मुग्लिन–पोखरा सडकः पूर्वीखण्ड तयार, पश्चिममा तीन पटक म्याद थप्दा ७५ प्रतिशत काम, अझै हटेनन् विद्युत् पोल र स्थायी संरचना

Jan 07, 2026 11:04 AM merolagani



हरिप्रसाद शर्मा

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वीखण्ड(आबुँखैरेनी–जामुने) सम्मको विस्तार गत असारमै सकिएता पनि जामुने देखि पोखरासम्म(पश्चिमखण्ड) को सडक विस्तारको काम अहिलेसम्म पनि पूरा हुन सकेको छैन् ।

कुल ४१.४५ किलोमिटरको पूर्वीखण्डको सडक विस्तार भइसक्दा पश्चिमखण्डको निर्माणको गति भने अझै सुस्त देखिन्छ । कुल ३९ किलोमिटर पर्ने पश्चिम खण्डको सडक विस्तारका लागि ठेकेदार कम्पनीले तीन–तीन पटकसम्म म्याद थप गरिसक्यो । तर, थपिएको म्यादभित्र भने निर्माण कार्य पूरा गर्न सकेको छैन् ।

निर्माण कम्पनीले आगामी २०८३ असार १५ गतेसम्म उक्त खण्डको निर्माण कार्य सम्पन्न गर्ने गरी तेस्रो पटक म्याद थप गरेको छ । तर, निर्माणको सुस्तता र पूर्व तयारीका काम बाँकी रहेकाले उक्त अवधिमा पनि निर्माण पूरा हुनेमा चुनौती देखिन्छ ।

तीन पटक म्याद थप, प्रगति ७५ प्रतिशत

सडक विस्तारअन्तर्गतकाे पश्चिम खण्डको सडक विस्तार समयमै हुन सकेको छैन् । तीन वर्षमा सम्पन्न गर्ने सर्तसहित २०७८ जेठ ३ गतेदेखि निर्माण सुरु भएको पश्चिमखण्डको निर्माणको काम तीन पटकसम्म म्याद थप हुँदा समेत पूरा हुन सकेको छैन् ।

निर्माण व्यवसायीले पहिलो पटक १०१ दिन म्याद थप गरेका थिए । उक्त म्याद २०८१ मंसिर २१ मा सकिएको थियो । दोस्रो पटक ३९० दिनका लागि थपिएको म्याद २०८२ पुस १६ मा सकिइसकेको छ । दोस्रो म्याद थपिँदा पनि निर्माण कार्य पूरा नभएपछि हाल तेस्रो पटकका लागि २०८३ असार १५ सम्म म्याद थपिएको छ ।

तर, थपिएको म्यादसम्म पनि निर्माण पूरा हुन चुनौती देखिएको छ । हालसम्म सडक विस्तारको काम ७५ प्रतिशत सकिएको र केही बिजुलीका पोल र घर भत्क्याउने काम अझै बाँकी रहेको मुग्लिन पोखरा सडक योजना(पश्चिमखण्ड)का प्रमुख कृष्णबहादुर कुँवरले मेरो लगानीलाई बताए ।

‘हालसम्म करिब ७५ प्रतिशत निर्माणकार्य सकिएको छ । आउँदो २०८३ असार १५ सम्ममा सम्पूर्ण सडक विस्तारको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ कुँवरले भने । उनका अनुसार, हालसम्म चार लेनअन्तर्गत प्रथम तहको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । दोस्रो तहको कालोपत्रे ३४ किलोमिटर सकिएको र ६ किलोमिटर बाँकी रहेको छ ।

कुल ३६ किलोमिटरको सर्भिस लेनमध्ये हालसम्म ६ किलोमिटर पूरा भएको, १२ वटा पुलमध्ये ११ वटा निर्माण भइसकेको, कल्भर्ड र नालीको काम पनि सकिएको आयोजनाले जनाएको छ । बिजयपुलको एप्रोचमा ४८० मिटर सडक कालोपत्रेको काम भने बाँकी छ ।

 

अहिले सेती पुल निर्माणको काम पनि भइरहेको आयोजनाले जनाएको छ । १ अर्ब ७ करोड रुपैयाँमा निर्माण भइरहेको सेती पुलको हालसम्म ५४ प्रतिशत काम सकिएको छ । पुल आगामी २०८३ बैशाख २१ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पोल र स्थायी संरचना हटाउन सकस

सडकखण्डको पोखराखण्डमा अहिले पनि बिजुलीका पोल र स्थायी संरचना अझै हटेका छैनन् । आयोजनाका अनुसार, पोखरा अन्तराष्ट्रिय विमानस्थल क्षेत्रका ४२ वटा पोलसहित ५१ वटा विद्युतीय पोल अहिलेसम्म हट्न सकेका छैनन् । ती पोल स्थानान्तरण नहुँदा सडक विस्तार कार्यले गति लिन नसकेको आयोजना प्रमुख कुँवरले बताए ।

उनका अनुसार, खानेपानीका पाइपको स्थानान्तर पनि सुस्त गतिमा भइरहेको छ । त्यस्तै, सडक क्षेत्रभित्र पर्ने सेती पुलको उत्तरी क्षेत्रमा पर्ने मगर समाजलगायतका तीनवटा घर भत्क्याउनु पर्ने हुन्छ । ती स्थायी संरचना हटाउन नसक्दा समेत सडक विस्तारले गति लिन नसकेको देखिन्छ ।

चीनिँया ठेकेदार कम्पनी यनहुइ काइयुयान हाइबे एण्ड बिज्र कन्ट्रक्सन लिमिटेडले पशिचमखण्डको सडक विस्तारको जिम्मा पाएको थियो । कुल ७ अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म ५२ प्रतिशत रकम सडक विस्तारमा खर्च भइसकेको छ ।

तनहुँको जामुने देखि कास्कीको सेती पुलसम्म विस्तार हुने उक्त सडक चार लेनमा विस्तार गर्ने गरी काम अघि बढेको थियो ।