केपी ओलीमाथिको यात्रा प्रतिबन्ध फुकुवा

Jan 05, 2026 02:48 PM merolagani



 'भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२' ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण र काठमाडौँ उपत्यका छोड्न नपाउने प्रतिबन्ध फुकुवा गरिदिएको छ। आयोगको सोमबार (पुस २१ गते) बसेको बैठकले सो निर्णय गरेको हो।

भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन र अनुसन्धानको सिलसिलामा आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई २०८२ असोज १२ गतेको बैठकबाट विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबिना उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो।

आयोगका सदस्य एवं प्रवक्ता बिज्ञानराज शर्माद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले ओलीले गरेका काम कारबाहीबारे आयोगले सोधपुछ र बुझ्ने कार्य सम्पन्न गरिसकेको छ। सोधपुछ सकिएसँगै उनलाई लगाइएको यात्रा प्रतिबन्धको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले प्रतिबन्ध फुकुवा गर्ने निर्णय लिएको हो।

"ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिदिएको छ," विज्ञप्तिमा उल्लेख छ।

आयोगले यो निर्णयको जानकारी सम्बन्धित निकाय र स्वयं ओलीलाई समेत दिने बताएको छ। भाद्र २३ र २४ को घटनालाई लिएर गठन भएको यो शक्तिशाली आयोगले त्यस बेलाको राजनीतिक र सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर अनुसन्धान गरिरहेको छ। आयोगका अन्य सूचना तथा प्रेस विज्ञप्तिहरू गृह मन्त्रालयको वेबसाइटबाट पनि हेर्न सकिने प्रवक्ता शर्माले जानकारी दिएका छन्।

यो निर्णयसँगै एमाले अध्यक्ष समेत रहेका ओलीलाई अब राजनीतिक कार्यक्रमका लागि देशका विभिन्न भागमा जान र विदेश भ्रमणमा निस्कन कानुनी बाटो खुला भएको छ।