सदुपयोग होस् ।’

 

उनले विदेशबाट फर्किएका रिटर्नीहरुलाई नेपालमा उद्यम गर्न रकम छुट्याएको भएपनि पछिल्लो सरकारले हटाएको आरोप पनि लगाए ।