अर्थशास्त्रको सामान्य नियम नै न्यूनतम मूल्यमा पुगेको बेला किन्ने हाे र उच्चतम मूल्यमा बिक्री गर्ने हो भने लाभ लिन सकिन्छ भन्ने छ । अर्थशास्त्रको यो सामान्य नियमलाई 'फलो' गर्ने हो भने पनि अहिले चाँदी बिक्री गरेर शेयर खरिद गर्दा नाफा लिन सकिने सम्भावना छ ।
शेयर खरिद गर्न किन कम चासाे
शेयर खरिद गर्नका लागि नीति नियम सबै अनुकुल हुँदा हुँदै पनि लगानीकर्ताहरु शेयर खरिद तर्फ कम रुची देखाएका छन् । यसको खास कारण राजनीतिक अन्योलता नै हो । खासगरी आगामी फागुन २१ गते निर्वाचन हुने हो कि होइन ? निर्वाचन हुने भयो भने पनि शान्ति सुरक्षाको अवस्था के हुने हो ?

गत अदौ २३ र २४ को जस्तो अवस्था मुलुकले फेरि भोग्नु पर्ने हो कि ? भन्ने जस्ता आंशकाले गर्दा शेयर बजारप्रति लगानीकर्ताले खासै रुची नदेखाएका हुन् । अहिले लगानीकर्ताहरु पख र हेरको अवस्थामा छन् । फागुन २१ को निर्वाचन हेरेर बसेका छन् । यदी निर्वाचन भयमुक्त वातावरणमा सम्पन्न भयो भने शेयर बजारले गति लिने अपेक्षा गरिएको छ ।
पछिल्लो समय लगानीकर्ताको मोह चाँदीमा
पछिल्लो समय चाँदीमा लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ । चाँदीको मूल्यले निरन्तर रेकर्ड ब्रेक गर्दै गएपछि चाँदी खरिद गर्दा उच्च नाफा हुने सम्भावना देखेपछि लगानीकर्ताहरु त्यतातिर मोडिएका हुन् ।
चाँदीको मूल्य अचाक्ली बढेको छ । यस्तो बेलामा लगानीकर्ता सचेत हुनु पर्ने विज्ञहरुको सुझाव छ ।
नेपालको नीति नियमले पनि चाँदी खरिद गर्न उक्साइ रहेको छ । नेपाल राष्ट्र बैंकले हालै एकीकृत परिपत्र २०८१ मा संशोधन गर्यो । संशोधित परिपत्रले चाँदी आयत ४ गुणाले बढायो । यसले पनि लगानीकर्ताहरु चाँदी तर्फ होमिएका हुन् ।
यस अघि औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्थालाई संशोधन गरेर केन्द्रीय बैंकले उद्योगको लागि अमेरिकी डलर २० लाख र अन्य व्यवसायीको लागि अमेरिकी डलर चार लाखको सीमासम्म हुने गरी सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गर्यो ।
राष्ट्र बैंकको यस्तो नियमले पनि लगानीकर्तालाई चाँदी किन्न प्रोत्साहन गर्दै आएको छ । के साँच्चै नै चाँदी खरिद गर्दा उच्च प्रतिफल पाउलान ? अहिले यो प्रश्नले लगानीकर्ताको दिमाग खल्बल्याएको छ अर्थात लगानीकर्ता सोच्न बाध्य भएका छन् ।
विज्ञहरु शेयर खरिद गर्न भन्छन् कि चाँदी ?
विज्ञहरुले बेला बेला के किन्दा ठिक हुन्छ भनेर सल्लाह दिने गर्छन् । उनीहरुको सल्लाह कहिले काँही ठ्याक्कै मिल्न सक्छ । प्रसिद्ध आर्थिक विज्ञ पिटर शिफ जसलाई ‘डाक्टर डुम’ भनेर पनि चिनिन्छ । उनले सन् २००८ को संकट आउँछ भनेर भविष्यवाणी गरेका थिए । त्यसबेला उनको भविष्यवाणी मिलेको पनि थियो ।
सन् २००८ को वित्तीय संकटको भविष्यवाणी गरेर चर्चामा आएका डाक्टर डुमले लगानीकर्तालाई अहिले नै चाँदीमा लगानी गर्नबाट बच्न सल्लाह दिएका छन् ।
सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा एक पोस्टमा डाक्टर डुमलले भनेका छन्, ‘चाँदी बजार हाल अत्यधिक जोखिमपूर्ण छ । अहिले भौतिक चाँदी किन्दा छोटो अवधिको जोखिम धेरै उच्च छ । यद्यपि, म मेरो चाँदी बेचिरहेको छैन । किन्नुअघि यो स्थिर नभएसम्म पर्खिनु बुद्धिमानी हो ।’
यदि चाँदी निरन्तर घट्दै गयो भने यो किन्न सुरक्षित हुने उनको सुझाव छ । यता नेपालको शेयर बजार पनि निरन्तर ओरालो लागेर २६ सय विन्दुकाे वरपर आएर रोकिएको छ । शेयर बजार अब धेरै तल झर्ने ठाँउ नभएको विज्ञहरुको भनाइ छ । यस्तो बेलामा उच्चतम मूल्यमा पुगेको चाँदी किन्नु भन्दा शेयर किन्नु उत्तम हुने निश्कर्ष उनीहरुको छ ।