विन नेपाल लघुवित्तको शेयर मूल्य 'अस्वाभाविक' लयमा, मर्जरको सूचनापछि सर्किट टू सर्किटको खेल, नियामकको निगरानी आवश्यक

Jan 05, 2026 12:45 PM merolagani



बनेपामा केन्द्रीय कार्यालय रहेको विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड  र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जरमा जाने प्रारम्भिक समझदारी भएको सूचना सार्वजनिक भएसँगै शेयर बजारमा एक अनौठो र शङ्कास्पद दृश्य देखिएको छ।  

गत पुस ९ गते दुई संस्थाबीच मर्जरको सम्झौता भए लगत्तै ओरालो लागेको विन नेपालको शेयर मूल्य अहिले फेरि 'यू-टर्न' हुँदै लगातार सकारात्मक सर्किट लाग्न थालेको छ, जसले बजारमा ठूलो चलखेलको आशङ्का उब्जाएको छ ।

मर्जरको प्रारम्भिक सम्झौता हुँदा विन नेपालको शेयर मूल्य निकै माथि थियो। तर, स्वरोजगार लघुवित्तजस्तो ठूलो पुँजी भएको संस्थासँग मर्जरमा जाँदा स्वाप रेसियोका कारण आफ्नो शेयरको भ्यालु घट्ने डरले लगानीकर्ताहरूले धमाधम शेयर बेच्न थालेका थिए। सोही कारण केही दिन विन नेपालको शेयर मूल्यमा नकारात्मक सर्किट समेत लागेको थियो। तर, एकाएक बजारमा माग बढेको देखाएर मूल्यलाई पुनः माथिल्लो सर्किटतर्फ डोर्‍याइएको छ।

 

यो अवस्थाले विगतमा समाज लघुवित्तको मर्जर प्रक्रियामा देखिएको चलखेलको सम्झना गराएको छ। बजारका जानकारहरूका अनुसार, विन नेपालको हालको वित्तीय अवस्था र स्वरोजगारसँगको सम्भावित स्वाप रेसियोलाई हेर्ने हो भने अहिलेको उच्च मूल्य कुनै पनि हालतमा टिक्ने देखिँदैन। मर्जरपछि स्वाप मिलान हुँदा अहिले महँगोमा शेयर किन्ने लगानीकर्ताले ठूलो पूँजीगत नोक्सानी बेहोर्ने निश्चित प्रायः छ।

यस्तो अवस्थामा पनि शेयर मूल्य लगातार बढ्नुले 'कर्नरिङ' वा 'पम्प एण्ड डम्प' को आशङ्कालाई बल पुर्‍याएको छ । ठूला खेलाडीहरूले आफ्नो हातमा रहेको शेयर उच्च मूल्यमा सर्वसाधारणलाई भिडाउनका लागि कृत्रिम माग सिर्जना गरेर मूल्य बढाएको हुनसक्ने देखिएको छ। विन नेपालको चुक्ता पूँजी सानो भएकाले थोरै कित्तामा पनि चलखेल गर्न सजिलो हुने पक्षलाई गिरोहले उपयोग गरिरहेका छन् ।

विगतमा अन्य लघुवित्तहरूको मर्जरमा पनि यस्तै 'सर्कुलर ट्रेडिङ' गरेर मूल्य बढाउने र पछि सर्वसाधारण फसेपछि मूल्य ओरालो लाग्ने गरेको थियो। त्यसैले, विन नेपालको मर्जरपछिको वास्तविक मूल्य (Adjusted Price) अहिलेको बजार मूल्यभन्दा धेरै तल झर्ने प्राविधिक विश्लेषणले देखाउँछ। यस्तो जोखिमपूर्ण समयमा आधारभूत पक्ष र मर्जरपछिको वास्तविक हैसियतलाई नबुझी सर्किटको पछि लाग्दा सानो पुँजी भएका लगानीकर्ताहरू नराम्ररी फस्ने जोखिम बढेको छ। नियामक निकायले यस्ता शङ्कास्पद उतारचढावमा निगरानी राख्न आवश्यक देखिन्छ।