फागुन २१ गते हुने चुनावको लागि त्यसरी खोसिएका हतियार र भागेका कैदीबन्दीहरु सुरक्षाको लागि चुनौति बन्न सक्ने देखेपछि सरकारले त्यो मोडल अपनाउने तयारी गरेको हो ।

जेनजी प्रदर्शनका क्रममा देशका ८ वटा कारागारबाट १४ हजार ५४९ बन्दी भागेका थिए । त्यसमध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । फरारमध्ये कतिपय गम्भिर अपराधका अपराधिहरुसमेत रहेका छन् ।
त्यस्तै उक्त प्रदर्शनका क्रममा एक हजार २७६ थान घातक हतियार लुटिएकोमा ५५६ थान हतियार अझै फेला नपरेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका विभिन्न कार्यालयमा तोडफोड र आगजनी हुँदा ती हतियार लुटिएका थिए ।
त्यसरी भागेका कैदी र लुटिएका हतियारका कारण सुरक्षा चुनौति बढ्ने र चुनावमा समेत खतरा बढ्ने भएपछि सरकारले ‘बंगलादेशी मोडल’ अपनाएर फरार कैदी बन्दी पक्राउ गर्ने र लुटिएका हतियार फिर्ता गर्ने रणनीति लागू गर्न लागेको हो ।
नेपालमा भन्दा एक वर्ष अगाडि जेनजी विद्रोह भएको बंगलादेशमा करिब २ महिनापछि फेब्रुअरीमा आम निर्वाचन गरिदैंछ । त्यसको लागि जेनजी विद्रोहको क्रममा लुटिएका हतियार र कैदीहरु सुरक्षाको मुख्य चुनौति बनेपछि अन्तरिम सरकारले केही दिन अघि नयाँ सुरक्षा योजना सार्वजनिक गरेको छ ।
बंगलादेशमा जेनजी विद्रोहको बेला ५७५३ विभिन्न प्रकारका बन्दुक, ६ लाख ५१ हजार ६०९ गोली लुटिएको थियो । त्यसमध्ये ठूलो मात्रामा गोलीहरु र १३०० भन्दा बढी बन्दुकहरू अझै हराइरहेका छन् ।
ती हतियार र गोलीहरू फिर्ता गर्ने वा त्यसको सूचना दिनेको लागि नगद पुरस्कार दिने घोषणा गरेको छ । सबैभन्दा बढी पुरस्कार लाइट मेसिन गनको लागि ५ लाख टाका तोकिएको छ । त्यस्तै सब-मेसिन गनको लागि १.५ लाख, चिनियाँ राइफलको लागि १ लाख र पेस्तोल वा शटगनको लागि ५० हजार टाका पुरस्कार राखिएको छ भने प्रत्येक गोलीको लागि ५०० टाका पुरस्कारको घोषणा गरिएको छ । साथै सुराकीहरुको पूर्णरुपमा गोपनियता कायम गरिने पनि सरकारले घोषणा गरेको छ ।
यो घोषणापछि थुप्रै गोली र कैयौं हतियारहरु पक्राउ गरिसकेको प्रहरीले बताए पनि यकिन संख्या भने बताएको छैन ।
यता, नेपाल सरकारले पनि त्यही मोडलको सिको गर्दै छिट्टै नै लुटिएका हतियार र फरार कैदी बन्दीहरुलाई पक्राउ गरेर बुझाउने वा सुराकी दिनेलाई आकर्षक पुरस्कार दिने घोषणा गर्ने तयारी गरिएको बताइएको छ । त्यसको लागि कुन हतियार र गोलीको लागि कति पुरस्कार दिने, सुराकीलाई कति पुरस्कार दिने जस्ता विषयमा अहिले छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।