यसअघि जनवरी २ मा निफ्टीले २६,३४० अंकको रेकर्ड बनाएको थियो, जसलाई आजको कारोबारले उछिनेको हो।
अहिले बजारमा सेन्सेक्स ८५ हजार ७५० र निफ्टी २६ हजार ३०० को आसपासमा कारोबार भइरहेको छ। निफ्टीले नयाँ रेकर्ड बनाए पनि आज आइटी र बैंकिङ क्षेत्रका शेयरहरूमा भने केही गिरावट देखिएको छ।
भारतीय बजारलाई पछिल्लो समय विदेशी लगानीकर्ता फोरन इन्टिच्युसनल इन्चेष्टर (एफआइआई) को तुलनामा घरेलु संस्थागत लगानीकर्ता(डोमेस्टिक इन्टिच्युसनल इन्चेष्टर"डिआइआई') ले बलियो सहारा दिएका छन्। तथ्याङ्क अनुसार, विदेशी लगानीकर्ताहरूले डिसेम्बर २०२५ मा मात्रै ३४ हजार ३४९ करोड भारु बराबरको शेयर बिक्री गरेका थिए। तर, सोही अवधिमा घरेलु लगानीकर्ताहरूले ७९ हजार ६१९ करोड भारुको शेयर खरिद गरेर बजारलाई ऐतिहासिक उचाइमा पुर्याउन मुख्य भूमिका खेलेका छन्। जनवरी १ मा विदेशी लगानीकर्ताले ३ हजार २६८ करोडको शेयर बेचे पनि जनवरी २ मा भने सामान्य खरिदारी फर्किएको देखिएको छ। भारतीय बजारमा देखिएको यो तेजीमा विश्व बजारको सकारात्मक सङ्केतको पनि ठूलो हात रहेको भारतीय संचार माध्यमले जानएका छन्।
आज एसियाली बजारहरूमा निकै उत्साह देखिएको छ। जापानको निक्केई इन्डेक्स २.८२ प्रतिशत र कोरियाको कोस्पी २.८१ प्रतिशतले बढेका छन्। चीनको शंघाई कम्पोजिट र हङकङको ह्याङसेङमा पनि सुधार देखिएको छ। अमेरिकी बजारमा डाउ जोन्स र एस एण्ड पी ५०० मा देखिएको सुधारले पनि भारतीय लगानीकर्ताको मनोबल उकासेको छ।
गत हप्ताको अन्तिम कारोबार दिन (जनवरी २) सेन्सेक्स ५७३ अंकले बढेर ८५,७६२ मा बन्द भएको थियो भने निफ्टीले पनि क्लोजिङमा रेकर्ड बनाएको थियो। आज इन्ट्रा-डे कारोबारमा नयाँ रेकर्ड बनेपछि लगानीकर्ताहरू अब निफ्टीले कुन नयाँ विन्दु तय गर्छ भन्ने प्रतीक्षामा रहेका छन्। निफ्टीको यो कीर्तिमानी यात्राले भारतीय अर्थतन्त्र र बजारप्रति लगानीकर्ताको भरोसा अटुट रहेको सङ्केत गरेको छ।