समृद्धि र पोखरा फाइनान्सले मर्जरमा जान स्वाप रेसियो तय गरे, कस्तो रहने भयो शेयरधनीको हैसियत ?

Jan 05, 2026 11:26 AM merolagani



मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच शेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो) १ः१ कायम गर्ने सहमति भएको छ।

आइतबार बसेको दुवै फाइनान्सको सञ्चालक समिति बैठकले संयुक्त मर्जर समितिले सिफारिस गरेको उक्त स्वाप रेसियोलाई पारित गरेको हो। २०८२ साउन ४ गते मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका यी दुई संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको विस्तृत मूल्याङ्कन (डीडीए) गर्न नियुक्त मूल्याङ्कनकर्ताले बुझाएको प्रतिवेदनका आधारमा बराबरी हैसियतमा एकीकृत कारोबार गर्ने निर्णय लिइएको हो।

यस प्रक्रियासँगै अब दुवै संस्थाको पछिल्लो वित्तीय अवस्थालाई हेर्दा पोखरा फाइनान्सको स्थिति तुलनात्मक रूपमा सुदृढ देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २० लाख रुपैयाँ रहेको छ भने यसको जगेडा कोषमा ५१ करोड भन्दा बढी रकम सञ्चित छ । कम्पनीले करिब ११ अर्ब ८० करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा समीक्षा अवधिमा १ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, कम्पनीको खराब कर्जा (एनपीएल) ४.३४ प्रतिशत रहेको छ।

अर्कोतर्फ, समृद्धि फाइनान्सको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ भने यसले पछिल्लो त्रैमासमा ५० लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। ३ अर्ब २७ करोड निक्षेप सङ्कलन गरी २ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको समृद्धिको जगेडा कोष भने २६ करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। 

 

बराबरी हैसियतमा मर्जर भएपछि बन्ने एकीकृत संस्थाको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ नाघ्नेछ, जसले कम्पनीको पूँजीगत आधारलाई थप बलियो बनाउनेछ । स्वाप रेसियोको टुङ्गो लागेसँगै अब दुवै संस्थाले मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने र साधारण सभाबाट प्रस्ताव पारित गर्ने प्रक्रिया अगाडि बढाउनेछन्।