बीमा प्राधिकरणको ताकेतापछि धमाधम लाभांश घोषणा गर्दै बीमा कम्पनीहरु, अहिलेसम्म सात बीमा कम्पनीले गरे लाभांश घोषणा

Dec 18, 2025 06:18 AM MeroLagani



बाबुकृष्ण महर्जन
पुस महिनाको पहिलो हप्ता नबित्दै ७ वटा बीमा कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । अघिल्लो वर्ष सूर्यज्योति इन्स्योरेन्सले मात्रै कम्पनी ऐनले तोकेको समय सीमा अर्थात पुसमसान्त भित्र लाभांश घोषणा सहित साधारण सभा गरेकाे थियाे।

नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले चालु आवमा साउनदेखि नै बीमा कम्पनीहरुलाई छिटो भ्यालुएसन गर्न ताकेता गर्नुका साथै एक्चुअरी भ्यालुएटरसमेत थपिँदा बीमा कम्पनीहरुले छिटो लाभांश घोषणा गर्न सफल भएको बताए । अहिलेसम्म जीवन बीमा कम्पनीतर्फ सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स तथा निर्जीवन बीमातर्फ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी पुर्णबहादुर थापाका अनुसार अहिलेसम्म ११ वटा जीवन बीमा कम्पनी र ७ वटा निर्जीवन बीमा कम्पनीले भ्यालुएसनको विवरण पेश गरेकोमा जीवन बीमातर्फ ७ वटा र निर्जीवन बीमातर्फ ३ वटा कम्पनीको भ्यालुएसन पारित गरिसकिएको छ ।

बीमा कम्पनीहरुले प्राधिकरणको तोकेको चुक्ता पुँजी पुरा गरिसकेको हुँदा प्रायः नगद लाभांश नै प्रस्ताव गरेका छन् । तोकेको चुक्ता पुँजी पुगिसके पनि प्राधिकरणले जोखिममा आधारित पूँजीको अवधारणा लागु गरेको हुँदा व्यवसाय बढाइरहेका बीमा कम्पनीहरुले भने क्रमिक रुपमा पूँजी वृद्धिलाई ध्यानमा राखेर बोनस शेयर नै लाभांशको रुपमा घोषणा गरेका छन् । अहिलेसम्म लाभांश घोषणा गरेका ७ वटा बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले मात्रै बोनस शेयर लाभांश घोषणा गरेका छन् ।

नेपाल लाइफले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर र १६.०५ नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश घोषणा गरेकाे छ भने यता निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्सले ६ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करस्वरुप ०.३२ प्रतिशत नगद लाभांश गरी कुल ६.३२ प्रतिशत लाभांश घोषणा गरेकाे छ । त्यस्तै सिटिजन्स लाइफ इन्स्योरेन्सले २० प्रतिशत, आईएमई लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १०.१८ प्रतिशत, आईआजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।

गत आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य नाफाबाट आफ्ना शेयरधनीका लागि धमाधम लाभांश घोषणा गरेका बिमा कम्पनीले गत वर्षको बिमाङ्किय मूल्यांकन प्रतिवेदनका आधारमा बिमितहरुका लागि नयाँ बोनसदर पनि छिट्टै घोषणा गरिरहेका छन् ।

सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको पुस मसान्तभित्र अघिल्लो वर्षको साधारण सभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था भएपनि बिमा कम्पनीहरुको साधारणसभा प्रायः ढिला नै हुने गरेको थियो । बिमा कम्पनीहरुको एक्चुअरी भ्याल्यूएसन निकाल्नु पर्ने र यसका कारण बढी समय लाग्ने भन्दै लाभांश प्रस्ताव गर्ने र साधारण सभा बोलाउने कार्यमा बिमा कम्पनीले ढिला गर्दै आएका थिए ।

देशभित्रै भ्यालुएसन गर्न दक्ष जनशक्तिको अभाव भएकाले बाहिर पठाउँदा बढी समय लाग्ने विषय पनि बिमा कम्पनीले राख्ने गरेका थिए । यद्यपि, यस पटक भने बिमा कम्पनीहरुले पुस मसान्तभित्रै वार्षिक साधारणसभा सम्पन्न गर्ने किसिमले लाभांश घोषणा गरिरहेको देखिन्छ । प्राधिकरणका सूचना अधिकारी थापाका अनुसार गत वर्ष समयमा वित्तीय विरण नबुझाउने र वित्तीय विवरण स्वीकृत गर्दा राखेको शर्त पुरा नगर्ने कम्पनीहरुलाई कारवाही गरिएका कारण यस वर्ष केही छिटो लाभांश घोषणा गरेर पुस मसान्तभित्रै साधारण सभा घोषणा गर्ने दिशामा अगाडि बढेको बताए । गत वर्ष कानूनी व्यवस्थाअनुसार आफ्नो कामकारबाही अघि नबढाउने तथा नियामकीय प्रावधान पालना नगर्ने बिमा कम्पनीलाई प्राधिकरणले सचेत गराउनेदेखि कम्प्लायन्स समेत तिराएको थियो । गत वर्षको जस्तै कारबाही भोग्न नपरोस् भन्ने सोचका साथ हाल बिमा कम्पनीले लाभांश घोषणालाई तीब्रता देखाएको उनले बताए ।

बिमा प्राधिकरणले गत वर्ष ३२ बिमा कम्पनीलाई कारबाहीसमेत गरेको थियो । सात वटै लघु बिमा कम्पनी, १२ निर्जीवन बिमा कम्पनी, १२ वटै जीवन बिमा र १ पुनर्बिमा कम्पनी समयमै वित्तीय विवरण पेश नगर्ने, वित्तीय विवरण स्वीकृत गर्दा राखेका सर्त पूरा नगर्ने तथा प्राधिकरणबाट तोकिएको मापदण्ड उल्लंघन गरेको विषयमा नियामकीय कारबाहीमा परेका थिए ।

कम्पनी ऐन, २०६३ मा प्रत्येक पब्लिक कम्पनीले कारोबार सुरु गर्ने इजाजत पाएको एक वर्षभित्र प्रथम वार्षिक साधारणसभा गर्नु पर्ने र त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पुरा भएको छ महिनाभित्र वार्षिक साधारण सभा गर्नुपर्ने व्यवस्था छ ।

कुनै पब्लिक कम्पनीले म्याद नाघेको तीन महिनाभित्र पनि वार्षिक साधारणसभा नबोलाएमा कार्यालयले त्यस्तो कम्पनीको वार्षिक साधारण सभा बोलाउन दिन सक्ने सम्मको व्यवस्था उक्त ऐनमा गरिएको छ । बिमा ऐन, २०८० को दफा ४३ मा बिमा कम्पनीले लाभांश घोषणा गर्नुअघि तोकिए बमोजिम प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । बिमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० मा लाभांश घोषणा सम्बन्धी व्यवस्था छ जसमा बिमा कम्पनीले पेश गरेको कागजात तथा विवरण जाँच गर्दा उपयुक्त देखिएमा प्राधिकरणले लाभांश घोषणा गर्न स्वीकृति दिन सक्ने प्रावधान छ । यसै निर्देशनमा कागजात तथा विषयको जाँच गर्दा प्राधिकरणले लाभांश घोषणा नगर्न निर्देशन दिन वा शर्तसहित लाभांश घोषणा गर्न स्वीकृति दिन सक्ने सम्मको व्यवस्था छ । यहि व्यवस्थाअनुसार हाल बिमा प्राधिकरणले छिट्टै लाभांश घोषणा गरेका हुन् ।