नाईमाको पहिलो वार्षिक साधारणसभाले पारित गर्यो चालू आवका कार्यक्रम, साउनमा एक्स्पो गर्ने

Dec 18, 2025 12:24 PM merolagani



नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन(नाइमा) ले आफ्नो पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । गत मंसिर २५ मा सम्पन्न उक्त साधारणसभाको अध्यक्षता रितु सिंह वैद्यले गरिन् ।

उक्त सभाले स्थापनादेखि हालसम्मका प्रमुख उपलब्धी र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरु, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरेको छ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले स्थापनाको छोटो अवधिमा नाईमाले देशको मोबिलिटी क्षेत्रको एकीकृत र शसक्त आवाजका रुपमा स्थापित हुन सफल भएको बताइन्। उनले बिगत नौ महिनामा हासिल उपलब्धीहरु प्रस्तुत गर्दै पहिलो नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सफल आयोजनाले समग्र अटोमोबाइल क्षेत्रका सरोकारवालाहरुलाई एकै थलोमा प्रदर्शनी अवलोकन गर्ने अवसर र मोबिलिटी क्षेत्रका सिकाई सत्रहरु निरन्तर सञ्चालन गरिनुले संस्थाको भुमिकालाई अझ बृहत्तर र विश्वसनिय बनाएको बताइन् ।

नाईमा कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तिय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गरेका थिए ।

उनले दीर्घकालिन उद्देश्य हाँसिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनप्रति कार्यालयको प्रतिवद्धता दोहोर्याए । त्यसैगरी सभाले २०८२/८३ का कार्यक्रम पारित गरेको छ, जसमा नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिमहरु, क्षेत्रगत अध्ययन अनुसन्धान, नीतिगत वहस पैरवी, नाइमा मोबिलिटी एक्स्पो २०२६ को आयोजनालगायतका विषयहरु सामेल छन् । नाईमाले आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा नाईमा एक्स्पो २०२६ आयोजना गर्ने तयारी गरेको छ ।

सभाले संस्थागत सुदृढिकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने र मेगाटेक ग्रुप लिमिटेडलाई नयाँ सदस्यको रुपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यको रुपमा मनोनित गरेको छ ।

सम्भावित र योग्य व्राण्डहरुलाई समावेश गर्दै मोबिलिटी क्षेत्रका सामूहिक हितका विषयमा नियमित संवाद जारी राख्ने प्रतिबद्धता उक्त सभाले गरेको छ । सभाको समापन गर्दै अध्यक्ष वैद्यले सबै सदस्यहरुलाई धन्यवाद दिदै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालिन उन्नतिका लागी नाईमाले सक्रिय भुमिका खेलिरहने प्रतिवद्धता व्यक्त गरिन् ।