सुन चाँदी आयातमा राष्ट्र बैंकको प्रोत्साहन, व्यवसायी भन्छन्-नियमन हुन नसके अपचलनको ठूलो खतरा

Dec 29, 2025 03:00 PM merolagani



सुवास निरौला

नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र २०८१ मा संशोधन गर्‍यो। संशोधित परिपत्रले चाँदी आयत ४ गुणाले बढायो।

यस अघि औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्थालाई संशोधन गरेर केन्द्रीय बैंकले उद्योगको लागि अमेरिकी डलर २० लाख र अन्य व्यवसायीको लागि अमेरिकी डलर चार लाखको सीमासम्म हुने गरी सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गर्‍यो।

 

नेपाल राष्ट्र बैंकले भविष्यमा बढ्न सक्ने मागलाई हेरेर अहिले नै आयात कोटा बढाइएको औपचारिक रुपमा बतायो। तर बढ्दै गएको अमेरिकी डलर सञ्चिति कम गर्नलाई राष्ट्र बैंकले सुन चाँदी आयतमा खुकुलो नीति लिएको राष्ट्र बैंक स्रोत बताउँछ।

राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिक महिनासम्मको विवरण अनुसार २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा अमेरिकी डलरको सञ्चिति १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ।  अमेरिकी डलरको सञ्चिति बढेकै कारण शोधनान्तर स्थिति बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको कात्तिकको विवरणमा उल्लेख छ।

विदेशी मुद्रा सञ्चिति बढ्दै गएको कात्तिकमा मात्रै होइन, हरेक महिना यस्तो सञ्चिति बढ्दो छ। जसलाई व्यवस्थापन गर्न पनि सुनचाँदी आयातमा खुकुलो नीति अघि सार्न थालिएको हो। जबकि नेपालमा सुनको माग घटिरहेको छ। तर नेपाल राष्ट्र बैंकले २०८२ असोज २४ मा सुनको दैनिक आयात कोटा २० किलोबाट बढाएर २५ किलो पुर्‍यायो। जबकि अहिले सुनको माग नै छैन। भन्सार विभागकाअनुसार मङ्सिर महिनामा वाणिज्य बैंकहरुले सुन नै आयात गरेनन्। सुनको माग नै नभएको कारण मंसिरमा सुन आयात नगरिएको बैंकर एसोसिएसनले जनाएको छ। अहिले आएर केन्द्रीय बैंकले चाँदी आयातमा पनि थप सहुलियत बढाएको छ।

सुनचाँदी व्यवसायीका अनुसार चाँदी आयातमा गरिएको प्रोत्साहनले खतरा निम्त्याउने छ। किनकि अहिले दैनिक रुपमा चाँदीको मूल्य बढिरहेको छ। जसले गर्दा सर्वसाधारणले चाँदीका सरसमान खरिद गर्ने भन्दा पनि ढिक्कैको माग बढी गरिरहेका छन्। जसले गर्दा सरसमान बनाउने उद्योगले समान बनाउने भन्दा पनि बढी ढिक्कै बिक्री गर्ने सम्भावना रहेको व्यवसायीले बताएका छन्।

“अहिले चाँदीका सरसमान किन्न खोज्ने भन्दा पनि ढिक्कै किन्न खोज्ने बढी छन्। जसले गर्दा उद्योगको लागि भनेर चाँदी आयात गरेर नेपाली बजारमा ढिक्कै बिक्री गर्ने क्रम बढ्ने सम्भावना छ। जसले अपचलनलाई प्रोत्साहन गर्ने छ,” सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले मेरो लगानीसँग भने।

शाक्य भन्छन्-नियम त निर्यात नै गर्नु पर्छ भन्ने छ। तर निर्यात भए/नभएको वा समान नै बनाएर बिक्री गरे/नगरेको अनुगमन कसले गर्छ? त्यसकारण उच्च नियमन हुन नसके बढेको आयात कोटाले विसङ्गति ल्याउने छ।

यता दोस्रो बजारमा जति जति चाँदीको मूल्य बढ्दै गइरहेको छ। त्यति त्यति नै चाँदीको माग बढ्दो छ। चाँदीमा पनि ढिक्कै "बार” र मसिना दाना “ग्रेल” माग गर्ने बढी छन्। बार ग्रेल माग गर्नेलाई केही व्यवसायीले महासंघले तोकेको मूल्यमा थप प्रिमियम लिएर बिक्री गर्ने गरेका छन्। अझै व्यवसायीले पाँच प्रतिशतसम्म अतिरिक्त शुल्क माग गरेको समेत सर्वसाधारणको गुनासो छ। तर त्यस विषयलाई महासंघले स्वीकार गर्ने गरेको छैन। खरिद गर्नेले महासंघले तोकेकै मूल्यमा पाउँछन् भने बिक्री गर्न चाहनेले तोकिएको मूल्यमा एक सय रुपैयाँ कममा बिक्री गर्न सक्ने महासंघका पदाधिकारीहरू बताउँछन्। तर बजारमा भने चाँदी अभाव देखाएर प्रिमियम असुल्ने क्रम भने बढ्दो छ।