फागुन २० गते रिक्त हुन लागेका १८ सदस्य पदका लागि हुन लागेको यस निर्वाचनमा मुख्य राजनीतिक दलहरूले भागबन्डा टुङ्ग्याएर उम्मेदवारी दर्ता सुरु गरेका छन्। पछिल्लो सहमति अनुसार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तालमेल भएको छ।
दलहरूबीच यस्तो छ सिट भागबण्डा:
सहमति अनुसार १८ सिटमध्ये नेपाली काँग्रेस र नेकपा एमालेले समान ७/७ सिट पाउने भएका छन्।यसैगरी, पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ३ सिट र जनता समाजवादी पार्टी (जसपा) नेपालले १ सिट लिने गरी भागबन्डा मिलेको छ। मधेस प्रदेशबाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई नेपाली काँग्रेसको समर्थनमा राष्ट्रिय सभा पठाउने निर्णय समेत भएको छ। एमालेका तर्फबाट रामकुमारी झाँक्री, प्रेम दंगाल, दीपा पौडेललगायतका नेताहरूको नाम चर्चामा रहेको छ।
निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली प्रकाशन गरिसकेको छ। आयोगको कार्य तालिका अनुसार भोलि पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ। पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ।
माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। यस निर्वाचनमा प्रदेश सभा सदस्यहरू र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू मतदाता रहेका छन्। राष्ट्रिय जनगणना २०७८ को नयाँ तथ्याङ्क अनुसार प्रदेश सभा सदस्यको मत भार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मत भार १९ कायम गरिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १८ सदस्यहरूमा एमालेका ८, नेकपा (माओवादी केन्द्र) का ७, एकीकृत समाजवादी, जसपा र लोसपाका १/१ जना सदस्य रहेका छन्।