निर्वाचन आयोग स्रोतका अनुसार माघ ६ गतेको लागि तोकिएको उम्मेदवारकाे मनोनयन दर्ता माघ १३ वा १५ गतेसम्म सार्ने बारेमा छलफल भइरहेको छ ।

‘निर्वाचनमा सहभागी हुने प्रमुख पार्टी अन्तिम समयमा आएर विभाजित भएको र को आधिकारिक भन्ने टुंगो लाग्न नै अझै केही दिन लाग्ने भएको अवस्थामा ती दुवै पार्टीहरुलाई उम्मेदवार छनौट र चुनाव चिन्हको वितरण समय लाग्ने भएकोले उम्मेदवारको मनोनयन पत्र दर्ताको समय सार्नुको विकल्प नै छैन,’ आयोगका एक अधिकारीले मेरो लगानीसँग भने ।
उनका अनुसार मनोनयन पत्र दर्ताको समयले पनि नपुगेमा निर्वाचन नै फागुन २१ को साटो चैत्र पहिलो साताभित्र गर्ने गरि नयाँ मिति तय हुन सक्छ । ‘अहिलेसम्मको अवस्थामा नेपाली कांग्रेसको आधिकारिकता विवाद टुंगिएमा माघ १५ भित्र मनोनयन दर्ता गरेर पनि फागुन २१ मा निर्वाचन गर्न सकिन्छ भन्ने हो । यदि आधिकारिकता विवाद टुंगिन थप केही दिन लाग्ने देखियो, मनोनयन दर्ताको समय माघ तेस्रो साता पुर्याएर मतदानको मिति चैत्रको पहिलो साता तोकिने सम्भावना छ । त्यसको लागि सरकारसँग पनि छलफल भइरहेको छ,’ स्रोतले भन्यो । आयोगले यसबारेमा कानुनविद्हरुसँग समेत अनौपचारिक ढंगले छलफल गरिरहेको छ ।
गत आम निर्वाचनमा असोज २६ मा मनोनयन दर्ता गरेर मङ्सिर ४ गते मतदान गरिएको थियो । अर्थात उम्मेदवारी दर्ता पछि ३८ औं दिनको दिन मतदान गराइएको थियो भने अहिलेको विषम परिस्थितिमा त एक महिनामै पनि निर्वाचन गराउन सकिने आयोग स्रोतले बताएको छ ।