धितोपत्र बोर्डका कर्मचारीलाई कुलिङ पिरियड लाग्दै, जागिर छाडेको कति समय अर्को संस्थामा काम गर्न पाउँदैनन् ?

Jan 01, 2026 05:04 PM merolagani



सुवास निरौला

नेपाल धितोपत्र बोर्डका कर्मचारीलाई कुलिङ पिरियड लागु गरिँदै छ। भटाभट कर्मचारीहरूले जागिर छोडेर अन्यत्र जान थालेपछि कर्मचारीलाई कुलिङ पिरियडको व्यवस्था गर्न लागिएको हो।

आउने दिनमा बोर्डका कर्मचारीले जागिर छोडेको एक वर्षसम्म अन्त कतै काम गर्न पाउने छैनन्। तर बोर्डकाे उक्त व्यवस्था नियमन गर्ने संस्थामा मात्र लागु हुने छ।  

नेपाल धितोपत्र बोर्डले  “नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा सर्त नियमावली, २०६८” संशोधन गर्दै छ। सोही संशोधित नियमावली मार्फत उक्त व्यवस्था गर्न लागिएको हो। धितोपत्र बोर्ड कर्मचारी सेवा सर्त (पाँचौँ संशोधन) नियमावली, २०८० को मस्यौदा सो विषय उल्लेख छ। नियमावलीमा नियम १६४ क थप गर्दै सो व्यवस्था गर्न लागिएको हो। जुन यस अघि थिएन। १६४ 'क' मा काम गर्न नपाइने व्यवस्था थपिएको छ। जसमा “बोर्डको सेवाबाट अलग भएको अधिकृत प्रथम श्रेणी वा सो भन्दा माथिल्लो दर्जाको कर्मचारीले बोर्डको सेवाबाट अलग भएको एक वर्षसम्म बोर्डले नियमन गर्ने अनुमति पत्र प्राप्त संस्थाको कुनै पनि पदमा रहेर काम गर्न पाउने छैन,” मस्यौदामा उल्लेख छ।

“बोर्डको सेवाबाट अलग भएको अधिकृत र प्रथम श्रेणी वा सो भन्दा माथिको कर्मचारीलाई स्वार्थ बाझिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै कम्तीमा एक वर्ष कुलिङ समय राख्न आवश्यक देखिएको,” संशोधनको कारणको रुपमा मस्यौदाको तीन महलेमा खुलाइएको छ।

नेपाल धितोपत्र बोर्डले २०८२ साउन ७ गते धितोपत्र बोर्ड कर्मचारी सेवा सर्त (पाँचौँ संशोधन) नियमावली, २०८० संशोधनको लागि अर्थ मन्त्रालय पठाएको हो। नेपालको संविधानको धारा २४३ को उपधारा (४) बमोजिम परामर्शको लागि पठाइदिन भन्दै अर्थ मन्त्रालय पठाएको थियो। नेपालको संविधानको धारा २४३ को उपधारा (४) मा “(४) कुनै सङ्गठित संस्थाको सेवाका कर्मचारीको सेवाका सर्त सम्बन्धी कानुन र त्यस्तो सेवाका पदमा बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगको परामर्श लिनुपर्नेछ” उल्लेख छ। सोही कारण रायको लागि भन्दै सेबोनले अर्थ पठाएको हो। अर्थले गएको पुस ९ गते रायको लागि नियमावली लोक सेवा पठाएको हो। सेबोनको तालुकदार मन्त्रालय अर्थ हो। सोही कारण उसले आफ्नो तालुकदार मन्त्रालय मार्फत राय मागेको हो। सेबोनको अरू नियमका हकमा भने नेपाल सरकार मन्त्रीपरिषद्ले स्वीकृत गर्नु पर्ने नियम छ। तर अहिले सरकारले सेबोनको नियम स्वीकृत गर्ने अधिकार अर्थमन्त्रीलाई प्रत्यायोजन गरेको छ। त्यसकारण अहिले सेबोनका नियम अर्थमन्त्रीले नै स्वीकृत गर्ने गर्छन्।

पछिल्लो समय सेबोनका कर्मचारीले जागिर छोड्ने लहर नै चलेको छ। सेबोनमा अहिले कार्यालय सहयोगी देखि विशिष्ट श्रेणीसम्म काम गर्ने कर्मचारी छन्। पछिल्लो समय धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएपछि सात जना कर्मचारीले जागिर छाडिसकेका छन्। अधिकृत देखि विशिष्ट श्रेणीसम्मका कर्मचारीले जागिर छाडेका हुन्। गत पुसमा मात्रै कार्यकारी निर्देशक कृष्णराज पोखरेलले राजीनामा दिएका थिए। त्यसपछि जागिर छाड्नेको लहर नै चल्यो। पोखरेल पछि डेपुटी कार्यकारी निर्देशक कृष्ण घिमिरे, निर्देशक अत्र्जु महतो र ऋषिराज पण्डित, सहायक निर्देशक रोशन राई तथा चार्टड एकाउन्टेन्ट नमुना जोशी र आरती कोइरालाले जागिर छोडे।

 

सेबोनको जागिर छाडेर रोशन राई नेपाल राष्ट्र बैंक पुगेका छन् भने ऋषिराज पण्डितले एचआइडिसिएलमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा काम थालेका छन्। कुलिङ पिरियडको व्यवस्था यस अघि नै भएको भए पण्डितले तत्कालै काम गर्न पाउँदैन थिए। किनकि एचआइडिसिएल सेबोनले नियमन गर्ने संस्था हो।

नमुना जोशी अहिले मेट लाइफ इन्स्योरेन्समा कार्यरत छिन् भने आरती कोइराला सामाजिक सुरक्षा कोष प्रवेश गरेकी छन्।

आउने दिनमा भने कर्मचारीले जागिर छाड्ने बित्तिकै अर्को संस्थामा काम गर्न त पाउने छन्। तर उक्त संस्था सेबोनले नियमन गर्ने हुनु हुँदैन। सेबोनले नियमन गर्ने संस्थामा काम गर्नको लागि भने कर्मचारी एक वर्ष कुर्नु पर्ने छ।   




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।