गत आइतबारको बजार फराकिलो अंकको वृद्धि सहित बन्द भयो । सो दिन झण्डै ४७ अकं बढीको वृद्धि भएको थियो । त्यसपछि सोमबार सामान्य अंकले करेक्सन भएको बजार बुधबार पुनः बढेर बन्द भएको छ । लामो समयदेखि साघुरो अंकको उतारचढाबसहित करोबार हुँदै आएको बजारमा धेरै दिनको अन्तरालमा बढ्न सुरु गरेको हो ।

शेयर बजार बढ्नु पर्ने आधारहरु प्रशस्तै बनेपनि बजारले गति लिन सकेको थिएन । शेयर सुधारका लागि सरकार र सरोकारवाला निकायहरु सकारात्मक छन् । निरन्तर घट्दो अवस्थामा रहेको बैंक तथा वित्तीय संस्थाको ब्याजदर, प्रणालीमा भएको अधिक तरलताले लगानीकर्ताको मनोवल बढाउन सकेन । सरकारले पूँजी बजार सुधार कार्यदलले बुझाएको सुझाव कार्यान्वयन गर्दै छ ।
नेपाल राष्ट्र बैंकले बजारसँग सम्बन्धित नीतिगत बाधाहरु फुकुवा गर्यो । बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानी गर्नका लागि सहज गर्दापनि बजारमा त्यसको सकारात्मक प्रभाव पर्न सकेको छैन् । यसरी चौतर्फी रुपमा भएको सुधार र सम्भावनालाई लगानीकर्ताको मनोवलले ओझेलमा नै पारेको देख्न सकिन्छ ।
दोस्रो बजार लगानीकर्ताको मनोभावनाले चल्ने हो । अबको बजारमा नीतिगत खासै बाधा छैनन् । मुलुकमा देखिएको राजजीति घटनाक्रमले नै लगानीकर्ताको आत्मविश्वास कमजोर बनाएको थियो। राजनीतिले पनि निकास पाउने संकेत देखिएपछि बजारमा लगानीकर्ताको चासो बढ्न थालेको छ ।
राजनीतिमा वैकल्पिक शक्तिको रुपमा लिइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान धिसिङबीच सहकार्य गर्ने सहमति भएपछि बजारले सकारात्मक संकेत देखाउन खोजेको हो । त्यसैगरी, आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची बुझाई सकेका छन् । निर्वाचन आयोगले तोकेको समय तालिका अनुसार राजनीतिक दलहरुले नामावली बुझाएका छन्।
राजनीतिमा देखिएको नयाँ र पुराना दलहरुले आफ्ने तयारी अनुसार समानुपातिक उम्मेदवार छनोट गरेका छन् । यसले अब निवार्चन हुनेमा आम विश्वस्त भएको बुझ्न सकिन्छ । निर्वाचनपछि राजनीति स्थिरता हुने विश्वास गरिएको छ । जसले विगत लामो समयदेखि साईडवयजमा रहेको शेयर बजारले गति लिने लगानीकर्ताहरुको विश्वास छ ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनले समेत दोस्रो बजारमा उर्जा प्रदान गरेको छ । उक्त सुधार सुझाव कार्यदलले समेत पूँजी बजारमा अझ लचक हुनुपर्ने र राष्ट्र बैंकले सहजिकरण गर्नुपर्ने कुरामा जोड दिएको छ ।
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदले बुझाएको प्रतिवेदनमा पुँजी बजारसम्बन्धी एजेन्डामा केन्द्रीय बैंकका प्रतिनिधि नेप्सेबाट फिर्ता बोलाउने, मार्जिन कर्जामा विश्व अभ्यास अपनाउने अर्थात ब्रोकरबाट मार्जिन कर्जा प्रवाह गर्ने वातावरण मिलाउने, एनआरएनलाई दोस्रो बजारमा सहजीकरण गर्ने उल्लेख गरेको छ । उक्त कार्यदलको प्रतिवेदनले समेत दोस्रो बजारमा उर्जा दिएको लगानीकर्ताहरुको बुझाई छ ।
त्यसैगरी, २०८२ असोज मसान्तसम्म प्रवाह भएको शेयर धितो कर्जामा थप कुनै पनि जरिवाना नलगाउने, जसले लगानीकर्ताको मनोबल उच्च राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । धितो कर्जाको जोखिम भार पुनरावलोकन गरी बजारको स्थायित्वमा सघाउ पुग्ने उल्लेख गरेको छ भने ग्रिन बण्ड सहित वण्ड बजार विकासमा धितोपत्र बोर्डसँग समन्वय गर्न समेत कार्यदलले सुझाव दिइएको छ ।
समग्र परिस्थितीहरु बन्दाबन्दै दोस्रो बजार पर्ख र हेरको अवस्थामा थियाे । यो विन्दुबाट बजार उठ्नका लागि बजारले राजनीति स्थिरता पर्खेर बसेको थियो । राजनीतिमा केही सुधारको संकेत देखिएपछि बजार सकारात्मक दिशा तर्फ बढ्दै जान थालेको छ । यद्यपि बजारमा अझै अपेक्षित कारोबार रकम आउन सकेको छैन । यस्तो अवस्थामा संस्थागत लगानीकर्ताले समग्र राजीतिक र आर्थिक गतिविधिलाई मध्यनजर गरेर लगानी बढाउने रणनीतिमा रहेको बुझाई छ ।