गणपूरक सङ्ख्या नपुगेर रोकिएको राधीको साधारण सभा पुस ३० गते हुने

Jan 07, 2026 11:49 AM merolagani



राधी विद्युत् कम्पनी लिमिटेडले स्थगित भएको आफ्नो वार्षिक साधारण सभा पुनः आगामी पुस ३० गतेका लागि आह्वान गरेको छ। कम्पनी ऐन बमोजिम आवश्यक गणपूरक सङ्ख्या (कोरम) नपुगेपछि पूर्वनिर्धारित सभा स्थगित गरी नयाँ मिति तय गरिएको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डलाई पठाएको पत्र अनुसार, आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा यसअघि पुस २२ गतेका लागि तय गरिएको थियो। तर, सो दिन कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावली बमोजिम सभा सञ्चालन गर्न आवश्यक सदस्यहरूको उपस्थिति (गणपूरक सङ्ख्या) नपुगेपछि सभा अघि बढ्न सकेन।

सभा स्थगित भए लगत्तै पुस २२ गते मङ्गलवार दिउँसो ४:०० बजे बसेको सञ्चालक समितिको बैठकले स्थगित साधारण सभा पुनः बोलाउने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार अब कम्पनीको वार्षिक साधारण सभा पुस ३० गते बुधवार बिहान ८ बजे सञ्चालन हुनेछ।