यद्दपि सीईओ चापागाईँले एसएमइ प्लेटफर्मको काम अन्तिम चरणमा पुगेका बताएका छन् । नेप्सेले गर्न नसकेका र गरिररहेका कामहरूकाे बारेमा मेराे लगानीका उपसम्पादक सुवास निराैलाले चापागाईँसँग कुराकानी गरेका छन् ।

पछिल्लो समय नेप्से कर्मचारी र सञ्चालक बीचको जुन लफडा थियो त्यसको अवस्था अहिले के छ ?
कर्मचारीहरूले लामो समयदेखि बोनसको माग गर्दै आइरहनु भएको थियो। त्यसका लागि साथीहरूले श्रम अदालतबाट पनि निकास पाउनु भएको थियो। त्यसलाई कार्यान्वयन गर्नु पर्छ भन्ने उहाँहरुको माग थियो। तर सञ्चालक समितिले थप प्रस्टिनको लागि सर्वोच्च अदालतमा रिट दायर गरेको छ। त्यस कारण अहिले त्यो विषय अदालतमा विचाराधीन अवस्थामा छ। अदालत प्रवेश गरेको विषयमा धेरै बोल्न पनि मिल्दैन। अदालती प्रक्रियामा छ भन्दा हुन्छ होला।
भनेपछि सर्वोच्चले जस्तो आदेश गर्छ त्यही नै स्वीकार गरेर अघि बढ्ने भन्ने हो ?
हो। सर्वोच्च अदालतको फैसला कस्तो आउँछ। त्यसलाई हामी अक्षरशः पालना गरेर जाने छौ।
तपाईँ नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख भएर आउनु भएको ९ महिना भयो। तपाईँ आइसकेपछि के के उपलब्धि हासिल गर्नु भयो ?
पक्कै पनि उपलब्धिहरू हासिल भएकै छन्। खासगरि उपलब्धिमा पनि सञ्चालन वा भनौँ दैनिक अपरेसनका कामहरूमा निक्कै अघि बढिएको अवस्था छ। पहिले पनि नराम्रो थियो भन्न खोजेको होइन। तर पहिले भन्दा एक कदम अघि बढेको अवस्था छ। तर यति भन्दा भन्दै पनि नीतिगत कुराहरू भएका छैनन्। नीतिगत कुराहरू हामी आफैले परिवर्तन गर्न सक्दैनौ। त्यसमा हामीले पनि भर पर्नु पर्ने हुन्छ। त्यसकारण लगानीकर्ताले अभाष गर्ने गरी उपलब्धि देखिँदैन। तर यति भन्दा भन्दै पनि सञ्चालन तर्फ र हामीसित काम गर्नेहरूले निक्कै फरक पाइसक्नु भएको मैले नै प्रतिक्रिया पाएको छु।
कस्तो किसिमको फरक पाएको प्रतिक्रिया तपाईँले पाउनु भएको छ ?
म नेप्सेमा आएपछि नेप्सेको वेबसाइटमा फिड ब्याक दिने व्यवस्था गर्यौ। त्यसमा अहिले देश विदेशबाट लगानीकर्ताहरूले समस्या राख्नु हुन्छ। त्यसलाई हेर्ने हामीले छुट्टै व्यवस्था गरेका छौ। के के समस्या आएका छन् भनेर हामीलाई दैनिक नै रिपोर्टिङ गर्नु हुन्छ। रिपोटिङका आधारमा हामीले समस्या समाधान गर्ने गरेका छौ।
दोस्रोमा अडलट कारोबार सुरु गर्यौ। त्यसले पनि आम सर्वसाधारण लगानीकर्तालाई निक्कै ठूलो राहत दिएको अनुभूति हामीले गरेका छौ। त्यसको हामीलाई राम्रो प्रतिक्रिया आइरहेको छ।
हाम्रोमा अहिले ९ वटा शाखा छन्। त्यसमा तीन वटा शाखाले फ्रन्टलाइनमा बसेर काम गर्ने गरेको छ। हाम्रोमा कुनै पनि काम दुई दिन भन्दा ढिलो भयो भने त्यसको रिपोर्टिङ हुन्छ। यो कस्तो कन्सेप्ट हो भने सेवाग्राहीलाई जति सक्दो काम गरेर दिने भन्ने हो।
अर्को भनेको कर्मचारीहरूले राम्रो काम गर्दा गर्दै पनि विभिन्न माध्यमबाट टिकाटिप्पणी सुन्नु पर्ने अवस्था सिर्जना हुन्छ। त्यसले काम गर्ने वातावरण हुँदा हुँदै पनि तनाबमा लैजान सहयोग गर्ने भएकोले त्यस्तो नहोस् भन्नको कर्मचारीहरूको लागि मेडिटेसनको तालिम पनि आयोजना गर्यौ।
एउटा रमाइलो कुरा मैले नेप्सेमा आएपछि नेप्सेका कर्मचारीहरूलाई तीन महिना व्रत पनि बस्न लगाएँ। वैशाख, जेठ र असार महिना कर्मचारीहरू व्रत बस्नु भयो।
कस्तो खालको व्रत हो ?
व्रत भनेको फेरि कुनै देवी देवताको लागि गरिने पेट फास्टीङ भने होइन, माइन्ड फास्टिङ हो। माइन्ड फास्टीङ गर्दा नेगेटिभ कुराबाट टाढा रहनु पर्छ। एकदमै एप्रिसिएट गरेर काम गर्ने। काम गर्ने वातावरणलाई एकदमै स्वस्थ्य तरिकाले गर्ने। त्यसो गराइएकोमा कर्मचारी साथीहरू अहिले निक्कै खुसी हुनुहुन्छ।
व्रत बस्दा बस्दै त्यही अवधिमा कर्मचारीहरूले आन्दोलन नै गरे। तपाईँका विरुद्धमा नाराबाजी देखि अनेक नेगेटिभ कुरा त्यही बेला देखियो नि ?
कर्मचारीहरूको आन्दोलन भनेको नितान्त नीतिगत कुरामा भएको थियो। त्यो कुनै व्यक्तिगत आन्दोलन थिएन। त्यस कारण त्यो विषयलाई काममा मिसाउन मिल्दैन। बोनस ऐनले एक किसिमको व्यवस्था गरेको र अर्को तर्फ कर्मचारीले आफ्नो माग राख्नु जायज नै कुरा हो। त्यस कारण अहिले इन हाउस हामी एकदमै राम्रो वातावरणमा काम गरिरहेका छौ।
तपाईँले अगि भन्नुभयो अडलटलाई देखाउने व्यवस्था गर्यौ। के त्यसलाई वेबसाइटमा नभएर टिएमएसमा नै देखाउन मिल्ने बनाउन सकिँदैन थियो ?
अहिलेको नियम अनुसार अडलट कारोबारको इम्प्याक्ट इन्डेक्समा पर्दैन। त्यसकारण हामीले टिएमएसमा व्यवस्था नगरेको हो। देखाउन नसकिने भन्ने होइन। त्यसबाट देखाउनको लागि टिएमएसको कोर सिस्टम नै परिवर्तन गर्नुपर्ने हुन्छ। त्यसकारण हामीले कोर सिस्टमलाई चलाउन चाहेनौ।
तपाईँले नीतिगत कुराहरू पनि केही हुन सकेको छैन भन्नु भयो खासमा हामीले कस्ता विषयमा नीतिगत सुधार गर्न खोजिरहेको हो ?
नीतिगत कुरामा तपाईँहरूलाई पनि थाहा छँदै छ। हामी एसएमइ प्लेटफर्मको अन्तिम चरणमा छौ। आउने बोर्ड बैठकमा हामी पास गर्ने छौ। हामीले त्यसको ग्याप एनालाइसिस पनि गरिसकेका छौ। त्यही भए हामीलाई अलि बढी समय पनि लाग्यो। हामीले बोर्ड बैठकबाट पास गरेर पठाउँछौ। बोर्डबाट पास भएर आएपछि हाम्रो बोर्ड बैठकले लागु गर्न भन्छ। त्यो भनेको एक महिनामा हामी कार्यान्वयनमा लैजाने छौ।
बुक बिल्डिङको काम किन रोकिएको हो ?
बुक बिल्डिङको काम हामीले रोकेकै छैनौ। रोक्ने कुरा पनि हुँदैन। तर यति हुँदा हुँदै पनि तपाईँलाई थाहा भएकै विषय हो। बुक बिल्डिङ मार्फत शेयर निष्कासन गर्न चाहने कम्पनीको कुरा, त्यस विषयमा धितोपत्र बोर्डको कुरा अनि आम सर्वसाधारणको आकर्षण। तर यी सब कुराकानीको बीचमा पनि बुक बिल्डिङको विषय अझै छलफलमा नै छ। तथापि हामीसँग भएको पुरानै व्यवस्था अनुसार अघि बढ्नको लागि धितोपत्र बोर्डसँग समन्वय गरेका छौ। समन्वयकै क्रममा धितोपत्र बोर्डले बुक बिल्डिङको विषयमा हामी थप अध्ययन गरिरहेका छौ। चाँडै हामी केही गाइड लाइन बनाएर पठाउँछौ अनि अघि बढ्नुहोला भन्ने अनौपचारिक छलफल चलेका कारण मात्रै अहिले रोकिएको जस्तो देखिएको हो।
बजारमा नयाँ नयाँ इन्सटुमेन्टहरुको कुरा उठेको पनि धेरै समय भयो त्यस विषयमा केही हुँदै छ कि छैन ?
अहिले सरकारले नेप्से पुनरर्संरचना कमिटी गठन गरेको छ। त्यसले गर्दा हामी अहिले पर्ख र हेरको अवस्थामा नै छौ। कमिटीलाई ५० दिनको समय दिइएको छ। त्यो आउन अब धेरै छैन। पुस मसान्तसम्म कमिटीले रिपोर्ट बुझाउँछ। त्यसले कस्तो सुझाव दिन्छ। त्यो हेर्नु पर्ने हुन्छ। अहिलेको नै सिस्टमलाई नै अघि बढाउनु भन्छ कि नयाँ सिस्टम बनाउनु पर्ने सिफारिस गर्छ। त्यो आइसकेपछि सरकारले कस्तो निर्देशन दिन्छ। त्यस अनुसार नै हामी अघि बढ्छौ।