विगतदेखि गरिदै आएकाे सहजीकरणलाई पहिलो त्रैमासको मौद्रिक समीक्षाले पनि अझै सहजीकरण गर्नेछ र बजार दीगो हुनेछ

Nov 27, 2025 01:59 PM Merolagani



निरन्तर रूपमा सुस्ताएको बजार विस्तारै उकासिँदै गएको छ। केही दिनको अन्तरालमै झण्डै १०० अंकले वृद्धि भएको छ। तर बजारले माथि जान सुरु गरे पनि लगानीकर्ताहरू अझै यस बढाइ दीगो हुन्छ भन्नेमा ढुक्क भएका छैनन्।

सुस्ताउँदै गएको आर्थिक गतिविधि जेनजी आन्दोलनपछि झनै प्रभावित भएको छ। आन्दोलनका क्रममा भएको क्षतिले धेरै लगानीकर्ताहरू डराएका कारण आर्थिक गतिशीलता कमजोर भएको हो। यस्तो अवस्थामा सरकारले सुरक्षाको प्रत्याभूति दिँदै लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।

दोस्रो बजार पनि उक्त आन्दोलनको प्रभावबाट अछुतो रहेन। साथै, कम्पनीहरूको प्रगति खस्कँदा बजारले अपेक्षित गति लिन नसकेको लगानीकर्ता दिनेश हुमागाँई बताउँछन्। यही विषयमा सुधा देवकोटाले हुमागाँईसँग गरिएको कुराकानी :

राजनीतिक माहोल परिवर्तन भएको छ। यसले बजारमा कस्तो प्रभाव पार्‍यो?

अहिलेको राजनीतिक परिवर्तन अत्यन्तै छिटो र फरक देखिएको छ, जसको प्रभाव निजी क्षेत्रमै ठूलो मात्रामा परेको छ। राजनीतिक अनिश्चितताले लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको छ। तर राजनीतिक परिस्थिति क्रमशः सुधारिँदै गएपछि बजारले गति लिन थालेकाे छ।

निर्वाचनका लागि दल दर्ता भइसकेका छन्। सबै राजनीतिक दल चुनावमा सहभागी हुने तयारीमा छन्, अनि जनमतद्वारा अगाडि बढ्ने संकेत देखिन्छ। यसले राजनीति स्थिरतर्फ अग्रसर हुने विश्वास दिलाउँछ। यसैबीच बजार साइडवेयजमा रहँदै कारोबार भइरहे पनि निर्वाचन नजिकिँदै जाँदा बजारमा सकारात्मक धारणा बन्नेछ।

बढ्दो सूचकलाई लगानीकर्ताले अझै विश्वास गर्न नसकेको देखिन्छ, किन?

पछिल्लो आन्दोलनपछि वित्तीय कारोबार सुस्त छ। राजनीतिक अस्थिरता त छँदै छ। दोस्रो बजारमा सूचीकृत धेरै कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सार्वजनिक गरेको विवरण सन्तोषजनक छैन। कम्पनी प्रगतिमा कमजोरी देखिँदा बजारप्रति विश्वास घट्नु स्वाभाविक हो।

यद्यपि पछिल्ला ३ कारोबार दिनमा सूचक करिब १०० अंकले बढेको छ। यस्तो अवस्थामा हल्का करेक्सन हुनु सामान्य हो। तर पछिल्लो व्यवहार हेर्दा लगानीकर्ताहरू फेरि आशावादी बन्दै लगानी बढाउन थालेका छन। कार्यदलका सुझावहरू कार्यान्वयन हुँदैछन्, राष्ट्र बैंकले नीतिगत लचकता अपनाएको छ। अर्थ मन्त्रालय र धितोपत्र बोर्ड दुवैले बजार सुधारलाई प्राथमिकता दिएका छन्। यसले लगानीकर्ताको आत्मविश्वास बढाउनेछ।

बैंक तथा वित्तीय संस्थाहरुलाई दोस्रो बजारमा कारोबार गर्न सहजीकरण गरिएको छ । साथै चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक समीक्षाले पनि अझै सहजीकरण गर्ने कुरा आएको छ । यसले बजारलाई दीगो रुपमा गति दिनेछ ।

शेयर बजारले भविष्यको जनाउ दिन्छ भनिन्छ । नीतिगत सुधारहरू छिटो गरिएका छन्, तर बजारले त्यसअनुसार प्रतिक्रिया दिन नसकेको किन?

अहिले बजारमा यस्तो सुस्तता आउनुमा कम्पनीको प्रगति सन्तोजनक नआएकै कारण हो । दोस्रो त्रैमासमा पनि कम्पनीको प्रगतिमा सुधार हुने सम्भावना कम छ । साथै अहिलेको राम्रो पक्ष भनेको बैंकमा तरलता पर्याप्त छ । रेमिटेन्स बढ्दो क्रममा छ । बैंक खर्बौ लगानी गर्न सक्ने अवस्थामा छन् । ब्याजदर न्यून विन्दुमा छ ।

अर्कोतर्फ,अहिले नयाँ सरकार स्थापना भएता पनि नियामक निकायहरुमा पुरानै सरकारले नियुक्त गरेका व्यक्तिहरु छन । ती ब्यक्तिहरुबाट बजारको हितमा काम हुनमा शंका गरिएको पाइन्छ । बजारका लागि उचित काम गर्न नसकेमा बाटो खुला गर्ने दबाब सिर्जना गर्न सरकार पछि हट्नु हुदैन । लगानीको वातावरण निमार्ण गर्नुपर्ने छ । त्यसैले लगानीकर्ताको विश्वास जगाउनु पर्यो । बजार अहिले मात्रै घटेको होइन । पहिले पनि उत्साहजनक रुपमा बढेको थिएन ।

यहाँ बजार यस्तो धेरै घट्दा पनि केही कम्पनीको मूल्यमा खासै असर गरेको छैन । सूचकमा गिरावट भयो । निरस बजारमा पनि ति कम्पनीको मूल्यलाई असर पारेको छैन । यि कम्पनीहरुको वित्तीय प्रगतिमा पनि सुधार भएको छ । खराब कर्जाको अनुपात सकारात्मक छ । वार्षिक प्रतिफल राम्रो वितरण गरेका छन् । लगानीकर्ताले चिनेर लगानी गर्न सक्नु पर्यो । राम्रा कम्पनीमा गरिएको लगानीबाट सूचक घट्दा पनि डराउनु पर्दैन । त्यसैले कम्पनीहरुले सुधार गर्नु पर्यो । सरकारले कम्पनीको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्यो ।

 

दोस्रो बजारमा आशावादी हुन सकिन्छ । तर जस्तो कम्पनी पनि आखाँ चिम्लेर पैसा हाल्दा लगानी जोखिममा परेको छ । अर्कोतर्फ बजार प्रतिको विश्वास घटेको छ। शेयर बजारमा लगानीको पैसा आजको भोलि दोब्बर हुँदैन । बजारबाट नाफा लिन लगानीकर्तामा धैर्यता हुन जरुरी छ ।

यो बजारमा चलखेल गरिन्छ र चलखेल गर्नेले मात्रै कमाउछन् भनिन्छ । बजारमा कस्तो खालको चलखेल हुन्छ ?

अहिलेको बजारमा सुन भन्दा पित्तल मँहगो भयो । पहिले यस्तो थिएन । अनलाइन प्रणाली मार्फत कारोबार हुन थाले पछि कम्पनीले न्यायोचित मूल्य पाएका छैनन । अहिले बजारलाई नियन्त्रण गर्न सकिने अवस्था छैन । बजारमा को कहाँ बसेर कारोबार गरेको छ भन्ने कुराको पत्तो पाउन सकिदैन ।

बजारमा पूँजी कम र शेयर सप्लाई कम भएका कम्पनीहरु रोजाईमा छन । बजारमा डम्पिङ एण्ड पम्पिङ गरेर मूल्य धेरै माथि पुर्याएर बाहिरिने परिपाटी ब्यापक छ । बजारमा भएका यस्ता गतिबिधिलाई नियामक निकायले खासै नियमन गरेको छैन । धेरै लगानीकर्ताहरु डम्पिङ र पम्पिङ भएका कम्पनीको माथिल्लो मूल्यमा पुगेर फसेका छन । निरन्तर बढेको बजारमा लालहित भएका हुन्छन । तिनैले माथिल्लो मूल्यमा बजारको भाषा छ (टोपी) लगाएका छन । यसरी धेरै फस्ने क्रम बढेपछि दास्रो बजारप्रतिको विश्वास घटेको हो । यसप्रति स्वंयम लगानीकर्ता नै सचेत हुन जरुरी छ ।

अहिले आधारभूत कुराहरु भन्दा कम्पनीमा चलखेल हेरेर लगानी गर्ने परिपाटी छ । यसरी गरिएको लगानीले बजारलाई कता पुर्याउछ ?

अहिले दोस्रो बजारमा कम्पनी सूचीकृत गराउने र सर्वसाधारणलाई शेयर बिक्री गरेर आफूहरु बाहिरिने धन्दा मौलाएको छ । बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर तीन वर्षपछि सर्वसाधारणमा रुपान्तरण हुने व्यवस्था छ । कम्पनीको कुल पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा ल्याएर ९० प्रतिशत राख्ने गरिएको छ । घाटामा रहेका कम्पनीले नियामकलाई प्रभावमा पारेर आईपीओ जारी गर्ने गर्छन् । जसोतसो तीन वर्ष पुरा गरेपछि सर्वसाधारणलाई शेयर भिडाएर आफू बाहिरिनेहरुको संख्या बढ्दो छ । यो बजारका लागि धेरै घातक छ । यस्तो कुरालाई नियन्त्रण गर्न सकिएन भने यसले बजार मात्रै नभएर समग्र अर्थतन्त्रलाई असर पार्छ । हो यस्तै कम्पनीमा चलखेल हुने गरेको देखिन्छ । लकिङ नखुलेका कम्पनीको मूल्यलाई उचालेर माथि पुर्याएको हुन्छ । त्यसरी धेरै सर्वसाधारणको पैसा जोखिममा छ । यस्तो परिपाटीले बजारलाई हित गर्दैन ।