ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ। यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन्।
विभिन्न संवतको अध्ययन अनुसन्धानमा लाग्नुभएका डा. शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन् को प्रभाव विश्वव्यापी बन्दै गएको बताउछन्।
३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन। त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ।
इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा. पन्तले बताए।
पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ। नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ।