‘अर्जेण्टिना भाग २’ दोहोर्याउँदै राष्ट्रपति ट्रम्प, केन्द्रिय बैंकमा निरन्तरको हस्तक्षेपले अमेरिकी अर्थतन्त्र अनिश्चितताको भूमरीमा

Jan 17, 2026 11:32 AM mero lagani



के अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘अर्जेण्टिना भाग २’ दोहोर्याउने ध्याउन्नमा छन् ? अनि कथंकदाचित त्यो दोहोरिएमा अमेरिकाको वित्तीय अवस्था के होला ?

बैंक तथा वित्तीय संस्थाहरु र समग्र अर्थतन्त्रको भविश्य के होला ? अहिले अमेरिका मात्र होइन, विश्वभरका अर्थशास्त्रीहरुबीच बहसको विषय बनेको छ ।

गत वर्ष राष्ट्रपति बनेदेखि नै ट्रम्पले केन्द्रिय बैंक (फेडेरल रिजर्भ) का अध्यक्ष (अर्थात् गभर्नर) जेरोम पावेललाई पदबाट हटाउन प्रयास गर्दै आएका छन् । तर, पावेल कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन् । त्यहीकारण पछिल्लो समय ट्रम्पले पावेलसँग अर्काे कुनै देशको शत्रुसँग जस्तो व्यवहार गरिरहेको विविसीका आर्थिक विश्लेषक नाटालिया शेरम्यानको टिप्पणी छ ।

 

ट्रम्प र पावेलबीचको लडाईले अर्जेण्टिनामा डेढ दशक अगाडि भएको राष्ट्रपति र गभर्नर बीचको लडाईलाई स्मरण गराई दिएको छ, जुन लडाईले अर्जेण्टिनाको अर्थतन्त्र नै ‘क्र्यास’ गराई दिएको थियो । संयोगले अर्जेण्टिनाका तत्कालिन गभर्नर मार्टिन रेड्राडो अहिले अमेरिकामै बसिरहेका छन् ।

सन् २०१० मा अर्जेन्टिनाकी तत्कालीन राष्ट्रपति क्रिस्टिना किर्चनरले राष्ट्रिय ऋण तिर्न सञ्चिति हस्तान्तरण गर्न दिएको आदेशको विरोध गरेपछि मार्टिन रेड्राडोलाई बर्खास्त गरिएको थियो । उनले पुनर्बहालीको लागि अदालत गुहारे र त्यसमा सफलता पाए । अर्थात पुनर्बहाली भए । तर, सरकारले उनलाई निरन्तर अवरोध गरिरह्यो । अन्ततः लामो समयसम्म राष्ट्रपति र सरकारसँग लड्दा लड्दै गभर्नर रेड्राडो थाके । उनले राजीनामा दिएर देशबाटै पलायन भएर अमेरिका पुगे ।

राष्ट्रपति र गभर्नर बीचको त्यो लडाईले अर्जेण्टिनाको अर्थतन्त्रमा यति गम्भिर असर पुर्यायो कि त्यसबाट निस्कन डेढ दशक भइसक्दासमेत उसलाई अझै पनि हम्मे हम्मे परिरहेको छ ।

उनीहरु बीचको विवादले मुद्रास्फीति उच्च विन्दुमा पुग्यो, बैक तथा वित्तीय संस्थाहरुको अवस्था तहस नहस भयो र त्यसले समग्र अर्थतन्त्रमै त्यस अघि कहिल्यै नभएको संकट सृजना भयो ।

अहिले राष्ट्रपति ट्रम्प र गभर्नर पावेल बीचको लडाइँले कतै अमेरिका डेढ दशक अघिको अर्जेण्टिनाको बाटोमा हिंडिरहेको देखिएको छ । ‘अहिलेको अमेरिकामा त्यति बेलाको मेरो आफ्नै छायाँ देख्दैछु’ अर्जेण्टिनामा तत्कालिन गभर्नर रेड्राडोको यो भनाइले पनि राष्ट्रपति ट्रम्प र गभर्नर पावेल बीचको लडाई कुन दिशामा जाँदैछ भन्ने स्पष्ट पार्छ ।

गत वर्ष कार्यभार सम्हालेपछि ट्रम्पले पावेलले अर्थतन्त्रलाई गलत व्यवस्थापन गरेको र ब्याजदरलाई उच्च राखेर सरकारको ऋणको लागत बढाएको आरोप लगाउँदै आएका छन् । र, उनी निरन्तररुपमा पावेललाई राजीनामा दिन दबाब दिइरहेका छन् । उनले पावेल निकट अधिकारीहरुलाई पनि हटाइरहेका छन् । तर पावेल भने ट्रम्पको धम्की र दबाब सामु टसमस भएका छैनन् । बरु ‘हिम्मत भए आफूलाई बर्खास्त गरेर देखाउन’ ट्रम्पलाई चेतावनी दिँदै आइरहेका छन् ।

ट्रम्पले पावेललाई दिइरहेको दबाबको विरुद्ध अमेरिकी अर्थशास्त्रीहरुले कडा विरोध गर्दै आएका छन् । तर ट्रम्पले कसैको कुरा सुनिरहेका छैनन्, जसरी तत्कालिन अर्जेण्टिनी राष्ट्रपति क्रिस्टिना किर्चनरले आफ्ना नीतिहरुको विरोध गर्नेलाई ‘विकासको गति नबुझेका विरोधीहरु’ भन्थिन, अहिले ट्रम्पले लगभग त्यही भाषा बोलिरहेका छन् । अझ कतिपय सन्दर्भमा त ट्रम्प किर्चनर भन्दा पनि आक्रामक देखिएका छन् ।

 

पूर्व राष्ट्रपति बाराक ओबामाको आर्थिक सल्लाहकार परिषद्को नेतृत्व गरेका अर्थशास्त्री जेसन फुरम्यान ट्रम्पले अमेरिकी अर्थतन्त्रलाई इतिहासकै सबैभन्दा खराब अवस्थामा पुर्याएको दावी गरेका छन् । उनको भनाइमा ट्रम्पले वित्तीय क्षेत्रको बारेमा आफूले कुनै कुरा राम्रोसँग बुझ्दैनन्, र आफ्नो कमजोरीको दोष गभर्नरलगायतका अधिकारीहरुलाई दिइरहेका छन्, जुन बिडम्बना हो ।

क्यापिटल इकोनोमिक्सकी प्रमुख ग्लोबल इकोनोमिस्ट जेनिफर म्याककेन भन्छिन्, -ट्रम्पले अमेरिकाको लागि अलि अलि होइन, धेरै चिन्ता थपिदिए । उनको हस्तक्षेपले अमेरिकी संस्थाहरूमा विश्वास हराउँदै गएको छ र हामी निरन्तर तल झरिरहेका छौं।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।