भेनेजुएला सङ्कटले सुनको बजारमा तीव्र उछाल, प्रतिऔंस ४ हजार ४१० डलर पुग्यो मूल्य, अझै आकासिने प्रक्षेपण

Jan 05, 2026 01:20 PM merolagani



अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अचानक सैन्य कारबाहीमार्फत सत्ताच्युत गरेपछि विश्वभर उब्जिएको भूराजनीतिक तनावको सिधा असर सुन बजारमा देखिएको छ। 

सुरक्षा खोज्दै लगानीकर्ताहरू सुनतर्फ झुम्मिएपछि एसियाली बजारको प्रारम्भिक कारोबारमै सुनको मूल्य १.८ प्रतिशतले बढेर प्रतिऔंस ४ हजार ४१० अमेरिकी डलरको नयाँ उचाइमा पुगेको छ ।

भेनेजुएलाको यो आकस्मिक सत्ता परिवर्तनले ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपको नयाँ शृङ्खला सुरु भएको सङ्केत गरेको छ। जसले विश्व बजारमा गहिरो अनिश्चितता थपेको छ। विश्लेषकहरूका अनुसार, यो वृद्धि केवल क्षणिक प्रतिक्रिया मात्र नभई भेनेजुएला सङ्कटका कारण उत्पन्न हुन सक्ने क्षेत्रीय तनाव र कूटनीतिक टकराबको डरले गर्दा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राजनीतिक उथलपुथल र सैन्य सक्रियताको समयमा पुँजी सुरक्षित राख्न चाहने लगानीकर्ताका लागि सुन अहिले सबैभन्दा भरपर्दो 'डिफेन्सिभ' सम्पत्ति बनेको छ ।

बजार विज्ञहरूले भेनेजुएलाको यो घटनाले आगामी दिनमा सुनको मूल्यलाई अझै माथि पुर्‍याउने प्रक्षेपण गरेका छन्। क्यापिटल इकोनोमिक्सका अनुसार, बजारले अहिले एउटा एकल घटनालाई मात्र नभएर ल्याटिन अमेरिकामा बदलिँदो शक्ति सन्तुलन र त्यसले ल्याउन सक्ने दीर्घकालीन संवेदनशीलतालाई हेरेर सुनमा लगानी बढाइरहेका छन्। जबसम्म भेनेजुएलाको राजनीतिक भविष्य र क्षेत्रीय सुरक्षाको विषयमा स्पष्ट चित्र आउँदैन, तबसम्म सुनको मूल्य उच्च विन्दुमै रहने वा अझै बढ्ने सम्भावना बलियो छ ।

लगानीकर्ताहरूका लागि अबको मुख्य 'ट्रिगर' भेनेजुएलाको यो सङ्कट छिमेकी मुलुकहरूमा कति फैलन्छ भन्नेमा निर्भर रहनेछ। यदि यो तनाव थप बढ्दै गएमा र कूटनीतिक प्रयासहरू असफल भएमा सुनको मूल्यले अहिलेको ऐतिहासिक रेकर्डलाई पनि तोडेर नयाँ उचाइ लिने निश्चित देखिएको छ। भूराजनीतिक जोखिमको प्रिमियम थपिएका कारण अहिले सुनको भाउमा गिरावट आउने सङ्केत न्यून रहेको र बरु यो अझै आकासिन सक्ने देखिएको छ। त्यसको सिधा र असर नेपालमा समेत पर्ने छ। जसको सङ्केत आज नेपाली बजारमा तय भएको मूल्यले गरिसकेको छ। सोमबार आज एकै दिन सुनको मूल्य  प्रतितोला ४ हजार ६०० रुपैयाँले बढेर  दुई लाख ६५ हजार रुपैयाँ कायम भएको छ। आइतबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा काराेबार भएकाे  थियो।